मोरङ – कोशी प्रदेशमा गएको चैत्र १ गतेदेखि हालसम्म प्राकृतिक विपदमा परी ४ जनाको मृत्यु भएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीका अनुसार गएको १० दिनमा भएको प्राकृतिक विपदका घटनामा मानवीय क्षतिसँगै करिब ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो।
प्रदेश सभाको बैठकलाई जानकारी गराउँदै मन्त्री पराजुलीले प्रदेशमा हावाहुरीका कारण रुख ढलेर र ढुंगा लागेर उदयपुरमा २ जनाको मृत्यु भएको बताए। यस्तै, भोजपुरमा पनि एक व्यक्तिको मृत्यु भएको उनले बताए।
भोजपुरमै चट्याङ लागेर अर्का एकजनाको पनि मृत्यु भएको उनले सभालाई जानकारी गराए। यसक्रममा प्रदेशभर १३ जना घाइते भएका छन्।
प्राकृतिक विपदका कारण उदयपुरमा ५, भोजपुरमा २ संखुवासभा, खोटाङ, सुनसरी, ताप्लेजुङमा समान १ जना घाइते भएका छन्। केही दिनअघि चलेको हावाहुरीबाट ४० घर परिवार विस्थापित भएको उनको भनाइ छ।
त्यसैगरी चट्याङका विभिन्न १६ वटा घटनाबाट १३ घर परिवार प्रभावित उनले बताए। प्रदेशमा हावाहुरी र चट्याङका ४ सय ६२ घटनामा ५ सय ३० घर प्रभावित भएका छन्।