राजस्थान रोयल्स (आरआर) आइपिएल इतिहासकै महँगो टोली बनेको छ। राजस्थान रोयल्स १ अर्ब ६३ करोड अमेरिकी डलर (झण्डै १५ हजार २८९ करोड भारतीय रुपैयाँ) को कीर्तिमानी मूल्यमा काल सोमानीले खरिद गरेका हुन्। रोयल्स १ अर्ब डलरभन्दा बढी मूल्यमा बिक्री हुने पहिलो आइपिएल टोली बनेको छ।
कीर्तिमानी मूल्यसँगै राजस्थान अब आइपिएलको इतिहासमै सबैभन्दा महँगो टोली बनेको छ। भारतीय मूलका अमेरिकी व्यवसायी काल सोमानी र उनको समूहले यो टोलीका लागि सबैभन्दा ठूलो बोली लगाउँदै खरिद प्रस्ताव गरेका थिए, जसलाई अन्ततः स्वीकृति दिइएको छ।
यसअघि लखनउ सुपर जायन्ट्सले बनाएको कीर्तिमान राजस्थानले तोडेको हो। लखनउ टोलीलाई सन् २०२१ मा सञ्जीव गोयन्काको आरपिएसजी समूहले ७ हजार ९० करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो।
२४ गुणा बढ्यो राजस्थानको मूल्य
सन् २००८ मा राजस्थान रोयल्स खरिद गर्दा यसको मूल्य केवल ६७ मिलियन डलर (करिब २६०-२७० करोड भारु) मात्रै थियो। यदि त्यो रकमलाई अहिलेको मूल्यअनुसार गणना गर्ने हो भने करिब ६२८ करोड रुपैयाँ हुन्छ। तर, अहिले सन् २०२६ मा यही टोली करिब १ अर्ब ६३ करोड डलर (१५ हजार २८९ करोड रुपैयाँ) मा बिक्री भएको छ। यसको अर्थ, २००८ को हालको मूल्य (६२८ करोड रुपैयाँ) सँग तुलना गर्दा राजस्थान रोयल्सको मूल्य करिब २४ गुणाले बढेको छ।
चार ठूला समूहबीच प्रतिस्पर्धा
राजस्थान रोयल्स खरिदका लागि अन्तिम बोलकबोल प्रक्रियामा चार ठूला व्यापारिक समूह सहभागी थिए। यसमा आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह र क्याप्री ग्लोबल पनि प्रतिस्पर्धामा थिए। तर, यी सबैलाई पछि पार्दै काल सोमानीको नेतृत्वमा रहेको समूहले अन्ततः बोलकबोल जित्यो।
काल सोमानी को हुन्?
काल सोमानी प्रविधि र लगानीको क्षेत्रमा चिनिएका नाम हुन्। उनले शिक्षा-प्रविधि, तथ्यांक गोपनीयता, कृत्रिम बुद्धिमत्ता व्यवस्थापन तथा खेल प्रविधिजस्ता क्षेत्रमा विश्वस्तरीय कम्पनीहरू स्थापना गरेका छन्।
यो सम्झौतासँगै खेल क्षेत्रमा उनको लगानी अझ मजबुत बनेको छ। उनी इन्ग्राएज (एक अग्रणी प्रविधि सेवा तथा समाधान कम्पनी), ट्रुओ र ट्रुओ एआई (तथ्यांक गोपनीयता अधिकार स्वचालन तथा कृत्रिम बुद्धिमत्ता व्यवस्थापनका अगुवा संस्था), तथा अकाडेमियन (शिक्षा–प्रविधि र डिजिटल सामग्री क्षेत्रमा प्रमुख कम्पनी) जस्ता विश्वस्तरीय संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्।
पहिलेदेखि नै लगानीकर्ता थिए सोमानी
काल सोमानी यसअघिदेखि नै राजस्थान रोयल्समा लगानीकर्ता थिए। उनले सन् २०२१ मा टोलीमा लगानी सुरु गरेका थिए। त्यतिबेला उनले भनेका थिए, ‘हामीले यस लगानीमा ठूलो सम्भावना देखेका छौँ र आइपिएलको भविष्यलाई लिएर निकै उत्साहित छौँ।’
सन् २००८ मा च्याम्पियन बनेको थियो राजस्थान
शेन वार्नको कप्तानीमा राजस्थान रोयल्सले सन् २००८ मा आइपिएलको पहिलो सिजन जितेको थियो। तर, त्यसपछि टोलीको प्रदर्शन क्रमशः खस्कँदै गयो। त्यसपछि टोली केवल एकपटक सन् २०२२ मा मात्र फाइनलमा पुगेको थियो, जहाँ गुजरात टाइटन्ससँग हार व्यहोर्नुपरेको थियो।
दुई वर्षका लागि प्रतिबन्धित भएको थियो टोली
सन् २०१५ मा सार्वजनिक भएको स्पट-फिक्सिङ प्रकरणका कारण राजस्थान रोयल्सलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको थियो। छानबिनपछि लोढा समितिले टोलीका सह-मालिक राज कुन्द्रालाई सट्टेबाजीमा दोषी ठहर गरेको थियो।
यस कारण राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स दुवैलाई सन् २०१६ र २०१७ का आइपिएल सिजनबाट बाहिर राखिएको थियो। पछि सन् २०१८ मा राजस्थान रोयल्स पुनः आइपिएलमा फर्किएको थियो।