दाङ – लमहीमा अखाद्य चामललाई प्रशोधन गरेर प्याकिङ गर्दै गरेको अवस्थामा राइस मिलबाट १ सय १२ बोरा चालम बरामद भएको छ।
लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाको विशेष अनुगमन टोलीले लमही नगरपालिका–५ गोरक्ष टोलस्थित निजाम कुटानी पिसानी मिलमा अखाद्य चामल प्रशोधन गरिररहेको अवस्थामा बरामद गरेको हो।
घुन–चिलिसा लागेको र कुहिएको अवस्थामा रहेको चामललाई राइस मिलबाट पुनः पोलिस गरेर प्याकिङ गर्न थालेको अवस्थामा चालम बरामद गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए।
लमहीस्थित आरके सप्लायर्सले उक्त चामल प्रशोधनका लागि राइस मिलमा पठाएको खुल्न आएको अनुगमन टोलीले जानकारी दिएको छ।
‘अखाद्य चामल बरामद भएको छ। यसको ल्याब परीक्षणका लागि खाद्य, गुणस्तर तथा नापतौल विभागलाई बोलाइनेछ,’ उनले भने, ‘उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अखाद्य चामललाई बिक्रीका लागि बजार पठाउन गाडीमा लोड गर्दै गरेको अवस्थामा समेत चामल बरामद भएको छ। अब यसबारेमा थप अनुसन्धानपछि ठोस निर्णयमा पुग्ने छौँ।’
वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मीलगायतको टोली सम्बन्धित स्थानमा पुगेको थियो। उपभोक्ताबाट प्राप्त गोप्य सूचनाको आधारमा अनुगमन टोली राइस मिलमा पुगेको थियो।
अनुगमन टोलीले गाडीमा लोड गरेको ३७ बोरा, पोलिस गरेर प्याक गरिएको ३४ बोरा, पोलिस गर्न बाँकी रहेको १२ बोरा र मिलभित्र पोलिस गरिरहेको २९ बोरा चामल बरामद गरेको हो।
परेली नाम गरेको प्रिमियम क्वालिटी स्टीम चामल भनिएकोछ। जुन मुकेश राइस मिल विन्धवासिनी–८ पर्सामा उद्योग रहेको तर चामल लमहीको राइस मिलमा पोलिस गरेर प्याकिङ गरिरहको रहस्य खुलेको हो। २५ किलोग्रामको चामलको प्याकिङ मिति २०८१ मंसिर १० गतेको मिति देखिएको छ।