मोरङ – विराटनगर महानगरपालिकाले खोला तथा आसपासका क्षेत्रमा फोहर फाल्ने तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
महानगरको नगर प्रहरीले मंगलबार विराटनगर– ६ स्थित केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ।
महानगरका अनुसार केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्ने भएकाले यसको असर गाई, भैंसीजस्ता पशुमा समेत पर्न सक्ने खतरा रहेको छ। यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरूलाई बारम्बार सचेत गराउँदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिएको थियो।
महानगरका मेयर नागेश कोइरालाकै उपस्थितिमा व्यवसायीहरुसँग छलफल गरी विशेष गरी विराटनगर–१४ जतुवास्थित फोहोर पानी प्रशोधन केन्द्रमै मात्रै शौचालयजन्य फोहोर विसर्जन गर्ने सहमति भएको थियो। तर, केही व्यवसायीले निर्देशन अवज्ञा गर्दै फोहोर फाल्ने कार्य जारी राखेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।
महानगरले नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई जरिवाना तथा अन्य कारबाही गरिने जनाएको छ।