अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको एक पोस्टले विश्व तेल बजारमा भारी उत्तरचढाव देखियो। अमेरिकाले इरानको ऊर्जा संरचनामाथि आक्रमण स्थगित गर्ने घोषणा गर्नुअघिको केही मिनेटमा तेल कारोबारीले सयौँ मिलियन डलर लगानी गरेका थिए।
बजार तथ्यांकअनुसार राष्ट्रपतिको सामाजिक सञ्जाल पोस्ट आउनुभन्दा करिब १५ मिनेटअघि नै कारोबारको मात्रा अचानक बढेको देखिएको छ। बीबीसीका अनुसार ट्रम्पको घोषणापछि तेलको मूल्य केही मिनेटमै १४ प्रतिशतले घट्यो। यो अप्रत्याशित निर्णयमा दाउ लगाउने व्यापारीहरूले उच्च मुनाफा बुक गर्न सफल भए।
केही बजार विश्लेषकहरूका अनुसार यस्तो असामान्य गतिविधिले निर्णयबारे पहिले नै जानकारी भएको आशंका जन्माएको छ। अर्थात तेल माफियाको पँहुच ह्वाइटहाउससम्मै रहेको र उनीहरुले ट्रम्पले गर्ने ट्विटबारे पहिले नै जानकारी पाएको हुनसक्ने र त्यो ‘इन्साइड ट्रेडिङ’ का रुपमा हेरिनु पर्ने केही विश्लेषकले बताएका छन्।
ह्वाइट हाउसका एक प्रवक्ताले फाइनान्सियल टाइम्सलाई भनेका छन्, ‘भित्री जानकारीको गैरकानुनी फाइदा उठाउने कुनै पनि सरकारी अधिकारीलाई हामी सहन गर्दैनौँ।’
मध्यपूर्वको द्वन्द्वका कारण विश्व वित्तीय बजार अस्थिर बनेको छ। तेल र ग्यासको मूल्य बढेसँगै शेयर बजार घटेको छ। तर, कहिलेकाहीँ युद्ध अन्त्य हुने आशाले तेलको मूल्य घट्ने र शेयर बजार बढ्ने उतारचढाव पनि देखिएको छ। यही मौकामा माफियाहरूले खेल्दै अर्बौं डलरको कारोबार हुने गरेको छ।
शनिबार ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य (जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास पार हुन्छ) नखोलेमा इरानका विद्युत् केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए। त्यो दिन बजार बन्द थियो तर सोमबार बिहान बजार खुल्नेबित्तिकै एसियाभर शेयर बजारमा भारी गिरावट आएको थियो। साथै तेलको मूल्यमा उच्च वृद्धि देखिएको थियो।
तर, सोमबार बिहान ७:०४ (इस्टर्न समय) मा, अमेरिकी बजार खुल्नुअघि नै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा तेहरानसँग ‘धेरै फलदायी वार्ता’ भएको र ‘पूर्ण समाधान’तर्फ अघि बढिएको बताएका थिए। जुन अप्रत्यासित मानिएको थियो।
त्यसपछि तुरुन्तै शेयर बजार उकालो लाग्यो र तेलको मूल्य घटेर प्रतिब्यारेल ८४ डलरसम्म पुग्यो। त्यसपछि विश्लेषकहरूले राष्ट्रपतिको पोस्ट आउनुअघि बजारमा के भएको थियो भनेर गहिरो अध्ययन गर्न थाले।
स्थानीय समयअनुसार बिहान ६:४९ मा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्ज (डब्लुटिआइ) मा कच्चा तेलको ७३३ वटा कारोबार गरिएको थियो। केवल एक मिनेटमै त्यो संख्या बढेर २ हजार ७ पुग्यो, जसको मूल्य करिब १७ करोड डलर बराबर हो।
ब्रेन्ट कच्चा तेलमा पनि यस्तै प्रवृत्ति देखियो। एक मिनेटमै कारोबार २० बाट बढेर १ हजार ६०० भन्दा माथि पुगेको थियो, जुन करिब १५ करोड डलर बराबर हो। अघिल्ला सोमबारका तथ्यांकले भने त्यस्तो समयमा सामान्यतया निकै कम कारोबार हुने देखाउँछ।
‘असामान्य’ कारोबार
एक्स नालिस्टका प्रमुख तेल विश्लेषक मुकेश साहदेवले यो गतिविधि निश्चित रूपमा असामान्य देखिएको बताए। उनले भने, ‘त्यो समयमा अमेरिका र इरानबीच गम्भीर वार्ता भइरहेको कुनै संकेत थिएन। यस्तो अवस्थामा तेलको मूल्य घट्ने दाउमा यति धेरै पैसा लगाउनु प्रश्न उठाउने कुरा हो।’
यो घटनाले राष्ट्रपतिको निर्णयबारे पहिले नै जानकारी भएको थियो कि भन्ने प्रश्न उठाएको छ।
त्यस्तै, किलिक एण्ड कोका साझेदार रेचल विन्टर भन्छिन्, ‘ट्रम्पले पोस्ट गर्नु ठीक अघि धेरै मानिसहरूले तेलको मूल्य घट्दा फाइदा हुने सम्झौता गरेका थिए,’ उनले भनिन्, ‘यसले भित्री जानकारी प्रयोग गरेर गरिएको कारोबार (इन्साइड ट्रेडिङ) को आशंका बढाएको छ। यद्यपि यो सत्य हो कि होइन, अनुसन्धान हुनुपर्छ।’
सोमबारपछि इरान सरकारले कुनै वार्ता नभएको भन्दै यसलाई ‘झुटो समाचार’ भनेको थियो, जसका कारण मंगलबार एसियाली शेयर बजार फेरि केही बढ्यो। इरानका संसद्का सभामुख मोहम्मद-बाघेर घालिबाफले एक्समा लेखेका छन्, ‘वित्तीय र तेल बजारलाई प्रभावित पार्न तथा अमेरिका र इजरायल फसेको अवस्थाबाट उम्कन झुटो समाचार प्रयोग गरिएको हो।’
यस्तो पहिलो पटक भने भएको होइन। यसअघि जनवरीमा पनि अमेरिकाको विदेश नीतिसँग जोडिएको यस्तै सट्टेबाजी देखिएको थियो। त्यसबेला पोलीमार्केट नामक प्लेटफर्ममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सत्ताबाट हट्ने अनुमानमा ठूलो रकम दाउ लगाइएको थियो। केही घण्टापछि उनलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो। एक व्यक्तिले ३२ हजार ५३७ डलरको दाउबाट ४ लाख ३६ हजार डलरभन्दा बढी नाफा कमाएका थिए। त्यो घटना र अहिलेको घटनालाई लिएर कतिपयले राष्ट्रपतिको किचनभित्रै माफिया छिरेको रुपमा यसलाई लिएका छन्।