ग्रह अस्त र वक्रीको यथार्थ

ग्रह अस्त र वक्रीको यथार्थ
+
-
देशसञ्चार AI सारांश
  • ग्रहहरूको अस्त वा वक्रीले दृश्यता र परिक्रमामा भिन्नता ल्याउँदा खगोलिय भ्रम सिर्जना हुन्छ।
  • चन्द्र र सूर्यको आश्रयमा आधारित मौलिक खगोलीय गणनाले धार्मिक चाडपर्वको निर्धारणमा धेरै प्रभाव पार्छ।
  • वैज्ञानिक चिन्तनले लिपिबद्ध सुसूचित निर्णय संबोधित गर्दा सामाजिक एकता संवर्धनमा योगदान पुऱ्याउँछ।

प्राक्कथन: ग्रहहरूको अस्त (नदेखिने) र वक्री (उल्टो हिंड्ने) पुनरावर्तक घटना हुन्। निर्णायक समितिको राष्ट्रिय-पञ्चाङ्गम् २०८२ अनुसार, कार्तिक २८ (नोवेम्बर १४) १५:४४ बजे वक्री थालेको गुरु (बृहस्पति), चैत्र १ (मार्च १५) १८:१० मा मार्गी; मार्गशीर्ष २७ (डिसेम्बर १३) १२:२५ बजे अस्त शुक्र, माघ १५ (जनवरी २९) २५:२९ मा उदाउने।

नेपालबाट “२५:२९” मा कहिल्यै नदेखिने शुक्र, कसको हुकुमले उदाउने? १९ फागुन (मार्च ३) १७:२२ को पूर्णचन्द्र अगावै, १७:०१ उप्रान्त प्रतिपदा थालिन्छ। अनलाइन द्रिक पञ्चाङ्ग काअनुसार गुरु वक्री नोवेम्बर ११ को २२:२६ देखि मार्च ११ को ०९:१३ सम्म, शुक्रास्त डिसेम्बर १२ को ०६:१८ देखि फेब्रुअरि १ को १८:११ सम्म, र फागु पुर्णिमा ३ मार्च को  १७:२२ सम्म। अवलोकनबाट कुनै निर्णय प्रमाणित गरिन्छ कि अशुद्ध गणितका भ्रमादेश नै अन्त्य? निर्णित अशुद्धि प्रकाशन नगरे दण्डित हुने फरमानले, घण्टौँ भेदको पल शुद्धीमा विश्वासीहरू शुभ साइत र भविष्य खोज्छन्।

लघु आयुका धर्मनिरपेक्ष सरकारको निकायले चाडपर्वको सामाजिकता छाडेर अशुद्धि थोपर्दा, म्ह र किजा पूजाको निर्णयजस्तै अस्वीकृत हुन्छ। गत धन्वन्तरी त्रयोदशी (धनतेरस) कार्तिक १ गते, २ मा धन्वन्तरी जयन्ती र कागतिहार, ३ मा कुकुर र लक्ष्मी पूजा, ५ मा गाई गोरु पूजा; यो अस्तव्यस्त गर्न, ४ गते १८:१० को कुहू अगावै १६:२९ मा प्रतिपदा।

सानोमा गाउने “लक्ष्मी पूजा गरेको, यो औंसीवार हो, गाई तिहार हो, भैलो” अनुसार, एकै दिनमा लक्ष्मी रुपी गाई पूजेर, दीपमालिकाले औंसीको रात उजेलो पार्दै लक्ष्मी पूजा गर्ने हो। भारतका केहीले भैया दुज मनाउँछन्, तर काग कुकुर, गाई तिहार नेपाली समुदायले मात्र। बरु अक्टोबर ३१ मा हालोवीन मनाउने युरोपेली मूलले, खोक्रो फर्सीको ख्याकभित्र बत्ती बाल्दै आँगन सजाएर, बच्चालाई छिमेकमा मिठाई माग्न पठाउँछन्। दशौँ हजार वर्षदेखि हामीबाट एक्लिएका मेक्सिकन आदिवासीले, मरेका पाल्तु जनावर र दिवंगतको सम्झनामा, अक्टोबर ३१ देखि नोवेम्बर २ सम्म मनाउने मृतक दिवसमा मिठाइ साटसाट गर्छन्। जाडोअघि पितृ र यमराजको पूजा गरेर सुरक्षित ठान्ने विश्वव्यापि चलन निकै पुरानो देखिन्छ। सामाजिक एकता संवर्धन गर्ने चाडको समन्वयित निर्णय सट्टा अशुद्ध गणित थोपर्दा, नयाँ पुस्ता विमुख र विभाजित हुँदै छ। भैलोदेउसीमा घट्दो बाल सहभागिता हालोवीनमा बढ्ला।

खगोलबारे सबै जिज्ञासु लागेर सौरमण्डलको बयान, ग्रहको आभासी अस्त र वक्री तथा एष्ट्रोनोमीको छोटो चर्चा गरेको छु।

सौरमण्डल : यस मण्डलको ९९.८६ प्रतिशत पिण्ड (२×१०^३०, २ पछि ३० वटा शून्य किलोग्राम) बोक्ने केन्द्रको विशाल सूर्यकै प्रदीप्तिमा टल्केर परिक्रमा गर्ने, वरपरका अवशेष सोसेर आ-आफ्नो कक्ष सफा पारेका, स्वगुरुत्वले गोलकृत ८ ठूला पिण्डलाई ग्रह र, ग्रहको परिक्रमा गर्ने चन्द्र जस्तालाई उपग्रह भनिन्छ। विकिमिडिया कमन्सबाट प्राप्त चित्रमा ग्रहका नेपाली नाम राखेको छु।

सूर्यको उत्तरी ध्रुव माथिबाटको अमानक (नट टु स्केल) चित्रणमा, सबै ग्रह अप्रदक्षिण (एण्टिक्लकवाइज, सूर्यलाई वायाँ पार्ने वामावर्ती) गर्दै पश्चिमबाट पूर्व जान्छन्। पृथ्वी र सूर्य बिचका अन्तर्ग्रह, बुध र सूर्यचन्द्र पछिको चम्किलो शुक्र, उपग्रहविहीन छन्। ती दुईदेखि पहिलो बाह्यग्रह मंगलसम्मका धरातलीय (टेरेस्ट्रियल) तथा ग्यासविशाल गुरु र शनि, हजारौँ वर्षदेखि अवलोकित छन् भने, अझ बाहिरका हिमविशाल अरुण र वरुण सन् १७८१ र १८४६ मा पता लागे। ग्रहकक्षको दीर्घवृत्ति (एलिप्टिसिटी, १ बाट लघु र प्रमुख अक्षको अनुपात घटाउंदाको फल) मध्य बुधको ०.०२ सर्वाधिक हो। तर ०.००४ को मङ्गल कक्ष पनि वृत्तमा (सर्कल) नअटाएर, केप्लरले दीर्घवृत्ताकार प्रस्ताव गरे।

सबैको कक्ष पृथ्वीकै क्रान्ति (एक्लिप्टिक) सतह जसोमा छन्; ७ डिग्रीले झुक्ने बुधकै सर्वाधिक हो र, चन्द्रको ५.२ वरपर घटबढ गर्छ। बुधको परिक्रमण काल ८८ दिन, शुक्रको २२५, पृथ्वी ३६५ दिन अर्थात् एक वर्ष, गुरु ११.८६ वर्ष, अरुण ८४ र वरुणको  १६४.८ वर्ष छ। परिक्रमण कालको वर्ग (स्क्वायर) र प्रमुख अक्षको घन (क्युब) समानुपातिक हुने पनि केप्लरले बताए। सूर्यदेखि पृथ्विको दुरी, १५ करोड किलोमिटरलाई १ एयु (एष्ट्रोनोमिकल युनिट) भनिन्छ।

मंगल र गुरुले, बीचको कक्षका ग्रह बन्न नसकेका टुक्राटाक्रीको थेप्चो क्षुद्रग्रह पटुकी (एस्टोरोइड बेल्ट) बाट फुत्किने धेरै जसो उल्कालाई तानेर, पृथ्वीको सुरक्षा गर्छन्। ५० एयु  टाढाको यम जस्ता वामन ग्रहदेखि १०० एयुसम्म, सेल रोटी जस्तो कुइपर पटुका फैलेको छ। त्यहाँका धुलो ढुंगा र चट्टान मिश्रित हिउँका डल्लाहरू सूर्यतिर खस्दै, क्रान्तिसतहमै रहने २०० वर्ष भन्दा कम परिक्रमण कालका अप्रदक्षिणी धूम्रकेतुको रूप लिन्छन्। हजार एयुबाट २ लाख एयु (३.२ प्रकाश वर्ष) सम्म फैलिएको, निर्माण कालिन अवशेषको गोलाकार ऊर्ट बादल, सबै दिशाबाट आउने लामो परिक्रमण कालका धूम्रकेतुको स्रोत हो। धूम्रकेतु कक्षको दीर्घवृत्ति अधिक हुन्छ। ७६ वर्षमै फर्कने हेलीको २० डिग्री झुक्ने प्रदक्षिणी कक्षले, ऊर्टबाट आएको बताउँछ। आकाशगङ्गा भर पाइने आर तथा डी एनएका पाँचै न्युक्लियोबेस (जीव अक्षर) र एमिनो एसिड जस्ता प्राकजैविक (प्रिबायोटिक) रसायन तथा जललाई धूम्रकेतुले ओसारेर, हिरण्यगर्भी वैश्विक बीजिकरण (पानस्पर्मिया) गर्ने जसो छ। पुराना ताराको गर्भ र विस्फोटमा संयोजित (फुजन) क्याल्सियम, फलाम, कार्बन, अक्सिजन जस्ता अणुले बनेका हामि, ताराका सन्तान हौँ। नासाद्वारा सन् १९७७ र ७८ मा प्रक्षेपित वोयेजर १ र २, क्रान्ति सतह भन्दा उत्तरी र दक्षिणी दिशामा लाग्दै, कुइपर पटुका पार गरेर, इलेक्ट्रोन र प्रोटोन युक्त सौरवायु (सोलार विण्ड) विसर्जित हुने हेलियोपजबारे नयाँ जानकारि पठाएर, बाहिरको अन्तर्तारकिय (इण्टरस्टेलर) विकिरणले सेचित हुँदै छन्। केही वर्षमै सम्पर्क गर्ने ऊर्जा सकिए पनि, कुनै अवरोध नआए ३०० वर्षमा ऊर्ट क्षेत्र पुग्छन्, र ४० हजार जसो वर्षमा छिछोलेर सूर्यको गुरुत्वबाटै उम्केर आकाशगङ्गाको परिक्रमण थाल्छन्।

२४ घण्टामा पृथ्वी पश्चिमबाट पूर्वतिर भुरुंग जस्तो घुमेको कारण, दिनमा सूर्य र रातमा ताराहरु पूर्वबाट पश्चिम गएको देख्छौं। यो घुम्ने अक्षको २३.५ डिग्री ढल्कावले अयन र ऋतु चक्र चलाउँछ। चन्द्रले स्थिर राखेको यही ढल्कोमा अक्षले गर्ने २६ हजार वर्षे उल्टो चक्रायण (प्रिसेसन) बाट अयन चलित भएर, क्रान्ति र भूमध्य सतहहरू कट्ने विषुवत् विन्दु (रातदिन बराबर हुने) उल्टो सर्छन्। ४ हजार वर्ष अघि मेषको प्रारम्भमा स्थित मार्च २० तिरको महाविषुव, अहिले मत्स्यमा छ। यसर्थ, मेष वृषको राशि क्रम त्यति नै पुरानो हो। ध्रुव तारको स्थानमा १३ हजार वर्ष अघि देखिएको अभिजित नक्षत्रको सर्वाधिक चम्किलो तारा वेगा, त्यतिकै समयमा त्यहीं फर्कन्छ। यो बुझाउने नासाको चित्रमा केहि सम्पादन गरेको छु।

भागवतपुराणको नक्षत्राणां तथाभिजित् (११.१६.२७) ले, २८ नक्षत्रबाट विस्थापित अभिजितको पुनरागमन सङ्केत गर्छ। आकाशगङ्गाको ययाति उपगङ्गा (पर्सियस आर्म) मा स्थित सौरमण्डलले केन्द्र घुम्न लगाउने २५ करोड वर्ष, लगभग एक मन्वन्तर हो। अहिलेसम्म २० फन्का मारेको सूर्य, अर्को २० फन्कामा रक्तविशाल (रेड जायण्ट) रूप लिएर पृथ्वीसम्मै फुल्न सक्छ।

ग्रह अस्त : यसलाई बुझाउन ग्रह संयुक्ति (कंजंशन) को चित्र बनाएर बाह्यग्रह पृथ्वी र अन्तर्ग्रहका कक्ष देखाएको छु। सूर्य नजिकका अन्तर्ग्रहहरू हेर्ने सर्वश्रेस्ठ अवसर, दूरतम (ग्रेटेष्ट इलङ्गेशन) मा सूर्यबाट सर्वाधिक टाढा देखिंदा हो; पूर्वीमा (हामिले हेर्दा सूर्यको पूर्वमा भएकोले) भर्खर अस्ताएको सूर्यको वायाँ पट्टी देखिन्छ र, पश्चिमीमा उदाउने सूर्यको दायाँमा। पृथ्वीबाट हेर्दा, चतुरश्रको (क्वाड्रेचर) बाह्यग्रह र सूर्यको दिशा बीचको कोण ९० डिग्री हुनाले, पूर्वी चतुरश्रको ग्रह सूर्यास्तमा शिर उपरबाट मध्यरातमा पश्चिमी क्षितिज तिर पुग्छ, पश्चिमिको चाहिं मध्यरातमा पूर्वीय क्षितिजबाट उठेर सूर्योदयमा शिर उपर आउँछ। अन्तर्ग्रहले चन्द्रको जस्ता सबै कला देखाउँछन् भने, चतुरश्रमा बाह्यग्रहको १५ प्रतिशत जसो सानो भाग मात्र कालो देखिन्छ।

वैपरित्य (अपोजिशान) वा न्यून (इन्फेरियर) संयुक्तिमा हुने पृथ्वीको सामीप्य,  संयुक्ति कालमा (साइनोडिक पिरियड) दोहरिन्छ। बुधदेखी वरुण सम्मको संयुक्ति काल क्रमशः निम्नानुसार छ :- बुधको ११६,  ५८४, ७८०, ३९९, ३७८, ३७०, वरुणको ३६७ दिन; टाढाका मन्द ग्रहको संयुक्ति काल ३६५ दिनको नजिक। पृथ्वीबाट हेर्दा ग्रहहरू सूर्यको पछाडी पुगेको बेला, संयुक्ति र उच्च (सुपेरिअर) संयुक्तिको केहि हफ्ता अघिदेखि पछिसम्म सूर्यको प्रज्वलनले देख्न नसकिंदा, अस्ताएको भनिन्छ। अझ अंतरग्रह त, न्यून संयुक्तिको अघिपछि सूर्यको अगाडि हुँदा पनि अलि छोटो समयको लागि चमकले नदेखिंदा, प्रतेक संयुक्ति कालमा दुई पटक अस्ताउने ठानिन्छ। गत शुक्रास्तको मध्यमा, २०२६ जनवरी ५ को उच्च सम्युक्तिका लागि सूर्योदय अघि दायाँबाट आएर सूर्यबिम्बको दक्षिणी ध्रुव भन्दा ०.४ डिग्री जसो तलबाट गएको दृश्य, सोहो अन्तरिक्ष यन्त्रबाट स्पष्ट देखिन्छ। २९२ दिन पछिको अक्टोबर २४ हुने शुक्रास्तको न्यून संयुक्तिमा त, सूर्यको उत्तरी ध्रुव भन्दा झनै ८ डिग्रीले माथि हुन्छ।

हामिले हेर्दा सूर्यको कोणीय व्यास आधा डिग्री जसो र, चन्द्रको त्यसै वरपर घटबढ हुँदा, आकाश समेत ढाक्ने खग्रास देखि भित्रि भाग मात्र छोप्ने वलयाकार (एनुलर) सूर्य ग्रहण देख्छौं; ग्रहहरू त अतिनै साना देखिन्छन्, शुक्र ठूलो हुँदा ०.०२ डिग्री। ग्रहहरूका कक्ष सतह एकै नभएको कारण सूर्यबिम्बको तल माथि पर्ने हुँदा, न्यून संयुक्तिमा अगाडिबाटै अन्तर्ग्रह ट्राञ्जिट गर्ने सम्भावना कम छ। बुधले १३ पटक प्रति शताव्दी र, अव सन् २०३२ को नोवेम्बर १३ का दिन १३:३६ बजे ट्राञ्जित थाल्छ। शुक्रको त अझै विरल छ, १२१.५ वर्षमा, ८ वर्षको अन्तरालका जोडी ट्राञ्जित देखिन्छन्, अव सन् २११७ को डिसेम्बर ११ को बिहानी ०५:४३ देखि ३ घण्टासम्म। सूर्यबिम्बमा सानो कालो थोप्ला जसो भएर हिंड्ने ग्रहहरू, चन्द्र जतिकै ठूला देखिने भए सूर्यग्रहण लाग्ने थियो।

ग्रह वक्री : सूर्यको परिक्रमा गर्ने ग्रहलाई परिक्रमरत पृथ्वीबाट हेर्दा, कहिले उल्टो हिंडेको आभास हुन्छ। यत्रा विशाल पिण्डले आवधिक रूपमा उल्टो हिंडेर फेरी सुल्टिन सक्दैन। हाम्रो बसले अर्कोलाई ओवरटेक गर्दा त्यो पछाडी गएको लागे जसै हो। ओभरटेकमा वक्री देखिन, सम्बन्धित ग्रह र पृथ्वी सूर्यको एर्कै पट्टि हुन पर्छ, बाह्यग्रहको वैपरित्य र अन्तर्ग्रहको न्यून संयुक्ति। यसबारे विकिमिडिया कमन्सले राखेको प्रस्तुत चित्रमा, भित्री कक्षको 1, 2, 3, 4 र 5 ले पृथ्वीको क्रमिक स्थान र, बाहिरी वृत्तमा अलि मन्द हिंड्ने बाह्यग्रह। दायाँमा, टाढाका ताराको पृष्ठभूमिमा पृथ्वीले ओभरटेक गर्दा देखिने वकृत पथ, पश्चिमबाट पूर्व जाने ग्रह केहि समय उल्टो हिडेको विभ्रम। अन्तर्ग्रहले चाहिं पृथ्वीलाई ओवरटेक गर्दा देखिने वक्रीको एनिमेशन हेर्न सकिन्छ । बुधदेखि वरुणसम्मका ग्रह वक्री देखिने दिन क्रमशः निम्नानुसार छ :-  बुध २१, ४१, ७२, १२१,  १३८, १५१ र  वरुण १५८ दिन। सूर्यास्त पश्चात वायाँमा देखिने अन्तर्ग्रह, वक्री प्रारम्भ गरेर केही दिन “अस्ताए” पछि, सूर्योदय अघि दायाँ पट्टि वक्री समापन गरेको हेर्न, हप्तौंको धैर्य अवलोकन चाहिन्छ। सूर्यलाई नांगो आँखाले कदापि हेर्न हुन्न, ग्रहण हेर्ने चश्मा या उपयुक्त फिल्टरबाट केहि क्षण, वा पिनहोल जस्तो सानो छिद्रबाट सूर्यबिम्बलाई पर्दामा देखाएर हेर्न सकिन्छ। पृथ्विको ८ परिक्रममा शुक्रले १३ गर्दा देखिने ५ वक्रिहरूको आकारलाई पञ्चपत्री गुलाफ भन्छन्।

अन्त्यमा : आवधिक प्राकृतिक खगोलिय घटनासंगै चाढपर्व मनाउने सामान्य हो, तर व्यक्तिगत लाभहानीको निर्धारक ठान्नु विश्वास मात्र, र धर्मसंग जोड्नु त अझै जटिल। सन् १५४३ मा कपरनिकसको वृत्ताकार सौरमण्डलबारे पुस्तक प्रकाशित भयो। उनका समर्थक ब्रुनोलाई, अचल पृथ्वीको पक्षपाती बनेको ईसाई संस्थापनले, सन् १६०० को फेब्रुअरी १७ मा ज्युँदै जलायो। आफ्ना गुरु टैको ब्राहेको लामो सुक्ष्म अवलोकनको विश्लेषणबाट, १६२१ मा केप्लरले सूर्य केन्द्रित ग्रहगतिको तीन नियम प्रकाशन गरे। भूकेन्द्रित खगोल खण्डित हुने डरले गालेलियोको दुर्बीनबाट गुरुको परिक्रमरत उपग्रहहरू हेर्न अस्वीकार गरेका धर्मावतारले, १६३३ मा प्राणदण्ड सुनाए। त्यसलाई आजीवन गृह कारावासमा परिणत गर्न परिक्रमरत पृथ्वीको धराणा फिर्ता लिएका गालेलियोले, “पृथ्वी त चल्छ नै” भन्दै बर्बराए भनिन्छ। गालेलियो र केप्लरका नतिजा अनुकुल गति र गुरुत्वका नियमहरू, न्युटोनले १६८७ मा प्रकाशन गरे। सन् १९९२ मा पोपले गालेलियो ठीक भएको स्वीकारे पनि, सबै सन्तुष्ट छैनन्।

ग्रहण लाग्दा राहुले खाने नभएर छाया पर्ने, सूर्यको प्रकाशमा ग्रह र चन्द्र टल्किने, गोलाकार पृथ्वी घुमेर रातदिन हुने, मध्यरातमा नया दिन शुरु गर्न पर्ने जस्ता आर्यभटका धेरै निष्कर्ष, हाम्रो ज्योतिष विधिले स्वीकार्दैन। ज्या (साइन) को प्रथम प्रयोगसंगै त्रिकोणमितिका निकै शुद्ध परिमाण निकालेक आर्यभटको गणितले बुध र शुक्रलाई सूर्यको परिक्रमरत देखाउँछ भने, उनले नापेको नक्षत्र (साइडरियल) दिन र आधुनिकमा ०.०१ सेकेण्डको मात्र फरक छ। तत्काल निकै शुद्ध ग्रहगणित गर्ने सूर्यसिद्धान्तका रचनाकार लटदेवलाई, आर्यभटको शिष्य भनेका थिए अल बेरुनीले। यी कृतिमा ग्रहगणित बाहेक फलितको कुनै उल्लेख नभए पनि,  निरयण तथा अयनांश र राशिको अवधारणमा अवैदिक र अवैज्ञानिक यवनी फलितज्योतिषले जरो गाडेर धर्मसंग जोडिने मौका पायो। यस अघिसम्म प्रयोग भएको वेदाङ्गज्योतिषमा, लगध ऋषिले ऋग र यजुरका खगोल विद्या समेटेर तिथि र नक्षत्रको सायन गणना गर्न वर्णित दक्षिण अयनान्तको वर्ष आरम्भ, १४०० ई पू को हो। फलित ज्योतिषलाई न वैदिक न विज्ञान भन्छन्, भारतका प्रख्यात पद्मविभुषित खगोलविज्ञ नार्लिकर। १२ हजार वर्ष अघिनै धातुका औजार बिना महापाषाण स्तम्भ काटेर टल्काउँदै बुट्टा कोरेर टुर्केयीको गोबेक्ली टेपे र वरपर सजाएको मण्डलहरू पनि, केहि हजार वर्ष पछिको नबता पलाया र अझ पछिको स्टोनहेञ्ज जस्तै, विषुव र अयनान्त निर्धारण गर्ने खगोलिय वेधशाला जस्तो छ। प्राचिनतम अवलोकनीय विज्ञान, एष्ट्रोनोमिलाई वेदको चक्षु भनिन्छ। यसैको खोजले नवपाषाण युगको कृषि क्रान्ति सहित, गणित, भौतिक, रसायन, वायुमण्डल जस्ता विज्ञानमा योगदान गर्दै, एस्ट्रोबायोलोजि जस्ता नयाँ विधा जन्माउँदै छ।

हाम्रा निर्णायकले सूर्यसिद्धान्तको विकल्पमा, भारतमै न्यून उपयोगमा रहेको सय वर्ष भन्दा पुरानो केतकर विधिको प्रचार गर्नुको वाध्यता के हो? शुद्धताको ग्यारेण्टी लिने को? हर क्षण खगोल हेर्ने यन्त्रहरूमा प्राप्त सूचनाबाट हजारौं वर्ष अघिपछि सम्मका खगोलिय अवस्था गणना गर्ने उत्कृष्ट सफ्टवयर उपलव्ध छन्। नभएको स्थानमा ग्रह देखाउने, पूर्णचन्द्र र कुहू नहुँदै प्रतिपदा थाल्ने, ग्रह वक्री र अस्तमा दिनौंको अशुद्धिलाई राष्ट्रिय पञ्चाङ्गम् भन्नु, जनता माथि व्यङ्ग र आफ्नै पेशाको अनादर हो। अन्य तिथिको जे जस्तो घटबढ गरे पनि, पूर्णचन्द्र, अर्धचन्द्र (अष्टमिको मध्य), कुह मिल्ने समस्त द्रिकसिद्धिको विकल्प छैन। ऋतु मार्फत कृषिसंग जोडिएका पर्वलाई यथा राख्न, अयनान्त या विषुवलाई कुनै मितिमा स्थिर राख्ने सायन (ट्रपिकल) पात्रो नै उपयुक्त छ। खगोल विज्ञानमा ताराको स्थान अंकित गर्न उपयोगी नक्षत्र काल, राशिफलको घोषणामा प्रयोग हुनु ठूलै विडम्बन हो।

(खनाल भौतिकविज्ञानका प्राध्यापक हुन्।) 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?