- विराटनगरमा बर्ड फ्लु देखिएपछि ६ हजार कुखुरा नष्ट गरियो, जसका लागि सीमित स्रोत साधनको प्रयोग गरियो।
- जेसीबी र ट्याक्टर जलेर नष्ट हुँदा कठिनाई भए पनि, १५ जनाको टोलीले मरेका कुखुरा हटाउन काम गरिरहेको छ।
- फार्ममा बर्ड फ्लुका कारण १ करोडभन्दा बढी नोक्सानी भयो, जसले पाँच परिवारको जीविका प्रभावित बनायो।
मोरङ- विराटनगर महानगरपालिका- ४, जोला टोलस्थित दाहाल कृषि फार्ममा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको छ। विराटनगर महानगर पशुपन्छी विकास शाखा प्रमुख हिरालाल यादवका अनुसार सोमबार राति अबेरसम्म नष्ट गर्ने प्रक्रिया सुरु गरी मंगलबार बिहानदेखि १५ जनाको टोली खटिएको हो।
जेनजी आन्दोलनका क्रममा महानगरका ट्याक्टर, जेसीबी लगायतका सवारी मेसिनरी जलेपछि काम गर्न असहज भएको प्रमुख यादवले बताए। उनले राति कुखुरा नष्ट गर्ने र बिहानैबाट बोकेर खाल्डो बनाई पुर्ने काम भइरहेको जानकारी दिए।
शाखा प्रमुख यादवले भने, ‘एक त हामीसँग सीमित स्रोत–साधन छन्। त्यसमा पनि खाल्डो खन्न जेसीबी छैन, ३ हजारको संख्यामा कुखुरा बोक्न ट्याक्टर लगायतका सवारी साधन छैनन्। सबै हामी आफैंले प्लास्टिकका बोरामा १५ देखि २० वटा मरेका कुखुरा राख्दै फालिरहेका छौँ। पीपीई सेट लगाएर अहिलेको गर्मीमा काम गर्न पनि समस्या भएको छ। तर पनि चाँडै काम सकेर यस स्थानलाई डिसइन्फेक्ट गर्नु प्राथमिकतामा राखेका छौँ।’
उनका अनुसार दुई वटा भौतिक संरचनामा सञ्चालनमा रहेका कुखुरा सबै नष्ट गरिएको हो। मरेका कुखुरा नष्ट गर्न चूना र अन्य औषधि प्रयोग गरी ६ फिटभन्दा बढी गहिरा ५ वटा खाल्डा खनेर पुरिएको प्रमुख यादवले जानकारी दिए। विगत ६ वर्षदेखि सञ्चालनमा रहेको फार्ममा बर्ड फ्लुका कारण १ करोड रुपैयाँभन्दा माथिको क्षति भएको सञ्चालक बोधराज दाहाल बताउँछन्।
कुखुरा फार्मबाटै उनीसँग अन्य करिब ५ परिवारको जीविका चल्दै आएको थियो। सञ्चालक दाहालले अब सबै खरानी भएर सडकमा आउनु परेको गुनासो गरे। उनले भने, ‘विगतका वर्षहरूमा यस प्रकारको घटनाको सामना कहिल्यै गर्नु परेको थिएन। सधैं भेटेरिनरीको सल्लाह सुझाव अनुसार काम गरियो। औषधि, दाना–पानीमा कुनै कमी गरिएन। तर बिहीबारबाट एकाएक कुखुरा झोक्राएपछि बर्ड फ्लुले समस्या पार्यो।’
विराटनगर–८ का दाहालले सो क्षेत्रमा करिब १० कट्ठा क्षेत्रफलमा दुई वटा टहरा बनाएर फार्म सञ्चालन गर्दै आएको जानकारी दिए। त्यसैगरी, फार्म रेखदेख गर्दै आफ्नो परिवार पाल्दै आएका धनकुटाका दीपक कोइरालापनि निराश देखिएका छन्। बिहीबारबाट केही कुखुरामा समस्या देखिएपछि जाँचाउन भेटेरिनरी जाँदा बर्ड फ्लुको पुष्टि भएको उनले बताए। एक छोरा, एक छोरी र श्रीमतीसहित कोइराला यसै फार्ममा आश्रित रहेका छन्। शुक्रबारयता ३ हजार कुखुरा मरेपछि महानगरको टोली आएको कोइरालाले बताए। उनले सोमबार महानगरको टोलीसँग आफूले राति करिब १ बजेसम्म ३ हजार कुखुरा खाल्डोमा पुरेको उल्लेख गरे। यद्यपि, मंगलबार बिहानबाट अन्य ३ हजार कुखुरा नष्ट गर्न थालिएको उनले जानकारी दिए।
उनका अनुसार फार्ममा ६ हजारको संख्यामा लेयर्स कुखुरा रहेका थिए। ३ हजार कुखुरा झोक्राएर मरेपछि बर्ड फ्लुको पुष्टि भएको र अन्य ३ हजार कुखुरालाई महानगरको टोलीसँगै नष्ट गरिएको कोइरालाले जानकारी दिए। यससँगै फार्ममा रहेका अण्डा, कुखुराको दाना लगायत सबै सामग्री नष्ट गरिएको छ। विराटनगर महानगरका अनुसार महानगरभित्र करिब १० देखि १५ वटा यस प्रकारका ठूला फार्म रहेका छन्, जहाँ महानगरको टोली अनुगमन गर्ने र सचेत गराउन खटिएको छ।