- अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा विवाद अन्त्य गर्न इरानविरुद्धको अल्टिमेटम पाँच दिनका लागि लम्ब्याएका छन्।
- ट्रम्पले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न सकरात्मक वार्ता भइरहेको र हालका सैन्य आक्रमण स्थगित गर्ने बताएका छन्।
- इरानले भने ट्रम्पको धारणा र सम्भावित वार्तामाथि कुनै प्रतिक्रिया जनाएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धको सकारात्मक अन्तको प्रयास भइरहेको भन्दै इरानलाई ‘ स्ट्रेट अफ हर्मुज’ नखोले ४८ घन्टा भित्र इरानको उर्जा केन्द्रमा आक्रमण गर्न दिएको धम्की लम्ब्याएका छन्।
उनले सामाजिक सञ्जाल ट्रथ सोसल मार्फत इरानसँग सकरात्मक वार्ता भइरहेको भन्दै ५ दिनलाई अल्टिमेटम लम्ब्याएका हुन्।
ट्रम्पले मध्यपूर्वको द्वन्द्वलाई पूर्ण रूपमा समाधान गर्ने विषयमा ‘फलदायी वार्तालाप’ भएको उल्लेख गरेका छन्।
उनले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि गर्ने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा पनि गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा क्यापिटल अक्षरहरुमा सकारात्मक सन्देश दिएका हुन्।
ट्रम्पले ‘अपरेसन एपिक फ्युरी’ सुरु भएयता गरेको सम्भवतः सबैभन्दा नरम र मेलमिलापपूर्ण मानिएको पोस्टले विश्वभर सकारात्मक तरंग सिर्जना गरेको छ।
इरानले भने ट्रम्पको यो भनाइका बारेमा केही उल्लेख गरेको छैन।
यो भनाइ विगतको सप्ताहान्तमा युद्धरत पक्षहरूले अपनाएको कडा र आक्रामक भाषाशैलीसँग ठ्याक्कै विपरीत देखिएको छ।
यसका साथै वार्ताहरु कुन विषयमा केन्द्रित थिए र छन् भन्ने कुरा पनि स्पष्ट पारेका छैनन्।
सम्भवतः इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम, परमाणु संवर्द्धन (न्यूक्लियर इनरिचमेन्ट) वा केवल युद्धविरामबारे छलफल भएको हुन सक्ने अनुमानहरु गरिएका छन्।
ट्रम्पले शुक्रबार मात्रै युद्धविरामको सम्भावनालाई कम आँकेका थिए। यो वक्तव्य हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) सम्बन्धी पनि हुन सक्छ। तर यसलाई पुनः जहाज आवागमनका लागि खुला गर्नेबारे इरानले अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिबद्धता जनाएको छैन। धेरै विशेषज्ञहरूका अनुसार यो सम्भावना कम छ, किनकि हर्मुजमाथिको नियन्त्रण नै यस युद्धमा इरानको सबैभन्दा ठूलो रणनीतिक प्रभाव हो।
अहिले अमेरिकी राष्ट्रपति ट्रम्प फ्लोरिडामा छन्। अमेरिकी समयअनुसार सोमबार दिउँसो भने उनी मेम्फिस जाने कार्यक्रम रहेको छ, जहाँ उनले अपराध नियन्त्रणसम्बन्धी विषयमा भाषण दिने कार्यक्रम रहेको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ठुला अक्षरहरुमा लेखेको पोस्ट यस्तो छ- ‘म यो जानकारी दिन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा चलिरहेको हाम्रो शत्रुतालाई पूर्ण र सम्पूर्ण रूपमा अन्त्य गर्ने विषयमा अत्यन्त राम्रो र फलदायी वार्तालाप भएका छन्। यी गहिरा, विस्तृत र रचनात्मक छलफलहरूको वातावरण र भावनालाई ध्यानमा राख्दै, यो साता भरि छलफल जारी रहने छ, मैले रक्षा विभागलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।’