ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर लेखिएको छ।
  • रिजालले कर्नालीको साहित्यको संरक्षणमा दलित समुदायको योगदानलाई महत्त्वपूर्ण मान्दै उनीहरूलाई सम्मान व्यक्त गरे।
  • पुस्तक दुई सय ५० पृष्ठको छ, जसको मूल्य पाँच सय ७५ रुपैयाँ रहेको छ र विभिन्न अनलाइन प्लेटफर्ममा उपलब्ध छ।

काठमाडौं – लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो।

लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो।

दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए। उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया। मेरा लेखनका स्रोत अपठित कर्नालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन्। म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु।’

साथै उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए। कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको पनि बताए।

तर, अहिले पनि कर्णालीको विषयमा लेखिएका सामग्रीमा पर्याप्त अनुसन्धान र मर्म नबुझी लेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कति लेखकले त कर्नालीकन बिकाउ माल सम्झिया र कर्नालीका आँसु मात्तै लेख्या। कतिले कर्नाली नबुजीकनै लेख्या, कर्नाली नटेकीकनै लेख्या र तथ्य बङ्ग्याइकन पण्डित्याइँ छाँट्या। आज पन कर्नाली लेखिनै छ। तर पन कर्नाली केई लेखियाकै नाइँ। कर्नालीको भाषा, सभ्यता र संस्कृतिको हुनुपन्र्या जति खोज भयाको नाइँ।’

दैलेखमा रेडियोमा काम गर्दा आफूले सयभन्दा बढी पाका अग्रजसित कुराकानी गरेको र त्यसैले आफूलाई संस्कृतितर्फ आकर्षित गरेको उनले बताए। उनले अगाडि भने, ‘कर्नालीको इतिहास बोल्न्या ताम्रपत्रहरू पानी खान्या गाग्री भइसक्याका छन्। वीरखम्बहरू नासिनाइ छन्, मासिनाइ छन्। देवलहरू ढल्लाइछन्। लोकगाथाहरू लोप हुनाइछन्। यी सबैको खोजी अरिकन नेपालीजातिको भाषिक, सामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ।’

त्यस्तै दलित समुदायले कर्नालीको लोकसाहित्य र सांस्कृतिक परम्पराको संरक्षणमा पुर्याएको योगदान पनि प्रस्ट पारे। उनले भने, ‘कर्नालीको लोकसाहित्य र संस्कृति कसैले बँचायाको छ भन्या अछुत भनीकन हेला अर्याका दलित जातिले बँचायाका छन्। कलाका ती उँचा धरोहरकन नमन अर्छु जो नभयाको भया न म लोकप्रिय वीरगाथा बालाराजा काशीरामको भारत सुन्न्या थियाँ न लेख्न्या थियाँ पैकेलो। कर्नालीका लोकगाथा, वीरगाथा, वीरखम्ब, कीर्तिखम्ब, पडेली, हुड्केली र न्याउल्या लोप भयाका दिन मेरो कलम रोकिन्या छ।’

लेखक रिजालले आफ्नो २५ मिनेट लामो मन्तव्य पूरै खस भाषामा दिएका थिए।

नेपालयका सम्पादक विमल आचार्यले भने, ‘पैकेलो साहित्यिक हिसाबले जति पठनीय छ, संस्कृति, समाज, भाषा, इतिहास अध्ययनको दृष्टिले उत्तिकै संग्रहणीय।’

विज्ञान र जनप्रशासनमा स्नातकोत्तर रिजालको यसअघि ‘हटारु’ उपन्यास छापिएको थियो। उनका ‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा पनि प्रकाशित छन्। रिजालका संस्कृतिकेन्द्री आख्यानसँगै अनुसन्धानमूलक लेख पनि प्रकाशित छन्।

दुई सय ५० पृष्ठको ‘पैकेलो’को मूल्य पाँच सय ७५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रै डटकम (www.thuprai.com) र अमेजनबाट (Amazon) विश्वभरका पाठकले किन्न सक्छन्।

खस भाषामा गरिएको पुस्तक लोकार्पण कार्यक्रमको पूरा भिडिओ यो लिंकमा https://youtu.be/ErDH1ZTZozg?si=gXZ7ez0FZtvlRHtC मा हेर्न सकिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?