- सुरक्षामा लापरबाही देखिएपछि डीएसपी प्रदीप पौडेल लगायत केहि कर्मचारीलाई सशस्त्र प्रहरी प्रधान कार्यालय झिकाइएको छ।
- भारतबाट अवैध सामान ल्याउने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास हुँदा बल प्रयोग नगरेकोमा छानबिन भइरहेको छ।
- घटनामा संलग्नहरुले कार्यालयभित्र कसरी प्रवेश गरे भन्ने विषयमा पनि अनुसन्धान जारी छ।
धनगढी – कैलालीको खक्रौला सीमा सुरक्षा गुल्ममा भएको घटनापछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेल सहित कार्यरत कर्मचारीलाई काठमाडौँ स्थित सशस्त्र प्रहरी प्रधान कार्यालय झिकाइएको छ।
सुरक्षामा लापरबाही देखिएको निष्कर्ष सहित उनीहरूलाई मुख्यालय तानिएको हो। चैत्र ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रण लिने क्रममा युवा समूह सशस्त्र प्रहरीको कार्यालय भित्रै प्रवेश गरी गुल्मपति माथी हातपातको प्रयास गरेका थिए। गुल्मपती माथी हातपात हुदा पनि बल प्रयोग नगरेको तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत छानबिन अघि बढाएको छ। कमाण्डरमाथी आक्रमण प्रयास हुँदा किन बल प्रयोग गरिएन र सुरक्षा व्यवस्थामा किन कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहने जनाइएको छ।
साथै सो समूह कार्यालय भित्र कसरी प्रवेश गर्न सफल भयो भन्ने विषय पनि छानबिनको मुख्य एजेन्डा बनाइएको छ। यसअघि घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नम्बर ४३ रिजर्भ गण वनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा समिति गठन गरेको थियो।
घटनाका समयमा खटिएका अन्य सशस्त्र प्रहरी कर्मचारीलाई पनि मुख्यालय तानिएको छ। हाल खक्रौला गुल्ममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको छ।