- इजरायल-अमेरिका र इरानको युद्धको २२औं दिनमा अमेरिकाले इरानको नातान्ज आणविक केन्द्रमा ‘बंकर बस्टर’ बम प्रहार गरेको छ।
- इरानको न्युक्लियर साइटमा अमेरिकाले गरेको उक्त आक्रमणसँग कुनै रेडियोधर्मी चुहावट नभएको जनाइएको छ।
- इजरायल र अमेरिकाले यसअघि पनि इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गरी युरेनियम समृद्धिकरण केन्द्रको संरचना क्षति पुर्याएका थिए।
इजरायल-अमेरिका र इरानबीच जारी युद्धको २२ औं दिनमा अमेरिकाले इरानको नातान्ज आणविक केन्द्रमा ‘बंकर बस्टर’ बम प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन्।
इरानको तसनीम न्यूज एजेन्सीले पनि आज बिहान अमेरिका तथा इजरायली बिमानहरुले न्युक्लियर सेन्टरमा हवाइ हमला गरेको बताएको छ।
अमेरिकाले उक्त आक्रमण गरेको सार्वजनिक प्रसारक ‘कान’ले स्रोतहरुलाई उद्धृत गर्दै जनाएको छ। रिपोर्टका अनुसार उक्त स्थललाई निशाना बनाउन अमेरिकाले ‘बंकर बस्टर’ बम प्रयोग गरेको थियो।
यसअघि, सन् २०२५ जुनमा इजरायल र इरानबीच १२ दिनसम्म चलेको युद्धका क्रममा अमेरिकाले फोर्दो र नातान्जका भूमिगत आणविक केन्द्रहरूमा दर्जनभन्दा बढी जीबीयू-५७ ‘बंकर बस्टर बम’ खसालेको थियो।
‘कान’को यो रिपोर्ट इरानी सञ्चारमाध्यमहरूले नतांजमा अमेरिका-इजरायलको संयुक्त आक्रमण भएको दाबी गरेपछि सार्वजनिक भएको हो।
रिपोर्टका अनुसार यस आक्रमणका कारण अहिलेसम्म कुनै पनि प्रकारको रेडियोधर्मी (खतरनाक परमाणु) चुहावट भएको छैन। त्यसैले यस क्षेत्र वरपर बसोबास गर्ने मानिसहरूलाई तत्काल कुनै जोखिम नरहेको जनाइएको छ।
यसअघि पनि इजरायल र अमेरिकाले मार्च २ मा यसै केन्द्रमाथि आक्रमण गरेका थिए। यो इरानको सबैभन्दा ठूलो आणविक केन्द्र हो, जहाँ युरेनियम समृद्धिकरण गरिएको दाबि गरिन्छ। यस केन्द्रको विशेषता के हो भने यसको ठूलो हिस्सा जमिनमुनि निर्माण गरिएको छ। यस्तो संरचना यसलाई सम्भावित आक्रमणबाट जोगाउनका लागि बनाइएको हो।