- हुम्लाको सिमकोट गाउँपालिकामा छ हजार भन्दा बढी भेडाबाख्रालाई महामारी बिरुद्धको पिपिआर खोप लगाइएको छ।
- सिमकोट गाउँपालिका–७ का १,४५० र वडा नम्बर ८ का ४,५८८ भेडाबाख्रालाई खोप लगाउने काम सम्पन्न भएको हो।
- खोप लगाएर भेडाबाख्रालाई महामारीबाट जोगाउन सहज भएको र अन्य वडामा पनि खोप पुर्याइनेछ।
हुम्ला – हिमाली जिल्ला हुम्लाका छ हजार भन्दा बढी भेडाबाख्रालाई पिपिआर खोप लगाउने कार्य भएको छ। भेडाबाख्रालाई लाग्न सक्ने महामारी रोग बिरुद्ध पिपिआर खोप भेडाबाख्रा पालक किसानको गोठमा पुगेर सो खोप लगाउने कार्य गरिएको हो।
बैशाख जेठ महिनामा भेडाबाख्रामा महामारी रोग लाग्न सक्ने भएको कारण रोगको बाटो छेक्नका लागि पिपिआर खोप लगाउने कार्य भएको सिमकोट गाउँपालिका पशु शाखका नायव पशुस्वास्थ्य प्राविधिक बिष्णु बुमीले बताए। सिमकोट गाउँपालिका– ७ र ८ का छ हजार ३८ भेडाबाख्रालाई खोप लगाउने कार्य भएको उनले बताए।
उनका अनुसार वडा नम्बर ७ का एक हजार ४५० र ८ का चार हजार ५८८ भेडाबाख्रालाई पिपिआर खोप लगाउने कार्य पुरा भएको हो। यतिबेला यो खोप लगाउने कार्य भएपछि अब भेडाबाख्रालाई महामारीबाट जोगाउन सहज भएको उहाँको भनाई छ। सिमकोट गाउँपाकिलाका ती दुवै वडामा किसानहरुले ब्यवसायीक पालन सुरु गरेका छन्।
एउटा किसानसंग तीन सय भन्दा बढी भेडाबाख्राहरु रहेका छन्। किसान कै आग्रहमा पशु सेवा प्राविधिकहरुले यो खोप लगाउने कार्य गरेका हुन। उनले पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सो महामारी बिरुद्ध भेडाबाख्रलाई खोप लगाउनका लागि दश हजार डोज भ्याक्सीन लिएको र अव अन्य वडामा पनि खोप लगाउने कार्य गरिने बताए। पशु अस्पताल तथा पशुसेवा कार्यालयले जिल्लाका अन्य गाउँपालिकामा पनि यो खोप आवश्यक परे लगाउनका लागि पत्रचार गरिएको जनाएको छ।