- झापाको कचनकवल गाउँपालिकामा पहिलो पटक व्यवसायिक रूपमा मखना खेतीको तयारी भएको छ, जसमा करिब २५ बिघा जमिन उपयोग गरिनेछ।
- पहिलो चरणमा २५ बिघा क्षेत्र उपयोग गर्ने किसानहरूले अर्को वर्षदेखि यो खेतीलाई १५० बिघाभन्दा बढीमा विस्तार गर्ने योजना बनाएका छन्।
- कचनकवलको भूगोल मखना खेतीका लागि उपयुक्त मानिएको छ, जसले स्थानीय किसानको आर्थिक स्तर र कचनकवलको पर्यटन मूल्यवृद्धि गर्ने आशा गरिएको छ।
झापा – मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेती गर्ने तयारी भएको छ। कचनकवल-४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै स्थानीय किसानले मखनाखेतीको तयारी गरेका हुन्।
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार कचनकवल र छिमेकी झापा गाउँपालिकाका किसान सङ्गठित भएर पहिलो चरणमा करिब २५ बिघा जमिनमा मखनाखेती लगाउँदैछन्।
अर्को वर्षदेखि १५० बिघाभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। “यसको बजार अवस्था र उत्पादन तथा बिक्रीवितरणबारे हामीलाई पनि जानकारी छैन”, उनले भने, “किसानले ठूलो योजनाका साथ खेती लगाउँदै हुनुहुन्छ, जिल्लामै यसको पहिलोपटक खेती गर्न लागिएको हो।”
“स्थानीय विनोदकुमार गणेशसहित अगुवा किसानले बाँझो र दलदले सिमसार जमिनलाई भाडामा लिएर यसको व्यावसायिक खेती गर्ने बीउ उत्पादन गरिरहेका छन्”, उपाध्यक्ष भट्टराईले भने। यसको रोपन वैशाख र जेठ महिनाभित्र गरिने उनले जानकारी दिए।
परम्परागत खेतीभन्दा भिन्न हुनुका साथै विशेषगरी पानी जम्ने सिमसार क्षेत्रमा फस्टाउने मखनाका लागि कचनकवलको भूगोल निकै उपयुक्त मानिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। कृषि शाखाका प्रमुख सङ्गम सापकोटाका अनुसार प्रशस्त पानी चाहिने यस खेतीका लागि यहाँको ओसिलो जमिन प्राकृतिक रूपमा वरदान सावित भएको छ। विगतमा छिमेकी मुलुक भारतको विहार र आसपासका क्षेत्रमा मात्र सीमित रहेको यो खेती नेपालमा व्यावसायिक रूपमा सुरु हुनुलाई कृषि क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको उहाँको भनाइ छ।
कृषि शाखाले यस खेतीको प्राविधिक पक्ष र सम्भाव्यताको अनुगमन गर्ने तयारी गरिरहेको छ। स्वास्थ्यका दृष्टिकोणले ‘सुपरफुड’ मानिने र बजारमा उच्च माग रहेको मखनाको उत्पादनले स्थानीय किसानको आर्थिकस्तर उकास्ने मात्र नभई, कचनकवलको पर्यटन र पहिचानलाई नयाँ उचाइ दिने विश्वास लिइएको कृषि शाखा प्रमुख सापकोटाले बताए।
अहिलेसम्म मखनाको बजार र प्रशोधन प्रविधिबारे स्थानीयस्तरमा पर्याप्त जानकारी नभए पनि किसानले ठूलो लगानी र योजनाका साथ सुरु गरेकाले यसको खेतीले झापामा कृषि विविधीकरणको नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे।