- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल युद्धविरामको सम्भावना अस्वीकार गर्दै आक्रमण घटाउने बताएका छन्।
- अमेरिकी अधिकारीहरूले मरीन सैनिकहरूलाई मध्यपूर्व तर्फ पठाउँदै, खार्ग टापुमा सैन्य कारबाहीको सम्भावित लक्ष्य बताएका छन्।
- ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः खोल्न खार्ग टापु कब्जा गर्ने वा नाकाबन्दी गर्ने विचारमा रहेको संकेत गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम गर्ने सम्भावना तत्काल नरहेको बताएका छन्। यद्यपी उनले उदेश्य पुरा हुँदै गएको भन्दै आक्रमण घटाउने बताए।
यद्यपी अमेरिकी अधिकारीहरूले युद्ध सुरु भएको तीन हप्ता पुग्दा सम्भावित स्थलीय सैन्य कारबाही बारेमा ठोस् निर्णय गरेको छैन्। तर उसले अमेरिकी मरीन सैनिकहरू मध्यपूर्व तर्फ पठाइरहेको छ।
ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो उद्देश्य पूरा गर्ने निकै नजिक पुगेको उल्लेख गर्दै भने ‘इरानको आतंककारी शासनविरुद्ध हामिले लक्षित उदेश्य नजिक पुगेका छौं। हाम्रो व्यापक सैन्य प्रयासलाई आवश्यक्ता अनुसार अघि बढाउने छौं।’
पछिल्लो समय व्यापक र उकत्रित रुपमा सैन्य तैनाथी अघि बढाइरहेको बताइन्छ। ती सैनिकहरूको सम्भावित लक्ष्य इरानको खार्ग टापु हुन सक्ने बताइएको छ। ह्वाइट हाउसले एएफपीसँग कुरा गर्दै ट्रम्पले चाहेमा अमेरिकाले उक्त महत्वपूर्ण तेल केन्द्रलाई जुनसुकै बेला ‘निष्क्रिय पार्न’ सक्ने जनाएको छ।
समाचार संस्था एक्सियोसका अनुसार, ट्रम्पले तेहरानमाथि दबाब बढाउन रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः खोल्न बाध्य पार्ने उद्देश्यले खार्ग टापु कब्जा गर्ने वा नाकाबन्दी गर्ने विकल्पबारे विचार गरिरहेका छन्।
ट्रम्पले भने ‘मसँग योजना हुन पनि सक्छ, नहुन पनि सक्छ’ भन्दै स्पष्ट खुलासा गर्न अस्वीकार गरे। उनले खार्गलाई अहिले धेरैले चर्चा गरिरहेको स्थान भन्दै थप विवरण दिन चाहेनन्।
यसैबीच, सीबीएस न्यूजलाई उद्धृत गर्दै विभिन्न स्रोतहरूले अमेरिकी सेनाले इरानभित्र सैनिक पठाउने विषयमा विस्तृत योजना बनाइसकेको बताएका छन्। सो रिपोर्टअनुसार, यदि वासिङ्टनले आक्रमण गर्ने निर्णय गरेमा सम्भावित रूपमा इरानी सैनिकहरूलाई नियन्त्रणमा लिने व्यवस्थापनबारे पनि छलफल गरिएको छ।
तर रोयटर्ससँग कुरा गरेका दुई अधिकारीहरूले भने इरानभित्रै सेना पठाउनेबारे अन्तिम निर्णय अझै नभएको स्पष्ट पारेका छन्। ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी संवाद गर्न सक्छौँ, तर म युद्धविराम चाहन्नँ। जब तपाईं प्रत्यक्ष रूपमा अर्को पक्षलाई ध्वस्त पार्दै हुनुहुन्छ, त्यतिबेला युद्धविराम गरिँदैन।’ अमेरिकाले युद्ध अन्त्य गर्ने निर्णय गरेपछि इजरायल सहमत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने ‘मलाई लाग्छ, उ तयार हुन्छ।’