- एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका दुबै खेल वर्षाका कारण रद्द हुनु पर्यो ।
- जनकपुरधाममा खेल सुरु हुन नपाउंदै र वीरगञ्जमा वर्षा भएपछि खेलहरु रोक्नुपरेको थियो ।
- प्रतियोगिताका सबै टिमलाई खेल रद्द भएपछि एक-एक अंक प्रदान गरिएको छ ।
जनकपुरधाम- एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको दुबै खेल वर्षाको कारण रद्द भएको छ ।
शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने तालिका थियो भने दोस्रो खेल वीरगञ्जमा हुने तय थियो ।
जनकपुरधाममा खेल सुरु नहुँदै मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल रद्द भएको छ भने वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भएपनि वर्षा सुरु भएपछि खेल रद्द भएको आयोजकले जनाएको छ । दुबै खेल रद्द भएपछि चारवटै टिमलाई एक एक अंक पाएको छ ।
शुक्रबार हावाहुरीसँगै पानी परेपछि जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा पानी भरेकोमा बिहानै देखि पानी हटाउने काम भएकोमा पुनः पानी पर्न थालेपछि खेल रद्द गरिएको हो । खेल रद्द गरिएतापनि उद्घाटन सत्र भने गरिएको हो ।
यस्तै, वीरगञ्जमा कर्णाली र लुम्बिनीबीचको खेल सुरु भएकोमा ७ ओभरमा वर्षाको कारण रुकेको थियो । खेल रुकेको अवस्थासम्ममा कर्णालीले २० रन बनाएको थियो । तर पुनः पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको हो ।
आइतबार जनकपुरधाम र वीरगञ्जमा खेल नहुने तालिका छ ।
सात वटा प्रदेश टिम र ३ वटा विभागीय टिम सहभागी यो प्रतियोगिता यस पटक मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा हुँदैछ । अंक तालिकाको शिर्ष २ मा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनल खेल पर्साको वीरगञ्जमा हुने तालिका छ ।