- पर्सागढी नगरपालिकामा एक व्यक्तिमाथि आफ्नै पत्नीलाई धारिलो हतियारले गम्भीर घाइते बनाएको आरोप लागेको छ।
- घटनाको चार दिनपछि पनि पुलिसले आरोपित विष्णाथ सहनीलाई पक्राउ गर्न नसकेको बताइएको छ।
- स्थानीय सांसदले घाइते हरिकलादेवीको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्।
वीरगञ्ज (पर्सा) – यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ। पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो।
तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन। पर्सा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यबाट निर्वाचित सांसद सुशीलकुमार कानुले गम्भीर घाइते हुनुभएकी हरिकलादेवी सहनीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
‘‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने खर्चकोसमेत प्रबन्ध गर्नेछौँ,’’ उनले भने, ‘‘पीडित परिवारले उपचार खर्च र दोषीमाथि कारबाहीको माग गरेकाले पनि यहाँको स्थानीय प्रहरी प्रशासनलाई पनि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनको लागि अनुरोध गर्दछु।’’
पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताउनुभयो। ‘‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’’ उनले भने, ‘‘अहिलेसम्म पक्राउ परिसकेका छैनन्।’’ उहाँका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।’