- प्रतिनिधिसभा सदस्य उम्मेदवार जयपति रोकायासहित पाँच जनाले निर्वाचन खर्चको आयव्यय विवरण पेश गरेका छन्।
- उम्मेदवारहरुमा दलबहादुर फडेराले बीस लाख ९१ हजार र डाक्टर दिपेन्द्र रोकायाले छब्बीस लाख २० हजार खर्च बताए।
- बैङ्क खाता नभएकाबाहेक अन्य चार उम्मेदवारहरुले बैंकबाट कारोवार गरेका खर्च विवरण पेश गरेका छन्।
हुम्ला – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारमध्ये जयपति रोकायासहित पाँच जनाले आफ्नो निर्वाचन खर्चको आयव्यय बिबरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्।
निर्वाचन सकिएलगत्तै कार्यालयले सार्वजिनक सूचना निकालेर निर्वाचन खर्चको आयव्यय बिबरण पेस गर्न आग्रह गरेपछि यी उम्मेदवारले आफ्नो खर्च विवरण पेस गरेका हुन्।
निर्वाचन खर्च कार्यालयमा पेश गर्नेमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस उम्मेदवार रोकायाले चौध लाख ६२ हजार पाँच सय रुपैयाँको आयब्यय बिबरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए।
त्यसैगरि निर्वाचन कार्यालयले उपलब्ध गराएको निर्वाचन खर्च बिबरण पेश गर्ने अन्य उम्मेदवारहरुमा नेकपा एमालेमा उम्मेदवार दलबहादुर फडेराले बीस लाख ९१ हजार रुपियाँ रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले छब्बीस लाख बीस हजारको खर्च बिबरण पेश गरेका छन्। त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले एक लाख एघार हजार १११ रुपियाँको खर्च बिबरण पेश गरेका छन्।
यता, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुम्भ बुढाले चार लाख रुपियाँको खर्च बिबरण पेश गरेका छन्। निर्वाचन खर्च बिबरण पेश गर्ने उम्मेदवार मध्य राप्रपाका बुढाले बैङ्क खाता नखोलिकनै पेश गरेका छन् भने अन्य चार जना उम्मेदवारले भने बैङ्कबाट कारोवार गरेको खर्च पेश गरेका छन्।
हालसम्म निर्वाचन स्वतन्त्र पार्टीकी उम्मेदवार टासी लाजोम र प्रगतिशिल लोकतान्त्रीक पार्टीका उम्मेदवार जटिल कार्की आफ्नो निर्वाचन खर्च बिबरण पेश नगरेको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनमा हुम्ला जिल्लामा सात जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिएका थिए।