नयाँ युगमा परिवर्तित नेपाली कांग्रेस

नयाँ युगमा परिवर्तित नेपाली कांग्रेस
+
-
देशसञ्चार AI सारांश
  • नेपाली काँग्रेसले विशेष महाधिवेशनमा रुपान्तरण, पुस्तान्तरण र पारदर्शी नेतृत्वको आवश्यकता औंल्याउँदै पुराना राजनीतिक बानीहरूलाई समाप्त पार्ने अभियान थालेको छ।
  • जेनजी पीढीको मनोविज्ञान र आवश्यकतालाई सम्बोधन गर्न काँग्रेसले समर्थन जनाउँदै नवयुगको राजनीतिक संरचनामा समाहित गर्ने प्रतिज्ञा गरेको छ।
  • निर्वाचन पराजयपछि स्वविश्लेषण र समिक्षाको महत्वपूर्ण उपाय अपनाउँदै पार्टीले भ्रष्टाचार, कुशासन र अराजकताको अन्त्य गर्ने दृढ संकल्प लिएको छ।

नेपाली काँग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशनले युगसापेक्ष नेतृत्व परिवर्तनका साथै रुपान्तरण र पुस्तान्तरणलाई सार्थक र सफल बनाउँदै, सिद्धान्तहीन गठबन्धन, पैसाको बोलवाला तथा भागबण्डावादी राजनीतिक गतिविधिलाई समाप्त पार्ने अभियान थालेको छ । रुपान्तरण र पुस्तान्तरणको अर्थ अघिल्लो नेतृत्व पुस्तालाई घृणा, उपेक्षा वा तिरस्कार गर्ने नभएर पूर्वाग्रहको तुस मेटाएर सबैलाई एकजूट बनाएर लक्षमा अगाडि बढ्ने ताकत र कौशलको विकास गर्ने हो। अबको लोकतान्त्रिक प्रणालीमा व्यक्ति विशेषको देवत्वकरण र निरंकुशता हुने छैन। पार्टीको केन्द्रीय तहका २८ वटा केन्द्रीय विभाग, १३ वटा भातृसंस्था र १८ वटा शुभेच्छुक संस्थाहरूमा सङ्गठनात्मक पूर्णता र संरचनागत सुधार दिएर पूर्णगतिमा सञ्चालित हुने पूर्वाधार अब तयार भएको छ । काँग्रेस अब नयाँ युगअनुकूल पार्टी बन्ने क्रममा अगाडि बढिसकेको छ।

जेनजी आन्दोलनका एजेण्डालाई नवस्थापित वा पुराना, कुनै पार्टीले पनि समर्थन वा सम्बोधन गरेको देखिन्न। राष्ट्रिय आवश्यकता भइसकेका ती एजेण्डालाई कांग्रेसले कटिबद्धताका साथ समर्थन र संवोधन गरेको यथार्थलाई जेनजी समुदायले आत्मसात गर्नुपर्छ। आधुनिक प्रविधिमा हुर्केको नयाँपुस्ता, संसारको घटनाक्रम र परिदृश्य तुरुन्तै उसको हातमा आइपुग्छ। यो पुस्ता नारा र विवादमा होइन, काम र परिणाममा विश्वास गर्ने हुनाले कांग्रेसको नयाँ नेतृत्वले जेनजी तथा युवापुस्ताको मनोविज्ञान बुझेर उनीहरूका एजेण्डालाई कार्यान्वयनमा लैजाने संकल्प गरेको छ। आगामी दिनमा जेन जी पछिको नयाँ पुस्ता पार्टीमा सहभागी हुने बाटो र दायरा अझ फराकिलो बनाउँदै लैजानुपर्ने खाँचोलाई काँग्रेसको वर्तमान नेतृत्वले हृदयंगम गरेको छ।

आफ्नो लामो इतिहासमा काँग्रेसले गरेको बलिदान र योगदानका बाबजूद गत फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले समस्त लोकतन्त्रवादीहरू, नेपाली काँग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई थप गम्भीर र चिन्तनशील बनाएको छ । यस निर्वाचनबाट हामी प्रतिपक्षको भूमिकामा पुगेका छौँ । यसका प्रमुख कारण र कारकतत्वलाई पूर्वाग्रहमुक्त रहेर, कसैको मुख नहेरी निर्भिक र निर्मम समीक्षा र आत्मालोचनाका साथ नग्न सत्यलाई खुलाउनु वर्तमान नेतृत्वको जिम्मेवारी हो । एक–अर्काबीच दोषा–दोषको लडाईं गरेर आपूm चोखो हुन खोज्ने प्रवृत्तिबाट कसैले मुक्ति पाउँदैन ।

काँग्रेसले यो चुनाब हारेको भन्नुभन्दा भूमिकामा परिवर्तन भएको स्विकार्नु न्यायोचित हुन्छ । निर्वाचन अगाडि नेपाली काँग्रेसमा प्रवेश गर्ने सशक्त लहर थियो । नेकपा एमालेका केन्द्रीय नेता, पूर्वमन्त्री तथा काठमाडौं महानगरका प्रभावशाली नेता रामवीर मानन्धर, एमाले रसुवाका जिल्ला अध्यक्ष तथा पूर्वसांसद जनार्दन ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मधेश प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्मा लगायत रास्वपाका वाग्मती प्रदेश उपसभापति दिनेश हुमागाईं, रास्वपाकै केन्द्रीय नेता खेमकुमारी भुर्तेल, रास्वपा काठमाडौंका केन्द्रीय नेता प्रणय राणा, नेकपाका केन्द्रीय सदस्य दीपक के.सी., पर्सामा निकै क्रियाशील एमाले नेता, नेशनल मेडिकल कलेज अस्पतालका अध्यक्ष बसरुद्दिन अन्सारी लगायत विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूको संख्या ५ हजार ८ सय ५३ थियो । तै पनि आशातीत सफलता नभएको वास्तविकता ७७ वटै जिल्लाबाट खोज गर्नु आवश्यक छ ।

विशेष महाधिवेशनले केन्द्रीय नेतृत्वमात्र परिवर्तन गर्न भ्यायो । अन्य तहको नेतृत्व संरचना र संगठन पुरानै र अपरिवर्तित अवस्थामा थियो । पार्टीभित्रको आन्तरिक गुटवाजी समाप्त गर्ने अवसर नभई निर्वाचनमा भाग लिनु परेकोले स्वार्थको गुटबन्दी र पूर्वाग्रहबाट गैरजिम्मेवारीका साथ असर पुर्‍याउने काम नभएको होइन। रास्वपाले १२५ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दा ८४ स्थानमा काँग्रेस निकटतम प्रतिष्पर्धी भएको छ ।  यो पराजयलाई पुनः जीतमा परिणत गर्ने संकल्प नै हाम्रो अबको यात्राको प्रारम्भ–विन्दु हो । कुशल नेतृत्वको सन्दर्भमा एउटा आख्यान छ, ‘भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले हराईदिन्छ ।’ नयाँ नेपाली कांग्रेसको नेतृत्वले यो यथार्थलाई बुझेको छ ।

काँग्रेस चटके वा पटके प्रियतावादी नाराबाट जन्मेको पार्टी होइन, १०४ वर्षे राणाकालीन अन्धकारलाई समाप्त पारेर उज्ज्वल जीवनको नयाँ नेपाल बनाउन ढोका खोलेर आएको अजेय राष्ट्रिय शक्ति हो ।

नेपाली कांग्रेसले भ्रष्टाचार, दण्डहिनता, कुशासन र आजसम्मका सम्पूर्ण बेथिति र अराजकताको अन्त्य गर्ने दृढ लक्षका साथ पार्टीको प्रतिज्ञापत्र (निर्वाचन घोषणापत्र) जारी गरेको छ । प्रतिज्ञापत्र अनुरुप २०४८ देखि सार्वजनिक जीवनका उच्चतहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय आयोग गठन हुनेछ । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री र मुख्यमन्त्री बढीमा दुई कार्यकाल, मन्त्री बढीमा तीन कार्यकाल, समानुपातिक सांसद एकपटक, मन्त्रालयको संख्या संघमा १६ र प्रदेशमा ७ रहने, विधायिकी कामलाई सघाउन संसदीय ज्ञान केन्द्र स्थापना, तहगत अधिकारमा स्पष्टता, दोहोरोपनको अन्त्य काँग्रेसले खोजेको शासकीय परिवर्तनलाई परिवर्तित भूमिकाद्वारा पनि हाम्रो कोशिश जारी रहने छ ।

काँग्रेसको निर्वाचन प्रतिज्ञापत्र (घोषणापत्र) मा वित्तीय सुशासन र जवाफदेही सरकार, लगानीमैत्री कर प्रणाली, ग्रे लिस्टबाट मुक्त नेपाल, अब्बल सार्वजनिक प्रशासन, एक वर्षभित्र सार्वजनिक सेवा ऐन, फौजदारी अभियोगबाट मुद्दा लागे जिम्मेवारीबाट बिदा, शपथ लिनुपूर्व र पद छाडेपछि सम्पत्ति सार्वजनिक अनिवार्य, ‘फास्ट ट्र्याक’ मा काम गर्न सुशासन केन्द्र स्थापना, राज्यका सेवाहरू कार्यालयकेन्द्रित होइन नागरिककेन्द्रित हुने, सातै दिन र चौबीसै घण्टा डिजिटल सार्वजनिक सेवा, एकीकृत सेवा घरमै, सेवामा ढिलासुस्ती नागरिकलाई क्षतिपूर्तिको नीति, सन्तुलित विदेश नीति आदि प्रतिज्ञापत्रका महत्वपूर्ण बुँदा रहेका छन् । साझा आवश्यकताका यी कार्यक्रमलाई पार्टीले परिवर्तित भूमिकाबाट पनि गति दिनेछ ।

काँग्रेस चटके वा पटके प्रियतावादी नाराबाट जन्मेको पार्टी होइन, १०४ वर्षे राणाकालीन अन्धकारलाई समाप्त पारेर उज्ज्वल जीवनको नयाँ नेपाल बनाउन ढोका खोलेर आएको अजेय राष्ट्रिय शक्ति हो । २००७ सालको युगान्तकारी जनक्रान्तिले आमूल परिवर्तनका साथ देशलाई गति दिंदै २०४६ र २०६३ को जनआन्दोलनको सफल संयोजन गरेको राष्ट्रिय राजनीतिको मूलप्रवाह हो ।

नेपाली कांग्रेसले कसैलाई पनि शत्रु मानेको छैन । हामीले कसैसँग बदला लिनु छैन, तर धेरै बदल्नुछ । राष्ट्रिय स्वतन्त्र पार्टी वा उज्यालो नेपाल वा नेपाली कम्युनिस्ट पार्टी, हामी नयाँरुप र कलेवरमा उदाएका हरेक पार्टीसँग सहज, मित्रवत र गुणात्मक प्रतिष्पर्धा गर्दछौं । आवश्यकता परेको बेला विगतमा प्रतिष्पर्धी पार्टीसँग सहकार्य पनि गरेकै हो । वर्तमान संविधान संशोधनबारे सबै पार्टीले चुनावको क्रममा जनतासमक्ष प्रतिबद्धता जनाएका छन् । रास्वपाको वर्तमान संसदीय संरचना करिब दुईतिहाईको भए पनि राष्ट्रियसभा सहितको दुईतिहाई उसले जुटायो भनेमात्र संविधान संशोधनको सम्भावना सुनिश्चित हुन्छ । रास्वपाले नेपाली काँग्रेस बाहेक अन्य कुनै पार्टीसँग सहकार्य गरेर संविधान संशोधन गर्न सक्दैन । त्यो अवस्थामा रास्वपाले कांग्रेससँग सहकार्यको लागि सम्पर्क र संवादमा आउनै पर्छ ।

अहिलेको ऐतिहासिक भूमिकामा खुद्रा–मसिना कामतिर अल्मलिनु र त्यसैमा रमाउनु शीत चाटेर प्यास मेट्न खोजेजस्तो हुन्छ । स्थानीय एजेण्डा, जनचाहना र आवश्यकताबारे विस्तृत अध्ययन हुनुपर्छ । जुत्ताको काँटीले घोचिरहेको मान्छेलाई अरू समस्याभन्दा घोच्ने समस्या नै सबभन्दा कष्टकर भइरहेको हुन्छ भने झैँ स्थानीय कठिनाईले सताइरहेको जनतालाई राष्ट्रिय आवश्यकता र परिस्थिति अलिक परको कुरा लाग्न सक्छ । यस काममा पार्टीका जिल्ला समिति, क्षेत्रीय र स्थानीय तहहरूको अग्रणी भूमिका देखिन्छ ।

काँग्रेस सभापति पार्टीको अस्तित्व, प्रतिष्ठा, गरिमा र इतिहासका प्रतिनिधि हुन्, साथै पार्टी विधान पालक   संस्था हुन् । नयाँ नेपाली काँग्रेसका सभापति गगनकुमार थापा नयाँपुस्ताका आवाज हुन् । शहिदको बलिदान, ऐतिहासिक जिम्मेवारी र भरोसाको प्रतिक सभापतिको विवेकमा तमाम पार्टी सदस्यहरू समान हुनुपर्छ । सबैको संरक्षक र साझा व्यक्तित्वको रुपमा विधानसम्मत, न्यायपूर्ण र पारदर्शी व्यवहार अपनाउने संस्था हुनुपर्छ । वडास्तरदेखि केन्द्रसम्म विभाजित मानसिकता र कुँडिएका मनहरू जोड्न सबै तहका नेतृत्व समुहमा संयोजन र सन्तुलनको संयन्त्र जरुरी छ । मान र स्थानको व्यवस्थापन होइन, यथोचित कदर र जिम्मेवारीसँग जोड्ने, अधिकार र कर्तब्यमा सबैलाई सहभागी बनाउन अबका निर्णय लक्षित हुनुपर्छ।

राजनीतिक निकास र आर्थिक विकासका लागि संविधान र संघीयताका रुपमा हाम्रा साधन हुन्। पार्टी खोल्ने, भोट दिने–लिने, अधिकार वा खेलमात्र प्रजातन्त्र होइन। पार्टीभित्रै परिवर्तन, सुधार, आन्तरिक लोकतन्त्र सुदृढ र सबैलाई एकजूट बनाएर संगठित बनाएमा वर्तमान जेजस्तो भए पनि गौरवमय इतिहास भएको काँग्रेस र लोकतन्त्रको भविष्य  लोकतन्त्रवादीकै हुनेछ ।

मंगलबार, ०३ चैत २०८२                                      

(केसी नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन्।)    

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?