- ‘ए’ डिभिजन क्लबहरूका पदाधिकारीहरूले एन्फाको कार्यशैलीको विरोधमा काठमाडौंमा अनशन गर्दै आलोचना गरेका छन्।
- क्लबहरूले लिगभित्र सम्झौता कार्यान्वयन गर्न एन्फालाई दबाब दिँदै सहमति पालना नभएसम्म धर्ना जारी राख्ने घोषणा गरेका छन्।
- एन्फाले एकतर्फी रुपमा तय गरेको लिग मिति तथा निर्वाचन मितिप्रति क्लबहरूको गम्भीर असहमति रहेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन क्लबहरूसँग समन्वय नगरी एकतर्फी रुपमा ‘ए’ डिभिजन लिगको मिति तय गरेको भन्दै क्लबहरुले गम्भीर असन्तुष्टि राखिरहेका छन्। एन्फाले लिग गराउन नखोजेको आरोप लगाउँदै ‘ए’ डिभजन क्लबका पदाधिकारीहरू तीन दिनदेखि एन्फा गेट बाहिर अनशन बसिरहेका छन्। जसलाई आज पनि निरन्तरता दिइएको छ।
सोमबार ‘ए’ डिभिजन क्लबहरूले पत्रकार सम्मेलन गर्दै एन्फाले गरेको कार्यतालिकासहितको सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन्। क्लबहरूले पत्रकार सम्मेलनपछि एन्फा परिसरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले क्लबहरुसँगको सम्झौताअनुसार अघि बढ्नुपर्ने बताउँदै आएका छन्।
क्लबहरूको प्रतिनिधित्व गर्दै हिमालयन शेर्पाका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा चलाउनेहरू असक्षम रहेको र निर्णय सम्झौता गर्ने तथा कार्यान्वयन नगर्ने गरेको भन्दै सरोकारवाला आजित भएको भन्दै धर्ना जारी राखेका हुन्।
क्लबहरूले एन्फासँग कात्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति पालना गर्नुपर्ने, राष्ट्रिय लिग जारी रहँदा एउटा क्लबको खेलाडी अर्को क्लबमा सम्झौता गर्नका लागि ट्रान्सफर विन्डो खुल्ला गर्नुपर्ने, ‘ए’ डिभिजन लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने, फागुन २६ गते क्लबहरूले बुझाएको ध्यानाकर्षणपत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरि मनोमानी तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा सच्च्याउनु पर्नेलगायत माग राखेका छन्।
साथै क्लबहरुले राष्ट्रिय लिग सकिएको ३० दिनपछि ‘ए’ डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरी लिगबारे निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा छलफलविना राष्ट्रिय लिग चलिरहेको अवस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाएका छन्। उनीहरूले सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्न एन्फालाई दबाब दिएका छन्।
लिगका लागि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नु माग एन्फा समक्ष राखेका छन्। साथै उनीहरुले बैधानिक तरिकाले चुनावको मिति घोषणा गर्नु पर्ने र एकतर्फी रुपमा एन्फा निर्वाचनको मिति घोषणा गरेकोमा पनि विरोध जनाएका छन्। धर्ना माग पूरा नहुन्जेलसम्म जारी रहने बताएका छन्।
तस्बिरहरू:
