- जनमोर्चा र नेमकिपाले हालैको निर्वाचनमा एक सिट पनि जित्न नसक्दा ३४ वर्षपछि संसदविहीन भएका छन्।
- जनमोर्चा बाग्लुङमा र नेमकिपा भक्तपुरमा मात्र सीमित भएसँगै उनीहरूको गढलाई रास्वपाले भत्काएको छ।
- लीला न्याइच्याँईका अनुसार पुराना शक्ति हारेको र नयाँ शक्ति उदाएको भए पनि यो आइडोलोजिकल बेस नभएर परिवर्तनकै नतिजा हो।
काठमाडौँ– संख्या थोरै। संसदमा कहिल्यै १० जनासमेत नपुगेका। तर वि.सं २०४८ सालयता भएका संसदीय निर्वाचनमा निरन्तर संसदमा पुगिरहेका दल हुन्– जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)।
यी केवल केही दलहरू मात्र होइनन्। यी त नेपालमा कम्युनिस्ट पार्टीको जग खोज्दै जाँदा भेटिने मूल जड हुन्। आज दुई ठूला कम्युनिस्ट एमाले होस् वा नेपाली कम्युनिस्ट पार्टी, उनीहरूको मूल यिनै पार्टीमा धेरथोर भेटिने गर्छ।
तर कम्युनिस्टको मूल जड भेटिने दुई जनमोर्चा र नेमकिपा ३४ वर्षपछि संसदविहीन भएका छन्। संसद जनमोर्चा र नेमकिपाविहीन भएको छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनीहरूले एक सिट पनि जित्न सकेनन्। जसरी स्थापित दल कांग्रेस, एमाले, नेकपालगायतका दलहरूको आफ्नो गढ फागुन २१ गते रास्वपा, श्रम संस्कृति पार्टीले भत्कायो त्यसैगरी जनमोर्चा र नेमकिपाको पनि गढ भत्किन पुग्दा ३४ वर्ष पछाडि यी दुई दलविहीन संसद बन्न पुगेको छ।
जनमोर्चाको पछिल्लो समय बाग्लुङमा गढ रहँदै आएको थियो। बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले जित्दै आएका थिए।
२०७४ र २०७९ मा जस्तै यसपटक पनि जनमोर्चाले बाग्लुङमा नेकपासँग गठबन्धन गर्यो। बाग्लुङ- २ मा नेकपालाई सघाएर १ मा नेकपाले आफूलाई सघाउने गरी जनमोर्चाले गठबन्धन गरेको भए पनि यसपटक यहाँ जित निकाल्न सकेन।
बाग्लुङ १ मा जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी उम्मेदवार रहेका थिए। तर उनी चौथो स्थानमा हुँदा यहाँबाट रास्वपाका सुशील खड्का विजयी भए। २ मा पनि रास्वपाकै सोम शर्मा विजयी भए।
याद होस्- २०५६ सालमा भएको निर्वाचनमा बाग्लुङ १ र २ बाटै जनमोर्चाले विजयको झण्ड फहराएको थियो।
जनमोर्चा जस्तै आफ्नै गढ भत्किन पुग्दा नेमकिपा पनि पहिलोपटक संसदविहीन भएको छ। कुनै समय सुदूरपश्चिमसम्म आफ्नो बर्चस्व कायम गरेको नेमकिपा पछिल्लो समय भक्तपुरमा खुम्चिएको थियो।
नेमकिपाको पहलमा भक्तपुरमा भएका शिक्षा क्षेत्रदेखि पूर्वाधारसम्मका कामको प्रशंसा हुने गर्छ। त्यस कारण पनि यहाँ नेमकिपाले आफ्नो गढ बनाउँदै आएको थियो। यसअघि भक्तपुर १ बाट नेमकिपाबाट सांसद रहेका प्रेम सुवाल संसद्मा निकै लोकप्रिय थिए।
भक्तपुर नेमकिपाका अध्यक्ष नारायणमाण विजुक्छेको गृह जिल्ला पनि हो। २०४८ सालयता सधैँ नेमकिपालाई रोजेको भक्तपुरले यसपटक रास्वपालाई रोज्दा नेमकिपा संसदविहीन भएको छ।
फागुन २१ गते भएको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा रमेश वैद्य नेमकिपाबाट उम्मेदवार रहेका थिए। उनीहरू दुवै जना रास्वपाका उम्मेदवारसँग पराजित भए। विशेष गरेर नेमकिपाले भक्तपुर १ मा आफ्नो विजय निरन्तर प्राप्त गर्दै आएको थियो।
यसपटक सुवाललाई भक्तपुर १ वासीले हराइदिँदा नेमकिपा पहिलोपटक संसदविहीन भएको छ। सन्दर्भ के छ भने नेमकिपा स्थापना हुँदा नै भ्रष्ट्राचार अन्त्य, मोहियानी हकलगायतको मुद्दा लिएर भएको थियो।
तर आज पनि यो मुद्दा बाँकी हुँदै नेमकिपा भने संसदविहीन हुन पुगेको छ।
प्रत्यक्षमै नौ सिट जितेको त्यो जनमोर्चा
जनमोर्चा भनेपछि चित्रबहादुर केसीको नाम सम्झनामा नआउने सायदैलाई होला। संसदमा प्रस्तुत हुने हरेक विषयको एउटा विरोधी वा प्रतिपक्षी कोही थियो भने उनै केसी थिए।
‘संघीयता देशलाई घाँडो भइसक्यो’, उनको २०७४ यता निरन्तरको आवाज हो यो। देशमा सुशासन भएन, स्थीरता आएन आदि-आदि कारणहरूले संघीयता घाँडो भएको विषय नजोडी उनी संसदमा बोल्दैनथे।
‘संघीयता महंगो भयो। देशले अब थेग्न सक्दैन’, पछिल्लो समय संसदमा उनी यस्तै भन्ने गर्थे। तर अब केसी त संसदमा पुगेनन् नै, उनको पार्टीको एक जना पनि संसदमा नपुगेपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र संघीयताको विरोधी हुने देखिएको छ।

चित्रबहादुर केसी।
यद्यपि केसी संघीयता विरोध गरे पनि उनी २०७२ सालमा उपप्रधानमन्त्री भएका थिए।
फागुन २१ गते भएको निर्वाचनमा त ८५ वर्षीय (१९९७ साल माघ २० गते जन्म) उनले प्रत्यक्षतर्फ उम्मेदवारी नै दिएनन्। यदयपि समानुपातिकतर्फ उनले आफ्नो नाम राखेका थिए। २०७४ र २०७९ को निर्वाचनमा थ्रेड होल्ड नकटाएको उनको पार्टीले यसपटक स्वभाविकरुपमा कटाउने सम्भावना थिएन। भइदियो त्यसै।
तर जनमोर्चा कुनै समय संसदमा नौ सिट प्रत्यक्षमा जितेर पुगेको पार्टी हो। जनमोर्चाको माउ पार्टी नेकपा मसाल हो। मसालको नेतृत्व मोहनविक्रम सिंहले गरिरहेका छन्।
केसीको नेतृत्वमा मोर्चा छ। यही जनमोर्चा प्रजातन्त्र स्थापनापछि २०४७ सालमा बनेको संविधान लगत्तै २०४८ सालमा भएको निर्वाचनमा नौ सिटसिहत संसदमा पुगेको थियो। त्यस समयमा संयुक्त जनमोर्चाबाट अन्य मोर्चाहरूहरू पनि निर्वाचनमा सहभागी भएका थिए।
२०४८ सालमा भएको निर्वाचनपछिको संसदले पूर्ण कार्यकाल बिताउन पाएन। जसरी २०७९ मा भएको निर्वाचनपछि बनेको सरकारले पूर्ण कार्यकाल बिताउन नपाउँदै २०८२ फागुनमा माध्यवाधि निर्वाचन भयो।
२०५१ सालमा पनि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले संसद विघटन गर्दै मध्यावधि निर्वाचन गराउँदा जनमोर्चाले एक सिट पनि जित्न सकेन।
यसपछि जनमोर्चा ओरालो लागेको त्यसपछि कहिल्यै नौ सिटमा जित्न सकेन। २०५६ मा छ सिट जितेको यस पार्टीले २०६४ मा दुई सिट प्रत्यक्ष जित्दा तीन सिट समानुपातिकबाट प्राप्त गरेको थियो।
यस्तै २०७० मा भएको दोस्रो संविधान सभामा पनि जनमोर्चाले एक सिट जितेन, यद्यपि तीन सिट समानुपातिकबाट प्राप्त गर्यो। २०७४ मा र २०७९ मा चित्रबहादुर केसीले मात्र बाग्लुङ १ बाट निर्वाचित भएका थिए।
१. २०४८ मा जनमोर्चाबाट निर्वाचित सांसदहरू
विष्णुबहादुर तामाङ (सिराह ५)
कलमप्रसाद चौलागाईं (रामेछाप २)
लीलामणी पोखरेल (ललितपुर ३)
कमानसिंह लामा (काभ्रे १)
अमिक शेरचन (चितवन ३)
बरमान बुढा (रोल्पा १)
कृष्णबहादुर महरा (रोल्पा २)
छक्कबहादुर लामा (हुम्ला)
२. २०५६ मा जनमोर्चाबाट निर्वाचित सांसदहरू
लीलामणि पोखरेल (सिन्धुली ३)
डिलाराम आचार्य (अर्घाखाँची १)
चित्रबहादुर केसी (बाग्लुङ २)
परि थापा (बाग्लुङ १)
हरि आचार्य (प्युठान १)
नवराज सुवेदी (प्युठान २)
३. २०६४ मा जनमोर्चाबाट निर्वाचित सांसदहरू
अमिक शेरचन (चितवन ५)
चित्रबहादुर केसी (बाग्लुङ २)
४. समानुपातिक
सन्तबहादुर नेपाली
मीना पुन
रश्मिराज नेपाली
५. २०७० मा राष्ट्रिय जनमोर्चाबाट
चित्रबहादुर केसी
दुर्गा पौडेल
मीना पुन
६. २०७४ मा जनमोर्चाबाट निर्वाचित सांसदहरू
चित्रबहादुर केसी (बाग्लुङ १)
दुर्गा पौडेल (प्युठान)
७. २०७९ मा जनमोर्चाबाट निर्वाचित सांसद
चित्रबहादुर केसी (बाग्लुङ १)
धिपधिप गर्दागर्दै सकिएको नेमकिपा

नारायणमान बिजुक्छे।
नेमकिपाको स्थापना भएको ५१ वर्ष भएको छ। नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने सदस्यमध्ये एक पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिस्ट पार्टीबाट अलग भएर नारायणमान बिजुक्छेले २०३१ साल माघ १० गते नेमकिपा बनाएका थिए।
उनी त्यस समयदेखि यस पार्टीको अध्यक्ष रहिआएका छन्। उनको नेतृत्वमा मोहियानी हक दिलाउन गरिएको आन्दोलनलाई एक प्रमुख आन्दोलनको रुपमा लिने गरिन्छ।
आफूलाई सानो समूहको अध्यक्ष बनाउँदै आएका बिजुक्छेले पार्टीलाई ५१ रुपमा धिमा रुपमा चलाइरहेका छन्। २०४८ सालमा दुई सिट जितेर संसद छिरेको नेमकिपाले २०५१ मा इतिहासमै पहिलोपटक चार सिटमा विजयी प्राप्त गर्यो।
त्यसपछि नेमकिपा कहिल्यै चार सिट लिएर संसद पुग्न सकेन। २०५६ मा भक्तपुर १ बाट बिजुक्छेले मात्र चुनाव जिते। अन्यत्रै कतै पनि नेमकिपा देखा परेन्। २०४८ मा भक्तपुर १ मा उनै बिजुक्छेले विजयी प्राप्त गर्दा जुम्लामा नेमकिपाले बिउँ रोपेको थियो। त्यस सयमा जुम्लाबाट डिल्लीबहादुर महतले विजय प्राप्त गरे। २०५१ मा पनि जुम्लाबाट नेमकिपाका भक्तबहादुर रोकाया विजयी भएका थिए।
यस्तै २०६४ मा भक्तपुर १ र २ बाट मात्र नेमकिपाले विजयी प्राप्त गर्यो। यस समयमा नेमकिपाले दुई सिट समानुपातिक पनि पाएको थियो।
२०७० मा भक्तपुर १ बाट बिजुक्छेले मात्र जिते। तीन सिट नेमकिपाले समानुपातिकबाट प्राप्त गर्यो। २०७४ मा र २०७९ मा भक्तपुर १ बाट प्रेम सुवालले विजयी प्राप्त गरे। यस निर्वाचनमा समानुपातिकमा नेमकिपाले एक सिट पनि प्राप्त गरेन।
दुई कम्युनिस्टले यसपटक एक सिट पनि जित्न नसक्नुका पछाडि कम्युनिस्ट पार्टी नेपालमा कमजोर भएको रुपमा बुझ्न नहुने नेमकिपाकी नेतृ लीला न्याइच्याँई बताउँछिन्।
उनी अहिलेको परिवर्तन भएको बताउँदै पुराना शक्तिले हारेको र नयाँ शक्ति उदाएको रुपमा बुझ्छिन्। ‘यो कम्युनिस्ट र कांग्रेस भनेर छुट्याएको जस्तो लाग्दैन। यो परिवर्तन भएको हो’, उनी भन्छिन् ‘सबै पुराना शक्तिहरूले हारेको हो अहिले। यसलाई आइडोलोजिकल बेसमा कुरा गर्नु सही विश्लेषण हुन्छ जस्तो लाग्दैन।’
नेपाल-चीन सम्बन्धमा विद्यावारिधी गरेकी उनी नेमकिपा, जनमोर्चा यसरी किन हार्न पुगे भन्नेमा अनविज्ञता प्रकट गर्छिन्। ‘यसलाई अध्ययन नगरी भन्न सकिँदैन’, उनी भन्छिन्।
२०४८ मा नेमकिपाबाट निर्वाचित सांसदहरू
डिल्लीबहादुर महत (जुम्ला)
नारायणमान बिजुक्छे (भक्तपुर १)
२०५१ मा नेमकिपाबाट निर्वाचित सांसदहरू
भक्तबहादुर रोकाया (जुम्ला)
विनोदकुमार शाह (दैलेख १)
नारायणमान बिजुक्छे (भक्तपुर १)
आशाकाजी वासुकला (भक्तपुर २)
२०५६ मा नेमकिपाबाट निर्वाचित सांसद
नारायणमान बिजुक्छे (भक्तपुर १)
२०६४ मा नेमकिपाबाट निर्वाचित सांसदहरू
नारायणमान बिजुक्छे (भक्तपुर १)
सुनिल प्रजापति (भक्तपुर २)
समानुपातिक
नवराज कोइराला
लीला न्याइच्याँई
२०७० मा नेमकिपाबाट निर्वाचित सांसदहरू
नारायणमान बिजुक्छे (भक्तपुर १)
समानुपातिक
प्रेम सुवाल
डिल्लीप्रसाद काफ्ले
अनुराधा थापा मगर
२०७४ मा नेमकिपाबाट निर्वाचित सांसद
प्रेम सुवाल (भक्तपुर १)
२०७९ मा नेमकिपाबाट निर्वाचित सांसद
- प्रेम सुवाल (भक्तपुर १)