- मलेसिया एएफसी एसियाकपको छनोट चरणबाट बाहिरिएको छ भने भियतनाम १५ अंकसहित शीर्ष स्थानमा छनोट भएको छ।
- कागजात नक्कली बनाएको आरोपमा सात खेलाडीमाथि १२ महिनासम्म खेल्न रोक लगाइएको छ, तर प्रशिक्षण गर्न सक्ने छन्।
- मलेसियाले नेपाल र भियतनामविरुद्धका जितहरू उल्टाएर दुवै खेल ३-० ले पराजित भएको मानिएको छ।
मलेसिया एएफसी एसियाकपको छनोट चरणबाटै बाहिरिएको छ।
अघिल्ला खेलहरूमा अयोग्य खेलाडी उतारेको प्रमाणित भएपछि मलेसियाको २०२७ को एसियन कप छनोटको सपना औपचारिक रुपमा अन्त भएको हो।
एएफसीले नेपाल र भियतनामविरुद्धका अघिल्ला जितका खेलमा अयोग्य खेलाडी प्रयोग गरिएको भन्दै मलेसियामाथि कारबाही गरेको हो।
महादेशीय फुटबल निकायले मंगलबार दिउँसो सार्वजनिक गरेको निर्णय अनुसार, मलेसियाली फुटबल संघले सात खेलाडीलाई राष्ट्रिय टोलीबाट खेलाउन योग्य बनाउन नक्कली कागजात प्रयोग गरेर पासपोर्ट बनाएको प्रकरणमा अन्तिम फैसला सार्वजानिक गरेको हो।
यो मुद्दामा अन्तिम निर्णयको ‘कोर्ट अफ आर्विट्रेसन फर स्पोर्ट्स'(कास) ले दिएको थियो।
मंगलबार घोषणा गरिएको अनुशासनात्मक कारबाहीसँगै उसलाइ ५० हजार अमेरिकी डलर जरिवाना पनि लगाइएको छ।
यसबारे फुटबल एसोसिएसन अफ मलेसियाले निर्णयको कारणबारे विस्तृत जानकारी माग्दै लिखित अनुरोध गर्ने र त्यसपछि मात्रै आगामी कदमबारे निर्णय गर्ने जनाएको छ। मार्च ५ मा सीएएसले यसअघि फिफाले मलेसियाली संघ र सात खेलाडीमाथि लगाएको कारबाहीलाई आंशिक रूपमा सदर गरेको थियो।
ती खेलाडीहरू गेब्रियल पाल्मेरो, फाकुन्डो गार्सेस, रोड्रिगो होल्गाडो, इमानोल माचुका, जोआँ फिगुएरेदो, हेक्टर हेभेल र जोन इराजाबाल रहेका छन्। योग्यताको कागजात नक्कली बनाइएको प्रमाणित भएकाले ती खेलाडीलाई १२ महिनासम्म खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय पनि गरिएको छ। तर नियमअनुसार यो प्रतिबन्ध खेलमा मात्र लागू हुने र अन्य फुटबलसम्बन्धी गतिविधिमा नलाग्ने बताइएको छ।
त्यसैले प्रतिबन्ध अवधिमा पनि ती खेलाडीहरूले आफ्ना क्लबमा प्रशिक्षण भने गर्न पाउने छन्।
यो निर्णयपछि ती खेलाडीहरू अयोग्य भएको ठहर भएकाले गत वर्ष नेपाल र भियतनामविरुद्ध मलेसियाले जितेका खेलको नतिजा उल्टिएको छ।
मलेसियाले नेपाललाई २-० र भियतनामलाई ४-० ले हराएको थियो। अब ती दुवै खेल प्रतिद्वन्द्वी टोलीको पक्षमा ३-० को जितका रूपमा परिणत गरिएको छ।
यसका कारण एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणको समूह एफमा मलेसियाको अवस्था एकाएक कमजोर बनेको छ। लगातार पाँच खेल जितेर तीन अंकले शीर्ष स्थानमा रहेको मलेसिया अब नयाँ शीर्ष टोली भियतनामभन्दा ६ अंकले पछि परेको छ।
अब छनोट चरणमा एउटा मात्र खेल बाँकी रहेकाले मलेसियाले भियतनामलाई उछिन्ने सम्भावना गणितीय रूपमा समाप्त भएको छ।
यससँगै भियतनाम लगातार तेस्रो पटक एसियन कपका लागि छनोट भएको छ। मलेसियाका लागि यो परिणाम निकै निराशाजनक मानिएको छ। किनकि २०२३ मा १६ वर्षपछि एसियन कपमा फर्किएको मलेसियाले आगामी मार्च ३१ मा हुने भियतनामसँगको खेलमा चार गोलभन्दा बढी अन्तरले हार्नबाट जोगिए मात्रै पनि फेरि प्रतियोगितामा स्थान सुरक्षित हुने अवस्था थियो।
अन्तिम फैसला सार्वजनिक भएपछि मलेसियाली फुटबल संघले जारी गरेको विज्ञप्तिमा यो नतिजा निकै निराशाजनक भएको उल्लेख गरेको छ।
संघका अनुसार खेलाडीहरू प्रशासनिक प्रक्रियामा संलग्न थिएनन् र कागजातसम्बन्धी विषयबारे उनीहरूलाई जानकारी पनि थिएन।
मलेसियाली फुटबल संघले ती खेलाडीहरूले मलेसियाको नागरिकता कानुनी रूपमा पाएको दाबी गरेको छ। तर कतिपय देशको नागरिकता सम्बन्धी कानुन र फिफाको खेलाडी योग्यतासम्बन्धी नियम फरक हुन सक्ने भएकाले यस्तो विवाद उत्पन्न भएको बताइएको छ।
अहिलेको स्थितिमा समूह ‘एफ’ बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ। दोस्रो स्थनको मलेसियाको ९ अंक रहदै बाहिरिएको छ। नजिता उल्टिएपछि नेपाल ३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ।
लाओस भने नेपालविरूद्ध हात पारेको जितको ३ अंकसँगै चौथो स्थानमा छ। समूहबाट मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएका छन्। नेपालले अब आफ्नो प्रतिष्ठाका लागि समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। नेपालले आगामी चैत १७ गते लाओससँग प्रतिस्पर्धा गर्दै छ। यो खेलपछि नेपालको एसिया कप छनोटका खेल सकिनेछन्।