- बाँके क्षेत्र नम्बर २ का सांसद इस्तियाक राईले निर्वाचनपछि मालपोत कार्यालयमा नि:शुल्क हेल्प डेस्क स्थापना गरेका छन्।
- राईले जनशक्ति कम रहेको स्वीकार्दै पैसा नभएकाहरूलाई नि:शुल्क सेवा लिन अनुरोध गरेका छन्।
- जेनजी आन्दोलनका बेला लालपूर्जा जलेपछि मालपोत कार्यालयमा प्रमाणपत्र बनाउन भीड लागेको छ।
नेपालगन्ज- बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद इस्तियाक राईले चुनावकाे बेलामा गरेकाे एउटा प्रतिबद्धता पूरा गरेका छन् ।
एमालेबाट प्रत्यासी रहेका राईले आफूले चुनाव जितेमा १५ दिनभित्र मालपाेत कार्यालयमा हेल्प डेस्क राखेर नि:शुल्क जग्गाधनी प्रमाण पूर्जाको श्रेस्ता कायम गराउने प्रतिबद्धता गरेका थिए ।
चुनाव जितेलगत्तै राईले प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर मालपाेत कार्यालयमा हेल्प डेस्क स्थापना गरेका छन् ।
हेल्प डेस्ककाे उद्घाटन गर्दै नवनिर्वाचित सांसद राईले अहिले जनशक्ति कम रहेकाले सकेसम्म लेखापढी कर्मचारीलाई पैसा दिन नसक्नेलाई सेवा लिन आग्रह गरे । उनले भने,‘अहिले जनशक्ति कम छ । जाेसँग पैसा छैन, तिनीहरुले सेवा लिनु हाेला । जनशक्ति बढाएपछि सबैलाई समेट्छाैँ ।’
जेनजी आन्दोलनका बेला लालपूर्जा जलेपछि अहिले त्याे बनाउन मालपाेत कार्यालयमा भीड लागेकाे छ । जग्गाधनी लालपूर्जाकाे श्रेस्ता कायम गर्न लेखमपढी व्यवसायीले २ हजारदेखि ३ हजारसम्म लिने गरेकाे पाइन्छ । नि:शुल्क हेल्प डेस्कबाट सेवा लिदा त्याे पैसा लाग्दैन ।
हेल्प हेस्क उद्घाटनमा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्जका मेयर प्रशान्त विष्ट, मालपाेतका प्रमुख सविनसिंह चाैधरीलगायतकाे उपस्थिति थियाे ।