- कांग्रेस नेत्री रुक्मिणीदेवी कोइरालाले सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेप तथा गलत प्रचारको विरोध गर्दै कारबाहीको माग गरिन्।
- समानुपातिक सांसदमा चयन भएपछि उन्मुख भएको आरोप र महिला नै लक्षित भ्रामक टिप्पणीले राजनीति गराउन कठिन भएको बताईन्।
- कोइरालाले महिलामाथि भएका नकारात्मक टिप्पणीको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिइन्।
माेरङ – कांग्रेस नेत्री रुक्मिणीदेवी कोइरालाले सामाजिक सञ्जालमा आएका विषयमा आपत्ति जनाएकी छन्। ०३६ सालबाट नेपाली कांग्रेसको राजनीतिमा होमिदै आएकी कोइरालाले समानुपातिकतर्फबाट सांसदमा चयन भएपछि सामाजिक सञ्जालमा भ्रामक र ब्यक्तिगत रुपमा विभिन्न लाल्छना लगाउने काम भएको जनाउँदै असन्तुष्टि ब्यक्त गरेकी हुन्।
कांग्रेस नेतासंग जोडेर गलत प्रचार भएकोमा आपत्ती जनाउँदै उनले भनिन्, ‘पार्टीबाट समानुपातिकमा चयन भएपछि सामाजिक सञ्जालमा कुण्ठा पोख्ने काम भएको छ। महिलामाथि विभिन्न लाल्छना लगाएर कमजोर बनाउने काम भएको छ।
यसको विरोध गर्छु। ४ दशक लामो राजनीति जीवनमा पहिलोपटक हतोत्साही बनाउने काम भएको छ। यसप्रति आपत्ती जनाउँछु र यसरी गलत कुरा टिप्पणी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन माग गर्छु।’ उनले दलीय राजनीतिमा विश्वास राख्दै आएकाहरुलाई हतोत्साही र निरुत्साहित बनाउने काम भइरहेको आरोप लगाएकी छन्।
कोइरालाले ०४७ सालमा नेपाल महिला संघको मोरङ सभापतिको जिम्मेवारीवहन गरेकी थिइन्। भारतको शिलोङबाट स्नातक र इलाहाबादबाट उच्च शिक्षा हासिल गरेकी कोइराला २०६४ सालयता तीनपटक पार्टीबाट समानुपातिकमा पर्दै आएकी थिइन्।तर उनी विभिन्न कारण सांसदमा नियुक्त हुन सकेकी थिइनन्।
यसपटक, ०८२ सालको निर्वाचनमा विराटनगर वडा नम्बर ६ की बासिन्दा कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवार रहेकी थिइन्। केहीवर्षअघि कोइरालाका श्रीमान नन्दन कोइरालाको देहवासन भएको थियो।
कोइरालाको एक छोरा र दुई छोरी रहेकाछन्। यसअघि, उनी पार्टीको १४ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएकी थिइन्।