- रास्वपाले चुनावी समानुपातिक सूचीमा धेरै कलाकार समेटे पनि अन्तिम सूचीमा रिमा विश्वकर्मा मात्र चयन भइन्।
- १९८९ मा जन्मिएकी रिमा, ग्ल्यामर रियालिटी शोकी प्रस्तोता र अभिनेत्री भएकाले राजनीति प्रवेशमा सहज अनुभव गरिन्।
- समाजको विसंगति र बेथिति बारे सशक्त अभिव्यक्ति दिने रिमा अब संघीय संसदमा दलित महिला कोटाबाट प्रतिनिधित्व गर्नेछिन्।
०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै गायक कलाकारहरूको नाम समानुपातिक सूचीमा समेटेको थियो। तर अन्तिम ५७ जना प्रस्तावित समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएको बन्दसूचीमा कलाकारहरूमा अभिनेत्री तथा टिभी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा मात्रै समेटिन सफल भएकी छन्।
सुरुमा रास्वपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपूतदेखि मिस नेपाल अनुष्का श्रेष्ठसम्म गरी ११० जनाको नाम निर्वाचन आयोगलाई पठाएको थियो। गायक सपूत, गायिका त्रिशला गुरुङ, गायक सत्यकला राई, गायक रमेश प्रसाई, कलाकार डाक्टर आयुष्मान घिमिरे, रिमा विश्कर्मा, आसिफ शाहलगायत समेटिएका थिए तर अन्तिममा रिमा एक्लै संसदको यात्रा तय गरेकी छन्।
को हुन् रिमा विश्वकर्मा?
रास्वपाको समानुपातिक सूचीमा दलिततर्फबाट पहिलो नम्बरमा परेकी रिमा सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी हुन्। रिमाको ग्ल्यामर यात्रा सानै उमेरमा सुरु भएको हो। सात कक्षामा पढ्दादेखि नै टेलिशृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी उनी नेपाल आइडल र कमेडी च्याम्पियनजस्ता चर्चित रियालिटी शोकी प्रस्तोता बनेपछि घर-घरमा चिनिइन्। सुन्दर प्रस्तुति, आत्मविश्वासी शैली र स्पष्ट बोलीका कारण उनले प्रशंसक बढाइन्। जसले खुलेर राजनीतिमा लागेको एक वर्ष नपुग्दै संघीय संसदको यात्रा गरिन्।
कार्यक्रम प्रस्तोताबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी रिमाले स्वरबाट डेब्यु गर्दै भिजा गर्ल, ऋतु, भाले फाइट, बाटोमुनिको फूल- २, कोहलपुर एक्सप्रेसलगायत दर्जनौँ फिल्ममा अभिनय गरिन्। उनले काम गरेका कुनै पनि फिल्मले अपेक्षित व्यापार नगरे पनि उनको चर्चा भने कहिल्यै सेलाएन । समाजमा भएका बेथिति होस कि राज्यले गरेका गलत निर्णय रिमाले आफ्नो स्वर जनतामा मुखरित गर्दै आएकी थिइन् ।
अभिनय यात्राको दुई दशक पूरा नहुँदै राजनीतिमा स्थापित भएकी रिमा वाकक्षमतावान् र परिपक्व प्रस्तोताका रूपमा अग्रपङ्क्तिमा आउने गर्छिन्। ‘ठूला कुरा होइन, भनेको काम गरेर देखाउनु नै हाम्रो असली परीक्षा हो’ भन्दै आएकी रिमा देश र जनताका लागि युवाहरु अग्रपंक्तिमा हुनुपर्ने मत राख्छिन्।

देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन लागेको बताउँदै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा जोडिएकी थिइन्। केन्द्रीय सदस्यका रुपमा जोडिएकी रिमा जब उनेपा र रास्वापा एक भएर अघि बढ्ने क्रममै अलग भए पनि रिमा रास्वपामै बसिन्। दलित महिला कोटाअन्तर्गत समानुपातिक सूचीमा समावेश गरिएसँगै उनको संसद प्रवेश सुनिश्चित भएको हो। पार्टीभित्रको उतारचढावका बीच कुलमान बाहिरिँदा पनि रिमा भने रास्वपामै सक्रिय रहँदै आएकी थिइन्। अब समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्दै उनी संघीय संसदमा पुग्ने भएकी छन्।
उनले गरेको निर्णय सही अवसरका रुपमा जुरेको बताउँछन् उनलाई चिन्ने कलाकारहरु नै। रिमा स्वयम् अवसरलाई चिन्ने कलाकारमा पर्छिन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग टेबुलटेनिस खेलेको प्रसंग होस् वा वैवाहिक जीवनका उतार-चढाव, या त टेलिभिजन कार्यक्रमका चर्चित अभिव्यक्तिहरू र प्रस्तुति- रिमा सधैँ कुनै न कुनै कारणले हेडलाइनमा रहँदै आएकी पात्र हुन्। तर, यसपटक उनको चर्चा केवल ग्लामर वा मनोरञ्जनका कारण होइन, संसदयात्रासँगै चुलिएको छ।
समाजका हरेक विसंगति तथा वेथितिका बारेमा खुलेर लेख्ने बोल्ने नेत्री रिमा सामाजिक सञ्जालमा लेख्छिन्- ‘जनताको सेवा सदनभित्रबाट मात्र होइन, समाजमै रहेर पनि गर्न सकिन्छ। त्यसैले जो जहाँ छौँ त्यहीबाटै समाज निर्माणमा जुटौँ। हामी सबैको सामुहिक प्रयास र एकता नै परिवर्तनको जग हो।’