- माओवादी नेता प्रकाण्ड आफ्नै गृह जिल्ला कालिकोटमा चौथो स्थानमा रहँदै चुनाव हार्नुपर्यो।
- प्रचण्डले माओवादी नाम छाड्दै पेश गरेको नेकपामा सीमित हुँदा जनताले समर्थन कम देखाए।
- माओवादी नेता दिनानाथ शर्माले चुनाव परिणामलाई वैचारिक विचलनसँग जोड्न नहुने भन्दै माओवाद विर्सजन नहुने बताए।
काठमाडौँ– ‘प्रचण्ड (पुष्पकमल दाहाल) माओवादी होइनन्, वास्तविक माओवादी हामी हौँ’ भन्दै दाबी गर्ने नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कालिकोटबाट हारे।
कालिकोट उनको गृह जिल्ला पनि हो। गृह जिल्लामै उनी ४ हजार ९ सय ९३ मत ल्याएर चौथो बने। उनी चौथो बन्दा उनकै पूर्वसहकर्मी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले ११ हजार ७ सय ३४ मत ल्याएर विजयी भए।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायत दलहरू कात्तिक १९ गते एकता गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि प्रकाण्डले भनेका थिए– ‘प्रचण्डले एकताका नाममा माओवाद र माओवादी छाडे। वास्तविक माओवादी हौँ।’
तर उनै माओवादी नेता प्रकाण्डलाई माओवादीको आधार इलाका मानिने कालिकोटले दोस्रो बनाउन पनि उपयुक्त ठानेन र चौथो बनाइदिए।
प्रचण्डले माओवादी नाम त्याग गर्दै नेकपा बनाए। अनि नेकपामा मात्र सीमित प्रकाण्डहरू माओवादी नाम लिएर चुनावमा होमिए। तर माओवादीलाई जनताले अनुमोदन गरेनन्। उनीहरूले प्रत्यक्ष सिट त जितेनन् नै, समानुपातिकमासमेत लगभग २३ हजार मतमा खुम्चनुपर्यो।
प्रकाण्डले चुनाव हारेपछि अहिले ‘कालिकोटमा सबै पार्टी मिलेर आए पनि मैले चुनाव जित्छु’ भन्ने उनको केही वर्ष पहिलेको भनाइलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
माओवादी नाम १० वर्षे सशस्त्र युद्धसँग जोडिने नाम हो। विस २०५२ देखि २०६२ सम्म माओवादीले देशमा सशस्त्र युद्ध गर्यो। त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतत्रात्मक राज्य बनाइयो।
परिवर्तनको यो हुरी चलाएको त्यही माओवादीका नेताहरू अहिले त्यसबाट टाढा पुग्दैछन्। माओवादी नामबाट टाढा पुग्नुलाई प्रचण्ड आफैँ आवश्यक्ता भन्ने गर्छन्।
तर आवश्यक्ता जनतामुखी नभएको निर्वाचनका परिणामहरूले देखाइरहेको छ। प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पार्टीलाई माओवादीदेखि पटक-पटक टाढा लैजाने कोशिसमा छन्। एमालेसँग एकता गर्दा पनि उनले माओवादी नाम छाडेका थिए।
अदालतबाट फेरि माओवादी नाममा फर्किन बाध्य भएका प्रचण्ड अहिले उक्त नामलाई छाडेर नेकपामा पुगेका छन्। उनी माओवादीदेखि टाढा पुग्दै गर्दा जनमत पनि उनीदेखि टाढा पुगिरहेको छ। यतिसम्म कि आफूलाई सुरक्षित राख्न प्रचण्ड आधार इलाका खोज्दै हिड्नुपर्ने बाध्यतामा छन्, जसरी चितवन, गोर्खा हुँदै अहिले रुकुम पूर्व पुगे।
२०६४ को संविधान सभा निर्वाचनमा १२० सिट जित्दै सरकारको नेतृत्व गरेका थिए, प्रचण्डले। त्यसपछि माओवादीमा आएको विचलनले माओवादी पहिलो पार्टीसमेत बनेको छैन।
०६४ मा ५० प्रतिशत मत प्राप्त गरेको माओवादी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा २७ सिटमा खुम्चिन पुग्यो। यतिबेला कांग्रेस, एमालेपछि तेस्रो शक्तिमा माओवादीले चित्त बुझायो।
२०७४ मा ३६ सिट पाउँदा माओवादी २०७९ मा १८ सिटमा खम्चियो। यी दुवै निर्वाचनमा क्रमश: माओवादीले एमाले र कांग्रेससँग गठनबन्धन गरेको थियो।
अहिले फागुन २१ गते भएको निर्वाचनमा माओवादी आठ सिटमा खुम्चनु परेको छ।
माओवाद विर्सजन हुने अवस्थामा पुगेको हो?
माओवादी निरन्तर खुम्चनुका पछाडि माओवादी सग्लो नहुनु एउटा कारण हो। सशस्त्र युद्ध बिसाएर सत्ता यात्रामा लागेपछि माओवादी कैयन पटक टुक्रिएको छ।
एकीकृत समाजवादीलागायत २० भन्दा बढी समूहसँग प्रचण्ड मिल्दा उनका सशक्त सहयात्री जनार्दन शर्माले पार्टी छाडे। उनीसँगै राम कार्की, सुदन किरातीलगायत नेताहरूले पार्टी छाड्दै प्रगतिशील लोकतान्त्रिक पार्टी बनाए।
यसअघि मोहन वैद्य ‘किरण’देखि बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’देखि आहुतीहरूले प्रचण्डलाई छाडि हिडेका छन्। जसका कारण दुई तिहाइ नजिकको सत्ता सम्हालको माओवादी अर्थात नेकपा २० वर्षमा चौथो शक्तिकारुपमा खुम्चिएको छ।
पार्टी छाडि जानेहरू वा पार्टीको मूल नेतृत्वसँग रहनेहरूबीच एकले अर्कोलाई लागाउने आरोप भनेको वैचारिक विचालन हो। सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुन सक्ने चरित्र निर्माण गरेका प्रचण्ड अब के माओवाद विर्जन गर्ने अवस्थामा पुगेका हुन्? माओवादी नेताहरू त्यस्तो मान्न तयार छैनन्।
माओवाद विर्सजन कहिल्यै नहुने नेकपाका नेता दिनानाथ शर्मा बताउँछन्। ‘माओवाद कहिल्यै मर्दैन। मरेको छैन’, उनले भने।
निर्वाचनको परिणामलाई वैचारिक विर्जनसँग जोड्न नहुने उनको भनाइ छ। उनले नयाँ शक्ति (रास्वपा) पनि आफूहरूकै एजेण्डामा रहेको बताए। ‘माओवादी कमजोर किन छैन भने हामीले नै चाहेको यहाँ सुशासन हो। प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्यो। संविधान संशोधन हुनुपर्यो भन्ने हो’, उनले भने ‘त्यो त माओवादी धारकै विचार हो नि। माओवादी धारको विचारलाई बोक्ने समाज हुन्छ। व्यक्ति पनि हुन्छ नि। भ्रष्टाचारिलाई कारबाही गर्नुपर्छ भन्ने न हाम्रो। त्यो नयाँ शक्ति (रास्वपा)ले लिएको छ। राम्रो हो।’
उनले परिवर्तनको पक्षमा रहेको रास्वपाको पक्षमा आफूहरू रहेको पनि बताए। ‘नयाँ दलहरू आउनु पनि स्वभाविक हो। वामपन्थी भनेकै प्रगतिशील सोच हो। प्रगतिशील सोच लिएर कोही आउँछ भने हामीले अस्वीकार गर्नु हुँदैन’, शर्माले भने।
उनी चुनावको परिणामले वैचारिक, दार्शनिक, सैद्धान्तिकपक्षहरूलाई असर नगर्ने बताउँछन्।