झापा – झापामा गत फागुन २८ गते राति आएको भीषण हावाहुरी र अविरल वर्षाका कारण कृषि क्षेत्रमा ठूलो धक्का लागेको छ।
अचानक आएको यो प्राकृतिक विपत्तिले विशेष गरी झापा गाउँपालिका वडा नं. ७ मा लगाइएको केरा खेती र मकैबालीमा व्यापक क्षति पुर्याएको छ। उत्पादन दिएर आम्दानी लिने समयमा खेती नष्ट भएपछि स्थानीय किसानहरू यतिबेला निकै चिन्तित बनेका छन्।
किसानहरूका अनुसार करिब दुई बिगाहा दुई कठ्ठा क्षेत्रफलमा लगाइएका ३२ सयभन्दा बढी केराका बोटहरू हावाहुरीले ढालेको छ। साधना संस्कृति नमूना प्रालिका सञ्चालक चन्द्रप्रसाद बस्नेतको मात्रै करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
उनले ३० बिगाहामा व्यावसायिक केरा खेती गर्दै आएका थिए। त्यस्तै, अर्की किसान पूजा खनालको १० बिगाहामा लगाइएको केरा खेतीमा पनि हावाहुरीले ठूलो नोक्सानी पुर्याएको छ।

वर्षभरिको मेहनत र पसिना एकै रातमा माटोमा मिलेपछि किसानहरूले राज्यसँग राहतको गुहार मागेका छन्।
धेरैजसो किसानले बैंकबाट ऋण लिएर खेती सुरु गरेकाले अब ऋण कसरी तिर्ने भन्ने पिरलो थपिएको छ। कृषि बिमा गरे पनि समयमा भुक्तानी नपाइने र प्रक्रिया झन्झटिलो हुने गरेको उनीहरूको गुनासो छ।
‘यस्तै अवस्था रहे किसानहरू नेपालमा टिक्न सक्ने अवस्था छैन,’ एक पीडित किसानले दुखेसो पोखे।
झापा गाउँपालिकाका किसानहरूले पटक-पटक यस्तो क्षति व्यहोर्नुपरेको छ। यसअघि गत असोजमा आएको बाढीले पनि यहाँको केरा खेतीमा ठूलो नोक्सान पुर्याएको थियो।
बाढीको चोट निको नहुँदै फेरि हावाहुरीले क्षति पुर्याएपछि किसानहरूले सम्बन्धित निकायलाई तत्काल क्षतिको विवरण संकलन गरी उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गरेका छन्।