झापा– पछिल्लो समय आएको वर्षासहितको हावाहुरीले झापा जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
जिल्लाभर विशेषगरी मकै बालीमा गम्भीर असर परेको छ भने अन्य हिउँदे बाली र केरा खेतीमा पनि नोक्सानी भएको छ।
झापामा यस वर्ष करिब ४४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ। जसमध्ये झापा गाउँपालिकामा सबैभन्दा बढी ७ हजार हेक्टर र बाह्रदशी गाउँपालिकामा ६ हजार हेक्टरमा मकै लगाइएको तथ्यांक छ। हावाहुरीले यी क्षेत्रका किसानलाई नराम्ररी प्रभावित पारेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, ढिलो रोपेको मकैको तुलनामा फल्ने बेला भएको (अगुवा) मकैमा धेरै क्षति पुगेको छ।
हावाहुरीले बिरुवा ढालेपछि उत्पादनमा गिरावट आउने सम्भावना देखिएको छ।
मकैका अतिरिक्त जिल्लामा व्यावसायिक रूपमा गरिएको केरा खेती र हिउँदे तरकारी बालीमा पनि क्षति पुगेको छ।
कृषि ज्ञान केन्द्रले हाल क्षतिको पूर्ण विवरण र तथ्यांक संकलन गर्ने कार्य भइरहेको जनाएको छ।