- सर्लाहीमा भारतीय नम्बर प्लेटको स्कारपिओले जन्तीलाई किच्दा एकजनाको मृत्यु भएको र ११ जना घाइते भएका छन्।
- दुर्घटनामा परेर गढीमाई नगरपालिका ९ का नारायण जर्गा मगरको मृत्यु र कमल पटेल गम्भीर अवस्थामा छन्।
- स्कारपिओ चालक नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
जनकपुरधाम – सर्लाहीमा भारतीय नम्बर प्लेटको स्कारपिओले जन्तीलाई किच्दा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ बजेको समयमा बरहथवा नगरपालिका १० सितापुर स्थित बरहथवाबाट सितापुर तर्फ जाँदै गरेको डीएल ९ सीजेड ०७७७ नम्बरको स्कारपिओले बिहेमा जन्ती आएका एक दर्जन व्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा परेर रौतहटको गढीमाई नगरपालिका ९ बस्ने ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको हो। शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भएका उनलाई उपचारको लागी नगर अस्पताल बरहथवा लगेकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेको हो। उक्त दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् भने अन्य एकजनाको शरिरमा चोटपटक नलागेपनि विहोस रहेका छन्।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राईका अनुसार दुर्घटनामा परेर रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा छन्। उनको हनुमन्त अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएका छन्।
यस्तै, रौतहटकै गढीमाई नगरपालिका ११ बस्ने ४५ वर्षीया बन्धना पटेल, सर्लाहीको बरहथवा १० बस्ने १८ वर्षीय रुपेश मंडल, सोही स्थान बस्ने १५ वर्षीया प्रतिमा कुमारी पटेल, १९ वर्षीय दिलिप राय, वडा नं। ७ बस्ने २३ वर्षीय चन्दन पासवान, वडा नं। १० सितापुर बस्ने १२ वर्षीया दिपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनका श्रीमती ४५ वर्षीया गुलाब कुमारी मण्डल घाइते भएकी छन्।
प्रहरीले यस घटनामा ठक्कर दिने स्कारपिओ चालक बरहथवा १२ लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ।