- नेपाल भाषा तथा सांस्कृतिक संघले गणेशराम लाछिलाई नेपालभाषा, कला र संस्कृतिमा सक्रिय भूमिका खेलेकोमा सम्मान प्रदान गर्यो।
- लाछिलाई सुदर्शन-कपिला ट्रष्टबाट दुई लाख रुपैयाँ राशिसहितको सम्मान प्रदान गरियो।
- कोशी प्रदेशका मन्त्रीले नेपालको बहुजातीय पहिचानमा विभिन्न भाषाहरुको योगदान रहेको बताए।
माेरङ – भक्तपुरको मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन्।
नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झीपुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा नेपालभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका लाछिलाई सम्मान गरिएको हो।
लाछिलाई दुई लाख रुपैयाँ राशिसहित सम्मान गरिएको हो। समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’मार्फत हरेक दुई वर्षमा एकपटक सम्मान प्रदान गरिदै आएको छ।
सम्मानित स्रष्टा लाछिलाई सम्मान गर्दै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे।
उनले विभिन्न जातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताए। कार्यक्रमका आयोजक झीपुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपालभाषा, नेवारी कलातथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिँदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए।
उनले झीपुचःले नेवारी संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए।
यसअघि यो सम्मान वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, भारतको सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवाखल कास्कीलाई प्रदान गरिएको थियो।