जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य कञ्चन विच्छा पदमुक्त भएकी छन्। सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मधेस प्रदेशसभा सदस्य विच्छा पदमुक्त भएकी छन्।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले यसअघि दिइएको अन्तरिम आदेश खारेज गरेसँगै विच्छा पदमुक्त भएकी छन्।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेपछि पार्टीले तत्कान राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै सरकारमा बसेपछि पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो।
पार्टीले कारबाही गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएपछि उनलाई पदमुक्त गरिएको थियो। त्यसको विरुद्धमा विच्छाले सर्वोच्चमा रिट दिएपछि अन्तरिम आदेश दिँदै पदलाई कायम गरेको थियो।
विजय प्रसाद अधिकारीले अन्तरिम आदेश खारेज गरी पाउँ भन्दै दिएको मुदामा अन्तिम आदेश दिँदै मागबमोजिम आदेश दिएको छ। यस्तै, विच्छाले राप्रपा केन्द्रिय कार्यालयसमेत चारजनालाई विपक्षी बनाएर दिएको उत्प्रेषण मुद्दामा फैसला सुनाउँदै उक्त रिट खारेज गरेको हो। विच्छा समानुपातिक प्रदेश सभा सदस्य थिइन् ।