- नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई विधिवत रूपमा पदभार हस्तान्तरण गरियो।
- पदभार ग्रहण पछि सुरेन्द्रकुमार उप्रेतीले नाडालाई सशक्त, सक्रिय र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे।
- अध्यक्ष उप्रेतीले नाडा विधान अनुसार तीन जना सदस्यलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्दै आगामी कार्यक्रमहरूमा सक्रिय भूमिका अपेक्षा गरे।
काठमाडौं- नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल (नाडा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संस्थाको नेतृत्व हस्तान्तरण प्रक्रिया सम्पन्न गरेको छ।
२०८२ साल फागुन २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई विधिवत् रूपमा पदभार हस्तान्तरण गरेका हुन् ।
पदभार हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नयाँ नेतृत्वको कार्यकाल सफलताको शुभकामना दिँदै उप्रेतीको नेतृत्वमा नाडाको संस्थागत विकास र अटोमोवाइल क्षेत्रको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पदभार ग्रहणलगत्तै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथका क्रममा उहाँले नाडाको विधान, उद्देश्य र मूल्य मान्यता अनुरूप संस्थालाई अझ बढी सशक्त, सक्रिय र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा सम्पूर्ण व्यवसायीहरूको हकहित संरक्षण गर्ने, अटोमोवाइल क्षेत्रको विकासका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने धारणा समेत राखे ।
सोही बैठकमा अध्यक्ष उप्रेतीले नाडा विधान २०७४ को दफा २०.१ को ‘ङ’ बमोजिम तीन जना सदस्यहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् । मनोनित हुनेहरूमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन् ।
नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले संस्थाका आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन् । साथै, बैठकले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
आगामी दिनमा अटोमोवाइल क्षेत्रको समग्र विकास र नीतिगत सुधारका लागि नाडा थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।