- सप्तरीका शंकर परिहस्तले सात दिनदेखि खाना पकाउने ग्यास पाउन नसक्दा कठिनाइमा रहेको बताए।
- विराटनगरमा ग्यासको उच्च माग भएको कारण होली पर्वपछि ग्यास आपूर्तिमा कमी भएको जनाइएको छ।
- ग्यास आपूर्तिलाई सहज बनाउने प्रयासमा विभिन्न निकायहरूसँग छलफल भइरहेको मोरङका अधिकारीहरूले बताएका छन्।
मोरङ – विराटनगरमा रोजगारीका क्रममा बसोबास गर्दै आएका सप्तरीका शंकर परिहस्त पछिल्लो एक साताबाट खाना पकाउने ग्यासका लागि भौंतारिरहेका छन्। नियमित साटफेरि गर्दै आएको ग्यास डिलरले दैनिक ग्यास उपलब्ध गराउने बताए पनि परिहस्तले ग्यास पाउन नसकेको गुनासो गरे।
उनले भने, ‘ग्यास उपलब्ध नहुँदा कोठामा खाना पकाएर खाने अवस्था छैन। दैनिक होटलमा खान सकिँदैन। हामीजस्ता भाडामा बसेर काम गर्दै आएकाहरूलाई समस्या परेको छ।’
त्यसैगरी, विराटनगर–१२ मा होटल सञ्चालन गर्दै आएका सुमन निरौला भने ग्यास आपूर्ति सहज नहुँदा समस्या हुने बताउँछन्। होटलमा एउटा ग्यास मात्र खोल्न बाँकी रहेको बताएका उनले भने, ‘हिजोसम्म डिलरकहाँ ग्यासको माग गरेको थिएँ। पठाइदिन्छु, भनेका छन्। होटलमा आइसकेको भने छैन। बाहिर सबैतिर ग्यासको अभाव हुन्छ भन्ने हल्ला सुनिरहेको छु। यस्तो हुँदा हामी काम गरेर खानेलाई मर्का पर्छ।’
होली पर्व यता विराटनगरमा खाना पकाउने ग्यासको अभाव देखिदै आएको हो। नेपाल ग्यास विक्रेता संघ मोरङका अध्यक्ष सुनिल बोहराका अनुसार बजारमा अभाव भन्दापनि केही कम संख्यामा ग्यास आपूर्ति भएको छ।
उनले भने, ‘हिजोको दिनमा कम्पनीहरूले ५ सय वटा ग्यास पठाउने गरेकोमा अहिले १ सय ५० देखि २ सय वटा ग्यास उपलब्ध गराउदै आएकाछन्। यसले गर्दापनि केही समस्या देखिएको हो। तर, कम्पनीले बिहीबार बेलुकाबाट ग्यास आपूर्तिमा सहजता हुने बताएकाछन्। हामी आफैपनि यस विषयमा चिन्तित छाँै।’
पछिल्लोसमय मध्यपूर्वी राष्ट्रहरूमा चर्किएको युद्धका कारण सर्वसाधारणहरूले समेत घरघरमा ग्यास स्टक राख्ने गरेको हुँदा समस्या थप भएको उनको भनाइ छ। एक घरमा एउटा ग्यासले समस्या टर्ने भएपनि अहिले ४ देखि ६ वटा सम्म ग्यास स्टक गर्ने गरेको पाइएको उनले बताए।
त्यसैगरी, विराटनगर–१० पिपल चौकका ग्यास विक्रेता भोजराज दाहालपनि कम्पनीबाट पछिल्लोसमय ग्यास आएपनि माग अत्यधिक बढेको बताउँछन्।
उनले भने, ‘यस क्षेत्रमा सामान्यतया मासिक ७ देखि ८ सय ग्यास सिलिन्डर खपत हुन्छ। तर, फागुन महिनामा १ हजार बढि संख्यामा ग्यास विक्रि भइसकेको छ। यहाँ घर घरमा स्टक राख्ने हुँदा समस्या भएको हो। तर पनि कम्पनीले बिहीबार बेलुकासम्म थप ग्यास उपलब्ध गराउने जनाएको छ। सोही अनुसार अब सहज हुन्छ भन्ने अपेक्षा गरेका छौँ।’
यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटटेलले भने ग्यास अभावको विषयमा सरोकारवाला निकायसंग छलफल भइरहेको बताए। उनले भने, ‘केहीदिनदेखि बजारमा ग्यासको आपूर्तिमा कमी देखिएको गुनासो आएको छ। हामी यस विषयमा गम्भीर छाैँ। अहिलेपनि यससंग सरोकार राख्ने, ग्यास कम्पनी, पेट्रोलियम डिलर्स एशोसिएसन, ग्यास विक्रेता संघ लगायतसंग छलफल गरिरहेका छाँै। कसरी बजारमा ग्यास सहज बनाउन सकिन्छ त्यस विषयमा काम गरिरहेका छौँ।’
विराटनगरमा १ सय ५० भन्दा बढी संख्यामा ग्यास डिलर छन्। ग्यास विक्रेता संघ मोरङका निवर्तमान अध्यक्ष गणेश साहका अनुसार बजारमा कोशी, प्रिमा, सुविधा, रिजाल, कन्काई, मेची, श्रीशक्ति, कामाख्या र पराजुली कम्पनीको ग्यास विक्री हुदै आएको छ। तरपनि बजारमा ग्यासको चरम अभाव देखिएको छ।
बजारमा प्रतिसिलिण्डर १ हजार ९ सय १० रूपैया पर्ने भए पनि डिलिभिर शुल्क ५० देखि १ सय रूपैयाँसम्म लिन सक्ने अवस्था रहेको साहको भनाइ छ। विराटनगरमा मासिक करिब ३० हजारको संख्या ग्यासको माग रहेको संघको भनाइ छ।