- मधेस प्रदेशमा ३१ निर्वाचन क्षेत्रका ९८५ उम्मेदवारमध्ये ८९४ जनाको जमानत जफत भएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका ३१ उम्मेदवारले जमानत बचाएका छन्, जसमा ३० जना निर्वाचित भएका छन्।
- नेपाली कांग्रेसका ३१ मध्ये २२ जना उम्मेदवारले जमानत बचाएका छन्, जसमा एकजना निर्वाचित भएका छन्।
जनकपुरधाम – मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेकामध्ये ८९४ जनाको जमानत जफत भएको छ। ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशको ३१ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार ९१ ज्नाले मात्र आफ्नो जमानत बचाउन सकेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा विवादका कारण आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गरिएको छैन। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि मतपत्रबाट पार्टीको छाप नहटाउँदा उक्त छापमा सबैभन्दा बढी मत परेको हो। आयोगले यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएपनि मतपरिणाम सार्वजनिक गरेको छैन।
धनुषा १ बाहेक ३१ वटा निर्वाचन क्षेत्रमा ९८५ जना उम्मेदवार रहेकोमा ८९४ जनाले आ–आफ्नो क्षेत्रमा कुल सदर मतको १० प्रतिशत मत पाउन सकेका छैनन्।
सप्तरीको चार निर्वाचन क्षेत्रमा १०२ जना उम्मेदवार रहेकोमा ९० जनाको जमानत जफत भएको हो। यहाँ १२ जनाले आफ्नो जमानत बचाउन सफल एका छन्। सिरहाको चार निर्वाचन क्षेत्रमा १३८ जना उम्मेदवार रहेकोमा १२७ जनाको जमानत जफत भएको छ। सिरहामा ११ जना आफ्नो जमानत बचाउन सफल भएका छन्।
धनुषाको ३ निर्वाचन क्षेत्रमा ११६ जना उम्मेदवार रहेकोमा १०६ जनाको जमानत जफत भएको हो। यहाँ १० जना उम्मेदवारले आफ्नो जमानत बँचाउन सकेका छन्। महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा १३९ जना उम्मेदवार रहेकोमा १२७ जनाको जमानत जफत भएको छ भने १२ जनाले आफ्नो जमानत बचाएका छन्।
सिरहामा १३८ जना उम्मेदवार रहेकोमा १२७ जनाको जमानत जफत भएको छ। ११ जनाले आफ्नो जमानत बचाउन सफल भएका छन्। सर्लाहीमा १३१ जना उम्मेदवार रहेकोमा १२२ जनाको जमानत जफत भएको र ९ जनाले आफ्नो जमानत बचाउन सफल भएका छन्।
रौतहटमा १४२ जना उम्मेदवार रहेकोमा १२८ जनाको जमानत जफत भएको छ। यहाँ १४ जना उम्मेदवार आफ्नो जमानत बचाएका छन्।
बारामा ११० जना उम्मेदवार रहेकोमा ९९ जनाको जफत भएको र ११ जना बँचाउन सफल भएका छन्। पर्सामा १०७ जना उम्मेदवार बनेकोमा ९५ जनाको जमानत जफत भएको र १२ जना बचाउन सफल भएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका पुष्पा कुमारी चौधरी निर्वाचित हुँदा स्वाभिमान पार्टीका सुमित कुमार र नेकपा एमालेका सुमन राज प्याकुरेलगरी ३ जनाले आफ्नो जमानत बचाएका छन्।
सप्तरी २ मा ३ जनाले आफ्नो जमानत बचाएका छन्। यहाँ रास्वपाका रामजी यादव निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा), नेपालका उमेश कुमार यादव र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले आफ्नो जमानत बचाएका छन्।
सप्तरी ३ मा ३ जनाले आफ्नो जमानत बचाएकोमा रास्वपाका अमरकान्त चौधरी निर्वाचित भएका छन्। यस्तै, जसपा नेपालका उपेन्द्र यादव र नेपाली कांग्रेसका दिनेशकुमार यादवले आफ्नो जमानत बचाउन सफल भएका छन्।
सप्तरी ४ मा समेत ३ जनाले आफ्नो जमानत बचाएका छन्। जसमा रास्वपाका सिताराम साह निर्वाचित भएका छन् भने कांग्रेसका तेजु लाल चौधरी र जसपा नेपालकी वाँवी सिंहले आफ्नो जमानत बचाउन सफल भएकी छन्।
सिरहा १ मा ३ जनाले आफ्नो जमानत बचाएका छन्। रास्वपाका बब्लु गुप्ता निर्वाचित हुँदा कांग्रेसका रामसुन्दर चौधरी र नेकपा एमालेका रामशंकर यादवले जमानत बचाएका छन्।
निर्वाचन आयोगको मत परिणाम अनुसार मधेस प्रदेशको ३१ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन्। रास्वपाका ३१ उम्मेदवारमध्ये ३० जना निर्वाचित भएका छन् भने एउटा क्षेत्रमा तेस्रो स्थानमा छन्।
यस्तै, नेपाली कांग्रसका ३१ मध्ये २२ जना उम्मेदवारले आफ्नो जमानत बँचाएको छ। कांग्रेसबाट एकजना उम्मेदवार निर्वाचित भएका छन्। यस्तै, नेकपा एमालेका १६, जसपा नेपालका ९, नेकपाका ९, आजपा, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टीका १।१ जनाले आफ्नो जमानत बचाएका छन्।