- मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य बन्न चाहने ३ जनाले प्रदेशसभा सदस्य पद गुमाए र चुनावमा पराजित भए।
- रास्वपाका रहबर अन्सारी विशाल मतान्तरले निर्वाचित भएका छन्, भने अन्य नेतृत्व व्यक्ति पराजयको सामना गरे।
- ३२ निर्वाचन क्षेत्रमध्ये ३० मा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा, रौतहट २ र धनुषा १ मा विपक्षी विजयी भए।
जनकपुरधाम- प्रतिनिधिसभा सदस्य अन्तरगत प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा सदस्य बन्ने चाहनामा मधेस प्रदेशमा तीन जनाले प्रदेशसभा सदस्यको पद गुमाएका हुन् ।
पद गुमाउनेमा पूर्व मुख्यमन्त्री, निवर्तमान सभामुख र पूर्व मन्त्री हुन् । भदौ २३-२४ को जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मिति घोषणा हुँदा उम्मेदवारी दिनका लागि मधेस प्रदेशसभा सदस्य पदबाट चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएका थिए ।
राजीनामा दिनेमा थिए, पूर्व मुख्यमन्त्री जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह, निवर्तमान सभामुख नेकपा एमालेका रामचन्द्र मण्डल, माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह र रहबर अन्सारी । अन्सारीले उम्मेदवार बन्नु अघि पार्टीको साधारण सदस्य नरहनेगरी राजीनामा दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा ४ बाट उम्मेदवार बनेका रहबर अन्सारी विशाल मतान्तरले निर्वाचित भए । उनी बाहेकका तीन जनाभने नराम्रो सँग पराजित भए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका पूर्व मुख्यन्त्री सिंहले ३ हजार ५५७ मत ल्याउँदै चौथो स्थानमा सीमित भए । उनले आफ्नो जमानत समेत बँचाउन सकेनन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत ल्याएर निर्वाचित भएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका निवर्तमान सभामुख मण्डलले ९ हजार ३१५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादवले १० हजार ४३० मत ल्याएर निर्वाचित भएका छन् । यस क्षेत्रमा उम्मेदवारी नै खारेज भइसकेका रास्वपाको छापमा ३० हजार ४९१ मत परेको हो ।
रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले फागुन १८ गते खारेज गरेपछि त्यसको विरुद्धमा साह सर्वोच्च अदालत गुहारेका छन् । यहाँ आयोगको निर्देशन अनुसार नै नेकपाका यादवलाई निर्वाचित गरिएको हो ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर महोत्तरी ४ मा उम्मेदवार बनेका मधेस प्रदेशका पूर्व अर्थ र गृहमन्त्री भरतप्रसाद साह मत परिणाममा पाँचौ स्थानमा सीमित भए । नेकपाबाट उम्मेदवार रहेका साहले आफ्नो जमानत समेत बँचाउन सकेनन् ।
यस क्षेत्रमा रास्वपाकी गौरी कुमारीले ३० हजार १३२ मत पाउँदा साहले ५ हजार ३३६ मत मात्र पाएका छन् । यो कुल सदर मतको ८.९६ प्रतिशत हो ।
मधेस प्रदेशमा यस पटक ३२ निर्वाचन क्षेत्रमध्ये ३० मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रौतहट २ मा नेपाली कांग्रेसका उम्मेदवार र धनुषा १ मा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।