मोरङ – २०७९ सालको स्थानीय तह निर्वाचनमा टेम्पोमा एउटा लाउडस्पिकरको भरमा होमिएका हर्कराज राई साम्पाङ राष्ट्रिय राजनीतिमा उपस्थित भएका छन्। केही समयअघि श्रम संस्कृति पार्टी स्थापना गरी प्रतिनिधि सभा निर्वाचनमा होमिएका ४३ वर्षीय राई प्रत्यक्षतर्फ ३ सिटसहित राष्ट्रिय दल बनाउन सफल भएका छन्।
उनको पार्टीले समानुपातिकतर्फ ३ लाख ७० हजारभन्दा बढी मत हासिल गरिसकेको छ र समानुपातिकतर्फ चार सिट ल्याउने पक्का भएको छ। धरान उपमहानगरपालिका प्रमुखमा करिब साढे ३ वर्ष नेतृत्व गरिरहँदा विवादमा पनि परेका थिए उनी। उपमेयर आइन्द्र विक्रम बेघादेखि वडा सदस्य सूर्य भट्टराईसँगको विवाद मुछिए। धरानको खानेपानी समस्या हल गराउने प्रतिबद्धतासहित मेयर भएका राईले थोरबहुत सो मुद्दाबाट प्रशंसासमेत पाएका छन्।
राजनीतिक विश्लेषक तथा मुन्धुम अध्येता डा. कमल तिगेलाका अनुसार तीनवर्षको समयमा धरानका लागि केही काम देखिए पनि केही अपूरा नै छन्। उनले भने, ‘मेयरका रुपमा उहाँले धरानलाई गरेको बाचाहरुलाई पूरा गर्न अग्रसरता दिनुभएको हो। तर, त्यसलाई पूर्णता दिन सकेको महसुस भएको छैन। अब उहाँ नीति नियम बनाउने स्थानमा पुग्नु भएको छ। धरान मात्र उहाँको जिम्मेवारीमा हुने छैन, समग्र मुलुकको हित र विकासमा समय खर्चिनु पर्नेछ।’
उनका अनुसार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राईले अबको समय थप उर्जाशील काममा बिताउनु पर्नेछ। उनले भने, ‘अब उहाँले सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नुभन्दा पनि प्रत्यक्ष जनतालाई लाभ हुने काम गर्नुपर्छ। सरकारमा नगए पनि रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्नुपर्छ।’
प्रधानमन्त्रीका दाबेदार रहेका बालेन्द्र साहप्रति सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नेजस्ता कार्यबारे डा. तिगेला भन्छन्, ‘बालेन्द्र साहप्रति प्रहार गर्दा पोलिटिकल बन्ने बुझाइ हुनसक्छ। तर अब उहाँ योभन्दा माथि उठेर सदनमा सरकारको गुण र दोषका आधारमा रचनात्मक भूमिकामा रहनुपर्छ।’
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि धरानबाट काठमाडौँ पुगेर प्रधानमन्त्रीको दाबी गरेका राई दाबी नपुगेपछि पुनः राष्ट्रिय स्वतन्त्र पार्टीदेखि बालेन्द्र साहप्रति असन्तुष्ट देखिँदै आए।
श्रम संस्कृति पार्टीले सदनमा धर्मनिरपेक्षता, संघीयता, सुशासन, भ्रष्टाचारमुक्त अवस्थाजस्ता विषयमा ध्यान दिनुपर्ने सुझाव उनले दिए। कम समयमा जनजातिको राम्रो समर्थन पाएका राईले राष्ट्रिय राजनीतिमा पनि उस्तै सफलता हासिल गर्न उपमहानगरको जस्तो कामले नपुग्ने उनको भनाइ छ।
करिब साढे तीन वर्षको समयवाधिमा उनले धरानका लागि अपूरा काम धेरै थाँती राखेको बताउँदै डा. तिगेलाले भने, ‘धरानको नेतृत्व गरिरहँदा उहाँले खानेपानीको मुख्य समस्या निराकरण गर्ने प्रयास गरेपनि त्यो पूरा गर्न नसकेको अवस्था छ। धरानको बसपार्कलाई सार्न नसकेको अवस्था छ। तीनकुनेबाट उत्तरतर्फको ६ लेन सडकनिर्माणमा उहाँको भूमिका खासै देखिएन।’
नीति नियम बनाउन स्थानमा पुगिरहँदा राईले विगतको जस्तो आडम्बरीपन, घमण्डीपन र दम्भकारी भूमिका त्याग्नु उचित हुने उनले बताए।
यद्यपि, प्रतिनिधि सभासदस्य राईले जनतामा श्रमदानको भाषा भने फेर्न र त्यसपछि झुकाव बढाउँदै काम गर्ने वातावरण बनाउन सफल भएको डा. तिगेलाको भनाइ छ।
धरान १३ र २० नम्बर वडाको सीमामा पर्ने श्रम पार्क निर्माणले उनको पक्षलाई केही राहत भनेको दिएको छ। उनले नेतृत्वमा हुँदा सुकिलोमुकिलो हुनुपर्ने कुरा खारेज नै गरे।सरकारी सवारीसाधन प्रयोग गर्नुपर्ने जस्ता कुरालाई भने चिर्न सफल भएका छन्। ‘उनी मेयर हुँदा पनि सामान्य देखिए, श्रमदानमा खटिए, ढुंगा बोके र बेल्चा लिएर काम जुट्नु चानचुने कुरा होइन,’ तिगेलाको भनाइ छ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेसँगै राईलाई विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको सहयोग सुरुबाटै रहेको थियो।
यसपटकको निर्वाचनमा उनको पार्टीले सुनसरी क्षेत्र नम्बर १, खोटाङ, र भोजपुरमा जित हात पारेको छ। समानुपातिकतर्फ ४ सिटसमेत गरी प्रतिनिधिसभामा साम्पाङको नेतृत्वमा ७ सिटको श्रमसंस्कृति पार्टीले विपक्षीको भूमिका निर्वाह गर्ने पक्का भएको छ।