- अस्मिता विष्टको पहिलो कविता संग्रह “ब्ल्याकहोलमा गीतहरू” प्रेमिल कविताहरूमा केन्द्रित भएता पनि विविध विषय समेटेको छ।
- कवितामा प्रेमको भिन्न आयाम र नारी संवेदनाको विषयलाई समेट्दै, सहज भाषामा पाठकलाई आकर्षक बनाएको छ।
- विष्टको कविताहरूले युद्ध, सामाजिक मुद्दाहरू, र व्यक्तित्वको पहिचान सहितका विविध विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
पछिल्लो समय तुलनात्मक रूपमा सबैभन्दा धेरै लेखिने विधा कविता हो भनिन्छ । आफ्नो अभिव्यक्तिलाई लक्षणा वा व्यञ्जनाको तहमा पुर्याएर प्रस्तुत गर्न कविता साहित्यका अन्य विधाभन्दा बढी प्रभावकारी पनि देखिन्छ । यसैको प्रभाव कविता लेखनमा परेको पनि हुन सक्छ ।
कविता के हो ? कविता के होइन ? कसरी लेखिँदा कविता हुन्छ ? कसरी लेखिँदा कविता हुँदैन ? कविता कसरी लेख्ने ? कवितामा के लेख्ने ? यी यावत् विषय वर्तमानमा फजुलखर्ची प्रश्नहरू हुन् । कविता उहिले नै विश्वविद्यालयको ‘प्रोफेसर’को परिभाषाबाट बाहिर निस्किसक्यो । कविता कुनै ‘सिनियर’ कविको भूमिकामा लेखिने परिभाषाबाट पनि बाहिर निस्किसक्यो ।
हुन त कवि अस्मिता विष्ट विश्वविद्यालयमै अध्यापनरत छिन् । त्यो पनि अङ्ग्रेजी साहित्य पढाउँछिन् । पश्चिमा साहित्यका खुङ्खार साहित्यकारका कविताहरू उनले दर्जनौँ पटक पढेकी छिन् । सयौँ सयौँ पटक तिनलाई कक्षाकोठामा दोहोर्याएकी छिन् । यिनै अस्मिता विष्टको पहिलो कविता सङ्ग्रह हो- ब्ल्याकहोलमा गीतहरू ।
विषयगत रूपमा केही विविधता भए पनि उनको पहिलो कविता सङ्ग्रहमा मूलतः प्रेमिल कविताहरूले स्थान पाएका छन् । मानवीय जीवनमा प्रेमका अनेकन आयामहरू देखिन्छन् । यसको अभिव्यक्ति कतै बोलीबाट हुनछ त कतै आाखाबाट । कतै स्पर्शद्वारा हुन्छ त कतै शब्दबाट । हो यिनै प्रेमका विविध सौन्दर्यका पहेलीहरूलाई उनले कवितामा निकै बिम्बात्मक हिसाबले प्रस्तुत गरेकी छन् ।
प्रेम के होभन्दा पनि के होइन भन्ने विषय नै प्रधान बनेर देखा पर्दछ । प्रेमलाई विषय बनाएर अक्सर कविले कविता लेखे । त्यही कविता र काव्य कालजयी बने । कसैले प्रेमलाई उदात्त भावनाको स्वत प्रकटीकरणको रूपमा लिए त कसैले शारीरिक सौन्दर्य र त्यसैको प्राप्तिको कमजोर कडीको रूपमा ।
मान्छेले प्रेम किन गर्छ ? के कसैसँग यसको उत्तर छ ? प्रेम गर्छु भनेर गरिन्छ कि आफैँ प्रेम हुन्छ ? भन्न त मानिसले आफूलाई भावनात्मक हिसाबले उत्कृष्ट देखाउन प्रेम आफैँ हुन्छ भन्छन् । तर वास्तविकता ? प्रेमी वा प्रेमिकाको शारीरिक सुन्दरता वा सिधा भाषामा भन्दा शारीरिक बनोट नै प्रेमको प्रथम खुट्किलो हो । त्यसपछि आउँछ विभिन्न मुद्रा या शारीरिक हाउभाउ । कवि अस्मिता वर्तमान समयमा कविताको गोरोटो निकै स्वच्छन्द छ । यसमा कवि विष्टले पनि आफ्नो मौलिक मार्गको अन्वेषण गर्ने प्रयत्न गरेकी छन् । प्रेमको विषयलाई प्राधान्य दिए पनि उनले कविताको प्रतुतिलाई कलात्मक र काव्यात्मक बनाउने निकै पहलकदमी गरेकी छन् ।
सर्वकालिक विषय हो प्रेम । यो यस्तो विषय हो जो कहिल्यै डेट ‘एक्सपायर’ हुँदैन । प्रेमिल किताबहरू जहिले पढ्दा पनि तरोताजा लाग्दछ । विष्टले प्रेमको यस्ता हाउभाउलाई आफ्ना कवितामा निकै गजब किसिमले प्रस्तुत गरेकी छन् । भनिआएका र गरिआएका कुराहरूलाई पनि काव्यातमक हिसाबले प्रस्तुत गरियो भने त्यो निकै सुन्दर हुन्छ भन्ने कुरा उनका कविताहरूमा भेट्न सकिन्छ ।
तर असरल्ल पारिदिन्छे औँला घुसार्दै मेरो कपाल
भन्छे यो संसारमा नसमेटी छाडेको
उसलाई प्रिय लाग्ने
एक मात्र कुरा हो
मेरो घुङ्ग्रिएको कपाल ।
(पृ. ९६)
श्रृङ्गार रसका दुई शिरा छन् । संयोग र विप्रलम्भ । यसलाई साह्रै रेखिय भाषामा बुझ्नुपर्दा प्राप्ति र अप्राप्तिको प्रकटीकरण हो यो । भेट्ने र छुट्टिने स्वरूप ! तर बुझ्नुपर्ने र महसुस गर्नुपर्ने विषय के हो भने माया प्राप्ति हो कि अप्राप्तिको चरमोत्कर्ष ? मायाको अन्तिम विन्दु के हो ? हृदय स्पर्श कि सम्पूर्ण शरीर प्राप्ति ? यहाँ पनि फेरि त्यही कुरा आउँछ । भन्न त प्रेम गर्नेहरूले भन्छन् प्रेम हृदय स्पर्शको विषय हो । तर प्रेमिल चाहना भने शरीर प्राप्ति नै हो । यसको चरमोत्कर्ष एकअर्काको शरीर प्राप्तिमा गएर टुङ्गिन्छ । हो प्रेमको यही वास्तविक स्वरुपलाई कवि विष्टले आफ्नो कवितामा जीवन्त रूपमा प्रस्तुत गरेकी छिन् ।
कृपया
बन्द गर्दिनुस् झ्यालढोका
नचियाउनुस् उघारेर पर्दा
बस्दिनुस् भित्रै केही क्षण
आज उसले प्रेम दर्साउने आँट गर्दैछ ।
जनमौँजन्म तृसित मरुभूमिमा
प्रेमवर्षा गराउने जमर्को गर्दैछ
मायाको मसीले मेरो देहमा
प्रेम-इतिहास रच्ने उद्घोष गर्दैछ ।
(पृ. १५)
यो भन्नु पनि युक्तिसङ्गत नहोला कि कवि विष्ट केवल प्रेम मात्र लेख्छिन् । तुलनात्मक रूपमा प्रेमका कविता धेरै भए पनि उनका कवितामा अन्य समकालीन विषयहरूले पनि स्थान बनाएकै छन् । उनका कवितामा नारी संवदनाको विषय पनि उजागर भएको पाइन्छ । उनका कविताले नारीवादी विचारधारालाई आत्मसाथ गरे पनि कविताले नारा भने पटक्कै बोलेको छैन । पुरुषको अस्तित्वलाई अस्वीकार पनि गरेको छैन । यसले त उदार नारीवादी मान्यतालाई प्रस्तुत गरेको देखिन्छ । महिला भएर बाँच्नुको दैनिन्दीय कृयाकलापले पनि कवितामा स्थान पाएकै छन् ।

कवितामा कतै भने पहिचानको मुद्दा र प्रतिरोधी स्वर तीव्र रूपमा मुखरित भएको देखिन्छ । सामाजिक विषयका मुद्दाहरूले पनि कविको मनलाई हल्का स्पर्श गरेको आभाष कुनकुनै कवितामा मिल्दछ । युवाहरूका विषयले पनि कवितामा स्थान पाएकै छन् । त्यस्तै वर्तमान समयको वैश्विक समस्याको रूपमा रहेको युद्ध र युद्धजन्य समस्यालाई पनि कविले कलात्मक प्रस्तुति गरेकी छन् ।
ओछ्याइएर दरबारको अघिल्तिर
हेरेको छ,
– षड्यन्त्रमा रिँगिएका मस्तिष्क
– युद्धको उन्मादमा होस हराएकाहरू
– हिंसामा उद्विग्न मनहरू
– निर्दयी हातहरूले बगाएको
– आफ्नाहरूकै रगतको बलिन्द्र धारा ।
(पृ. ८६)
स्वभाविक हिसाबले बिम्ब लाक्षणिक हुन्छ र यसले काव्यको अर्थलाई पनि लाक्षणिक बनाइदिन्छ । यही बिम्बात्मक हिसाबले हेर्ने हो भने कवि विष्टको कविता सङ्ग्रह ब्ल्याकहोलमा गीतहरू उत्कृष्ट छन् । उनले हरेकजसो कवितामा विषय र सन्दर्भअनुसारका बिम्ब र प्रतीकहरू प्रयोग गरेकी छन् । शब्दहरूको उच्चाटलाग्दो प्रयोग गरी कवितालाई विना अर्थ लम्बेतान बनाउनुको सट्टा कवितामा आफ्ना विचारलाई परिपाक बनाउन उनले उपयुक्त बिम्बको छनौट गरेकी छन् । सहज र सरल किसिमले प्रयुक्त यस्ता बिम्बहरूले पाठकलाई कहीँ कतै उल्जनमा पारेका छैनन् । अपितु काव्यात्मक स्वादमा अझै मिठासता थपेको अनुभूति हुन्छ ।
म
फैलिएर चट्टानभन्दा बलियो विश्वासको अँगालो
तिम्रो स्वागतमा खडा रहुँला
तिम्रै लागि कलकल झरना बगिरहुँला
राताम्मे गुराँससँग फुलिरहुँला
हिउँभन्दा सेतो कात्रोमै बेरिएछु भने पनि
तिम्रो आगमनको प्रतीक्षामा बाटोजस्तो बाँचिरहुँला युगयरुगसम्म ।
(पृ. ६६)
समग्रमा विष्टको यस कविता सङ्ग्रहका कविताहरूले मानवीय जीवनका अनेकन पहेलीहरूमाथि विमर्श गरेको छ । केन्द्रमा प्रेमलाई राखेर काव्यको सृजना भएको जस्तो आभाष भए पनि अन्तर्यमा यसले वर्तमान समयका विविध विषयलाई प्रस्तुत गरेकै छ । भाषिक सरलता कृतिको अर्को गुणवत्ता हो भन्न सकिन्छ । आम पाठकले नबुझ्ने भरीभरकम शब्द र चलनचल्तीमै नभएका बिम्ब प्रतीक र अलङ्कारको दुरुह प्रयोग गर्ने रोगबाट कवि मुक्त भएको देखिन्छ । समग्रमा यो एक पठनीय काव्य कृतिको रूपमा रहेको छ भन्न सकिन्छ ।