काठमाडौँ – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन। जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ।
लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो।
आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ। योसँगै काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ। त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभाग सल्लाह दिएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी