नारीको सम्मान बिना समृद्ध समाज सम्भव छैन

नारीको सम्मान बिना समृद्ध समाज सम्भव छैन
+
-
देशसञ्चार AI सारांश
  • महिलाले सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा अधिकार र योगदानलाई सम्झने दिनका रूपमा मनाउँदै आएका छन्।

  • वर्तमान महिला दिवस ऐतिहासिक छ, किनकि प्रधानमन्त्री पदमा महिला नेतृत्वले सुल्झाएका चुनौतीहरूको प्रभावले महिलाहरूमा उत्साह बढाएको छ।

  • समाजको लैङ्गिक भेदभाव हटाउन महिला र पुरुषको समान भूमिकाको आवश्यकता छ, र महिला सशक्तीकरणले निष्पक्ष समाज निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्छ।

सन् १९११ देखि विश्वभरिका महिलाहरूले ग्रेगोरियन पात्रोको “मार्च ८” लाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन्। यो दिन महिलाको अधिकार, समानता, सम्मान र उनीहरूले समाजमा पुर्‍याएको योगदानलाई सम्झने दिन हो। इतिहास हेर्दा महिलाहरूले आफ्नो अधिकार र समानताको लागि धेरै संघर्ष गरेका छन्। आजको दिन उनीहरूको त्यही संघर्ष र उपलब्धिलाई सम्मान गर्ने अवसर हो।

यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विशेष रहेको छ। किनकि यतिबेला देशको शीर्ष स्थान प्रधानमन्त्रीको ऐतिहासिक रूपमा एक महिलाले शासन सञ्चालन गर्दै हुनुहुन्छ। जसले धेरै महिलाहरूमा उत्साह पनि भरेको छ। तर हामी हरेक वर्ष मार्च महिनाभरि महिलाका मुद्दालाई शीर्ष स्थानमा राखेर गोष्ठी, सभासम्मेलनलगायत अनेकौँ कार्यक्रम गर्छौँ, बन्द कोठाभित्र महिलाका मुद्दालाई जोडदार रूपमा छलफल गर्छौँ र त्यहीँ छोडेर हिँड्छौँ। तर अब यस्तो शृंखला तोडिनु पर्छ। मार्च महिना केवल महिलाका मुद्दाका लागि मात्र भनेर चिनिनु हुँदैन। महिलाका उपलब्धि, उनीहरूले हासिल गरेका सफलता र उनीहरूले बहादुरीका साथ सामना गरेका चुनौतीका बारेमा पनि चर्चा हुनुपर्छ।

कृषिमा आधारित समाज व्यवस्थामा हिजो घरका चुलोचौकामा सीमित रहेका महिलाहरू आज घरबाहिर निस्केर आफ्नो निम्ति लड्न सक्ने र देशलाई हाँक्न सक्ने स्थानमा पुगेका छन्। सात समुद्रपारी पुगेर आफ्नो घरपरिवारलाई सम्हाल्न सक्ने दक्षता समेत बोकेका छन्। यसरी दिनप्रतिदिन समाजको विकास, शिक्षाको पहुँचसँगै महिलाले बिना पूर्वाग्रह पाएका यी अवसर आधा जनसंख्याको हिस्सा ओगटेर पनि अवसरबाट वञ्चित भयौँ भन्ने सबैका लागि उदाहरण र प्रेरणाको स्रोत पनि हो।

तर फेरि केही महिलाहरू घरबाट बाहिर निस्किए भन्दैमा देश समृद्ध भयो अथवा महिलाका दुःख सकिए भन्ने पक्कै होइन। आज पनि अधिकांश महिलाहरूलाई घरबाट बाहिर निस्कन कैयौँ लडाइँ लड्नु पर्छ। कैयौँका आँखा छल्नु पर्छ। कैयौँ वचनहरूले मर्माहत हुनु पर्छ। समाज जति नै बदलिए पनि महिलाको निम्ति समाज अझै बदलिन सकेको छैन। अझ भनौँ बदलिन नै चाहँदैन।

आज पनि हाम्रो समाज छोरीलाई शिक्षित बनाएर स्वावलम्बी बनाउनु भन्दा “छोरीलाई केवल जिम्मेवारी मात्र मानेर कन्यादान गरी पतिको घर पठाएपछि ढुक्क हुन्छ” भन्ने मान्यतालाई अँगालेर बसेको छ भने अर्कोतिर राज्य छोरीहरूका निम्ति उदार हुँदै छ कि जस्तो लाग्छ। केही वर्षअघि मात्र छोरीको आगामी शिक्षाको निम्ति भनेर कर्णाली प्रदेशले “छोरी बचत खाता खोल्ने अभियान” सुरु गरेको थियो। जुन अहिले कर्णाली प्रदेशका हरेक जिल्लामा लागू भएको छ। यसरी राज्यले छोरीलाई पढाउनका निम्ति त्यहाँका अभिभावकलाई अभिप्रेरित गरेको छ। जुन राज्यको सकारात्मक पक्ष हो। र यो सानो उदाहरणबाट छोरीहरूको स्थिति आज पनि हाम्रो समाजमा कुन अवस्थामा छ भनेर थाहा हुन्छ।

अर्को कुरा, आधाभन्दा बढी महिला जनसङ्ख्या भएको हाम्रो देशमा भर्खरै सकिएको प्रतिनिधि सभाको टिकटका लागि महिलाहरू सीमित संख्यामा खुम्चिनु परेको थियो। जब कि यही देशको शीर्ष स्थानको नेतृत्व महिला प्रधानमन्त्रीले गरिरहनु भएको छ। निर्वाचनको मतदान गर्ने क्रममा पुरुषभन्दा महिलाको संख्या बढी भएको देशमा मतदान गर्ने संख्यामा महिलाभन्दा पुरुषको संख्या बढी रहन गएको थियो। यसरी पनि थाहा हुन्छ कि हाम्रो राज्य महिलाका हकअधिकारका निम्ति कति गैरजिम्मेवार छ भनेर, जुन हामीजस्ता हरेक विकासको गति पछ्याइरहेको मुलुकका महिलाको हालको अवस्था पनि हो।

सीमोन द बोभ्वार भन्छिन्: “यदि इतिहासमा धेरै कम स्त्रीहरू प्रतिभाशाली भएका छन् भने, यसको कारण उनीहरू स्त्री हुनु होइन, बरु यो समाज हो, जसले स्त्रीका सारा अभिव्यक्तिलाई नियन्त्रण गरिरहन्छ, उनीहरूलाई प्रत्येक सुविधाबाट वञ्चित राख्दछ। बुद्धिमान स्त्रीको पनि सार्वजनिक हितहरूको लागि आहुति दिइदिइन्छ। यदि उनीहरूलाई विकासको पूरा अवसर मिल्यो भने, यस्तो कुनै काम छैन जुन उनीहरू गर्न नसकून्।” युरोपेली समाजको तत्कालीन स्थितिको प्रतिक्रियामा उनको यो भनाइका कतिपय सन्दर्भ हाम्रो समाजमा पनि मिल्न जान्छ। आज पनि यहाँ धेरै छोरीहरू पितृसत्ताको शिकार हुन पुगेका छन्। उनीहरूका निम्ति कुनै आकाश नै नभएजस्तो छ र यदि उनीहरूलाई कसैले आकाश दिन्छ भने पनि पखेटा काटेर उनीहरूलाई उडान भर्ने आदेश दिइन्छ। यो दोहोरो चरित्र बोक्ने समाजको एउटा स्वरूप हो।

म चकित त तब हुन्छु जब देश र समाज परिवर्तन हुनुपर्छ भन्नेहरूले, देश र समाज परिवर्तन भएको देख्न चाहनेहरूले महिलाको जीवनमा परिवर्तन भएको कत्ति पनि देख्न सक्दैनन्। महिलाले शीर्ष स्थानमा रहेर देशको नेतृत्व सम्हालेको कुरालाई स्वीकार गर्न सक्दैनन्।

आज विश्व समाजले कैयौँ हदसम्म कोल्टो फेरिरहँदा हाम्रा लडाइँहरू सानै विषयमा केन्द्रित छन्: त्यही चुलोचौको, त्यही छाउपडी, त्यही लैङ्गिक हिंसा आदि। समान शिक्षा, तालिम, व्यक्तित्व विकास र समान सहभागिताका बारेमा सामाजिक संरचनाले अलिक अगाडि गएर सोच्न किन चाहिरहेको छैन, अझ भनौँ किन हिम्मत गरिरहेको छैन?

आज पनि हामीजस्ता युवा महिलाहरूका लागि अनेकौँ चुनौतीहरू यो समाजले खडा गरेर बसेको छ। घरबाट बाहिर निस्कँदा होस् वा काम गरेर कार्यालयबाट निस्कँदा होस्, यो समाजका अवाञ्छित नजरहरू परिरहेकै हुन्छन्। निर्मला पन्त लगायत दर्जनौँ संगीन अपराधका मुद्दाहरू अझै सुल्झिएका छैनन् र पीडितहरू डराउनुपर्ने तथा पीडकहरू निर्धक्क र स्वतन्त्र हिँडिरहेको देख्दा हरेक महिलालाई त्रसित पारिरहेको हुन्छ। यहाँ ओठ खुलेर हाँस्ने वातावरण नभएको महसुस हुन्छ। खुलेर आफ्ना कुरा राख्ने ठाउँ भेट्न कठिन भइरहेको हुन्छ। फेरि पनि भन्छन् “महिला दिवस तिम्रो हो” भनेर। वर्षको एक दिन दिएर सम्पूर्णता दियौँ भनेर गर्व गर्ने यो समाज अनि यो राज्य प्रणाली बहुसंख्यक महिलाका लागि कठोर र विभेदपूर्ण छ।

त्यसैले अब हामी प्रत्येक महिलाले यो बुझ्नुपर्छ कि हाम्रो लडाइँ हामीमा मात्र सीमित छैन। यो लडाइँ ती छोरीहरूका लागि पनि हो, जो जन्मिन नै बाँकी छन्। जसले भोलिका दिनमा हामीप्रति गर्व गर्नेछन्। हामीले आजका दिनमा यस्तो वातावरण तयार गर्नुपर्नेछ जसमा उभिँदा हाम्रा छोरीहरूले सुखको स्वास फेर्न सकून्। यो विभेदकारी सोच बोकेको समाजको भयबाट मुक्त हुन सकून्।

हालसालै संसारमा चर्चामा रहेको एप्सटिन फाइल र त्यसले सतहमा ल्याएको खासगरी धनाढ्य र उच्च शासक वर्गबाट कलिला नाबालिकाहरूको चरम शोषणको लामो शृंखलाबारे चर्चा चलेसँगै तिनका रोदन र रगतका छिटाहरूका संवेदनाबाट हामीले वर्तमानमा महिला हक-अधिकारका विषयमा गर्ने बहसका पाटो पनि केही फरक र फराकिलो पार्नुपर्ने अनुभूति भएको छ।

भोलिको निम्ति आज हामी सम्पूर्ण महिलाहरूको एउटै हुङ्कार हुनुपर्छ। तब मात्र समाजको महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ। कागजमा लेखिएका समानताका शब्दहरू अब अर्थसहित व्यवहारमा प्रयोग हुनुपर्छ। हर दमन, अतिक्रमण र प्रभुत्ववादी सोचलाई परास्त गर्नका निम्ति महिला र पुरुषको समान भूमिकाको आवश्यकता छ। तब मात्र एउटा राज्य असल राज्य बन्नेछ भन्ने दृष्टान्तहरू निर्माण गर्दै जानुपर्छ।

महिला अधिकारको कुरा गर्दैगर्दा त्यहाँ सधैँ पुरुषलाई विपक्षमा राखेर मात्र पनि बहस गरिनु हुँदैन। महिलाको अधिकारका लागि पुरुष पनि खुलेर अगाडि आउनुपर्छ र आफ्नो सहभागिता जनाउनुपर्छ। जबसम्म महिला र पुरुषको भूमिका समान रहँदैन, महिला एकको मात्र प्रयासले यो समाज बदलिँदैन। यो के कारणले पनि आवश्यक छ भने जति महत्व एउटा पुरुषको जीवनमा महिलाको रहन्छ, त्यति नै महत्व एउटा महिलाको जीवनमा पुरुषको रहेको छ। दुई जना एकअर्काका सधैँ परिपूरक हुन्छन्। जसले यो समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेका छन्। खासगरी पिता, दाजुभाइ, गुरु, मित्र अनि पुत्र—जुन अवस्थाको पुरुषले पनि महिलालाई आफ्नो स्थानबाट स्त्रीगत अस्तित्वको सम्मान गर्नुपर्छ।

अब आम रूपमा यो दिवस सबैको हुनुपर्छ। मार्च ८ केवल सरकार र एनजीओको कमाइ खाने भाँडो होइन। पूर्व मेचीदेखि कर्णाली, सुदूरपश्चिम र मधेसका महिलाले समेत यसको आभास गर्न सकून्। त्यसका लागि हामी महिलाहरूको एकल प्रयासले मात्र सम्भव हुँदैन, सम्पूर्ण पुरुषको साथ आवश्यक पर्दछ। सबै क्षेत्रमा हामी सबैले महिलालाई सम्मान गर्ने, उनीहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई अघि बढ्न सहयोग गर्ने संकल्प गर्नुपर्छ। महिला सशक्तीकरणले मात्र समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्न सक्छ र महिलाहरूको समानता सहितको प्रतिनिधित्व हुनेछ। यो नै नारी दिवसको अभिप्राय हो। किनकि “मार्च ८” कुनै रमाइलो दिन होइन, यो हरेक महिलाको र विशेषगरी श्रमिक महिलाको दिन हो। महिलाहरूले आफ्नो अधिकार र अस्तित्वका लागि लामो सङ्घर्षपछि हासिल गरेको प्रतिफल हो।

यो दिन ती सम्पूर्ण श्रमिक महिलाहरूमा समर्पित छ। जसले दिनरात नभनी आफ्नो घरपरिवार, समाज र राज्यका निम्ति अहोरात्र खटिएर परिश्रम गरिरहेका छन्। ती चाहे घरमा खाना बनाउने गृहिणी हुन्, चाहे खोलाकिनारमा बसेर रूढी कुट्ने महिलाहरू हुन्, चाहे सडक किनारमा बसेर मकै बेच्ने महिलाहरू हुन्, चाहे देश हाँक्न बसेकी देशकी प्रधानमन्त्री नै किन नहुन। हरेक महिलाको परिश्रमको मूल्य मूल्यवान छ। समान छ। शुभकामना ती प्रत्येक महिलालाई जसले “मार्च ८” लाई “मार्च ८” बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। र धन्यवाद ती प्रत्येक पुरुषलाई जसले हरेक नारीलाई नारी मानेर सम्मान गरेका छन्। उनीहरूको हात थामेर उनीहरूको हौसला बढाएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?