जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चार जनामध्ये दुई जनाको अवस्था खराब रहेको छ।
मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका रहवर अन्सारी जितनजिक पुगेका छन् भने नेकपा एमालेको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका रामचन्द्र मण्डल प्रतिस्पर्धामा रहेका छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका भरतप्रसाद साह धेरै पछाडि परेका छन्।
बारा ४ बाट रास्वपाबाट उम्मेदवार रहेका अन्सारीले ४१ हजार २ सय मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठले ११ हजार ६३९ मत पाएका छन्।
धनुषा १ मा एमालेका रामचन्द्र मण्डलले १ हजार ९७१ मत पाउँदा उनका निकटमत प्रतिद्वन्दी नेपाली कांग्रेसका रामपल्टन साहले १ हजार ८५३ मत पाएका छन्। यस्तै, नेकपाका मातृका प्रसाद यादवले १ हजार ६४१ मत ल्याएका छन्। यस क्षेत्रमा रास्वपाबाट किशोरी साह कमल उम्मेदवार बने पनि फागुन १९ गते निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
सप्तरी २ मा जनमत पार्टीको मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले १ हजार ३०४ मत पाएका छन्। यस क्षेत्रमा रास्वपाका रामजी यादवले ६ हजार ८७५ मत ल्याएर पहिलो स्थानमा रहेका छन् भने जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले ३ हजार ७७१, जनमतका डा. सीके राउतले २ हजार ९३५ मत पाएका छन्।
यस्तै, महोत्तरी ४ मा प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका भरतप्रसाद साहले ८४४ मत पाएका छन्। यस क्षेत्रमा रास्वपाका गौरी कुमारीले ५ हजार ७२७ मत ल्याएर पहिलो स्थानमा रहेकी छन् भने जसपा नेपालका सुरेन्द्र कुमार यादवले १ हजार ८०२, कांग्रेसका महेन्द्र कुमार रायले १ हजार ४६५, नेकपा एमालेका निलम अधिकारीले १ हजार १६८ मत पाएकी छन्।