मोरङ – प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङमा अपराह्न ४ बजेसम्म ५१ दशमलव ९४ प्रतिशत मत खसेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार हालसम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रमा ४ लाख ६ हजार ७ सय १५ मत खसेको हो। कार्यालयका अनुसार १ सय ५१ वटा मतदान केन्द्र संख्या रहेको क्षेत्र नम्बर १ मा ५२ दशमलव १६ प्रतिशत मत खसेको छ। जसअनुसार सो क्षेत्रमा ६७ हजार ४९ जनाले मताधिकार प्रयोग गरिसकेका छन्।
त्यसैगरी, १ सय ५४ वटा मतदान केन्द्र रहेको क्षेत्र नम्बर २ मा ५६ हजार ३ सय ९६ मत खसेको छ। जसअनुसार यो क्षेत्रमा ४४ दशमलव ६० प्रतिशत मत खसेको हो। मोरङ क्षेत्र नम्बर ३ मा ४५ दशमलव ८८ प्रतिशत अर्थात ७२ हजार ५ सय १४ मत खसेको छ।
मोरङको क्षेत्र नम्बर ४ मा भने ५७ दशमलव ४९ प्रतिशत मत खसेको छ। जहाँ ६८ हजार ५ सय ६० मतदाताले आफ्नो अधिकार प्रयोग गरेका छन्। मोरङको क्षेत्र नम्बर ५ मा भने ५८ दशमलव ४२ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। सो क्षेत्रमा हालसम्म ६४ हजार ३ सय ६६ मत खसेको छ।
मोरङ क्षेत्र नम्बर ६ मा भने ५६ दशमलव ४७ प्रतिशत मत अर्थात कुल मतको ७७ हजार ८ सय ३० मत खसेको छ। मोरङको कुल ८ सय ८८ मतदान केन्द्रमा कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये अपराह्न ४ बजेसम्म ४ लाख ६ हजार ७ सय १५ मत खसिसकेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार मोरङका सबै निर्वाचन क्षेत्रमा हालसम्म शान्तिपूर्वक मतदान कार्य भइरहेको छ।