- इरानले दुबई र अबु धाबीका विमानस्थलहरूमा गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन्।
- इरानको आक्रमणको कारण हजारौं उडानहरू रोकिएका छन्, जसलाई कोभिड-१९ महामारीपछि हवाई यात्रामा गम्भीर अवरोध मानिएको छ।
- इरानले अमेरिकासँग सम्बन्धित देशहरूमा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रयोग गरी हमला गरेको छ, यसले ठूलो क्षति पुर्याएको छ।
इरानले दुबई र अबु धाबीका विमानस्थलहरूमा गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। अमेरिका र इजरायलले इरानमाथि जारी राखेको व्यापक आक्रमणको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न स्थानमा हमला गर्दै आएको छ।
अबु धाबीका अधिकारीहरूले दिएको जानकारी अनुसार जयद अन्तर्राष्ट्रिय एयरपोर्टलाई लक्षित गरि प्रहार गरिएको ड्रोनलाई रोक्दा ड्रोनका टुक्रा झरेर लाग्दा एक जनाको मृत्यु भएको र सात जना घाइते भएको जनाइएको छ।
त्यस्तै दुबइ अन्तर्राष्ट्रिय विमानस्थल यात्रु चापका आधारमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ। उक्त विमानस्थलमा पनि अर्को एउटा घटनामा चार जना कर्मचारी घाइते भएको जनाइएको छ। यसबारे थप विवरणहरु सार्वजनिक गरिएको छैन।
यस घटनापछि क्षेत्रका हजारौं उडानहरू रोकिएका छन्। कोभिड-१९ महामारीपछि विश्वव्यापी हवाई यात्रामा देखिएको सबैभन्दा गम्भीर अवरोधमध्ये यो एक मानिएको छ। खाडी क्षेत्रभर इरानले ब्यालेस्टिक मिसाइल र ड्रोन प्रयोग गरी अमेरिकी सहयोगी देशहरू र सम्पत्तिलाई लक्षित गर्दै ठूलो स्तरका आक्रमण गरेको जनाएको छ।
शनिबार बिहान अमेरिका–इजरायलद्वारा सुरु गरिएको हवाई कारबाहीका क्रममा इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले यस्तो कदम चालेको हो।
कतार, बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा इरानले निशाना बनाइरहेको छ। ति क्षेत्रमा तैनाथ मिसाइलहरू लाइ ध्वस्त पारिएपनि झरेका टुक्राका कारण व्यापक क्षति भएको देखिएको छ।