काठमाडौँ– फागुन २१ गते चुनाव आउन पाँच दिन बाँकी छ। चुनावको मुखमा संघीय राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘रोड शो’ गरेको छ।
शनिबार बिहान काठमाडौँस्थित गौशालाबाट सुरु भएको ‘रोड शो’ भक्तपुर हुँदै ललितपुरदेखि रास्वपाको केन्द्रीय काल्यालय चौमतीमा पुगेको छ।
रोड शोमा रास्वपाका सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायत उपत्यकाका विभिन्न क्षेत्रका रास्वपाका उम्मेदवार सहभागी छन्। रास्वपाको रोड शोलाई ठाउँठाउँमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए।
कतिपय ठाउँमा लामो समय कुर्दा पनि उनीहरूको रोड शोलाई हेर्न सडकमा केही समर्थकहरू जम्मा भए। तर डेढ-दुई घण्टा कुरेर बसेका समर्थकलाई दुई मिनेट समय नदिएर लामिछाने र शाहले हात हल्लाउँदै म्याराथन रोड शो गरे।
ललितपुरको पुलचोकमा उनीहरू आउन समय १ बजे तोकिएको थियो। तर एक घण्टा ढिला गरी सवा २ बजे मात्र उनीहरू उपस्थित भए। उनीहरूको उपस्थितिलाई करिब ४०-५० जना समर्थहरूले स्वागत गरे।
उनीहरूको स्वागत र कुरा सुन्न आएका समर्थकहरूलाई भने लामिछाने र शाहले कुनै सम्बोधन गरेनन्। मात्र हात हल्लाएर धन्यवाद व्यक्त गरे। करिब दुई घण्टादेखि उनीहरुको पर्खाइमा रहेकाहरूलाई मात्र रवि-बालेनले २ मिनेट पनि समय दिएनन्।
तस्बिरहरू

