मोरङ – संखुवासभाको मकालु गाउँपालिकास्थित अरुण नदीको फलामे बेलिब्रिज भाँचिँदा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार गाउँपालिकाको वडा नम्बर २ र ५ को सीमास्थित नुम सेदुवामा पर्ने अरुण नदीमा बनाइएको फलामे बेलिब्रिज भाँचिँदा मधेश प्रदेश ०३–००१ क २९२० नम्बरको सिमेन्ट लोड गरिएको ट्रक दुर्घटनाग्रस्त भएको हो। ट्रक नदीमा खसेको छ।
दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसेका ४० वर्षीय ट्रक चालकअर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए। दुर्घटनाको खबरसँगै प्रहरीले गम्भीर घाइते भएका चालक श्रेष्ठको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र नुम पठाइएको जनाएको छ।
नदीमा झोलुंगे पुलमुनि सो क्षेत्रमा रहेका विभिन्न हाइड्रोपावर कम्पनीको सरसमान ढुवानीका लागि बेलिब्रिज बनाइएको बताउँदै प्रहरी नायब उपरीक्षक मैनालीले घटना बिहान करिब ९ बजे भएको जानकारी दिए।
उनका अनुसार सिमेन्ट लोड गरिएको ट्रक दुर्घटनास्थलमै रहेको छ र सडकखण्ड हाल पूर्णरुपमा अवरुद्ध रहेको छ।