- औरही गाउँपालिका–६ स्थित खेतमा १८ वर्षीय सुमित मण्डलको शव घाँटी रेटिएको तथा हात बाँधिएको अवस्थामा फेला परेको थियो।
- प्रेम सम्बन्धका कारण विवाद उत्पन्न भई सुमितको हत्या भएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुखले जानकारी दिए।
- यस घटनामा संलग्न रहेका काजलकुमारी मण्डल, उनका दाजु र काकालाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधाम – धनुषामा प्रेम सम्बन्धको विषयलाई लिएर एक युवकको हत्या भएको तथ्य सार्वजनिक भएको छ। बिहीबार दिउँसो करिब ४ बजे औरही गाउँपालिका–६ स्थित खेतमा हंसपुर नगरपालिका–९ रुदौलीका १८ वर्षीय सुमित मण्डल मृत अवस्थामा फेला परेका थिए।
स्थानीयवासीले घाँटी रेटिएको तथा दुबै हात बाँधिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६ की १७ वर्षीया काजलकुमारी मण्डलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको दिन घरमा कोही नभएको अवसरमा किशोरीले सुमितलाई बोलाएको र सोही क्रममा उनका काका परमेश्वर मण्डलले देखेपछि विवाद उत्पन्न भएको प्रहरीको भनाइ छ। त्यसपछि परमेश्वरले काजलका दाजु २० वर्षीय दिपेशकुमार मण्डललाई बोलाई दुवैले मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी कुटपिट गरेका थिए।
कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखी घरबाट टाढा रहेको खेतमा लगेर घाँटी रेटी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।
प्रहरीले हत्या आरोपमा काजलकुमारी मण्डल, उनका दाजु दिपेशकुमार मण्डल र काका परमेश्वर मण्डललाई पक्राउ गरेको छ। आरोपितहरूले सुमितको मोटरसाइकल अन्यत्र लुकाएको अवस्थामा प्रहरीले उक्त मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
प्रारम्भीक अनुसन्धानमा किशोरीले घटनालाई लुकाउने प्रयास गरिएको देखिएको प्रहरी उपरीक्षक कुँवरले बताए।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।