निर्वाचन नजिकिँदै गर्दा दलहरू माहोल बनाउन व्यस्त

निर्वाचन नजिकिँदै गर्दा दलहरू माहोल बनाउन व्यस्त
+
-
देशसञ्चार AI सारांश
  • निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिममा दलहरूले प्रचार–प्रसार तीव्र बनाउँदै, आफ्नो आन्तरिक विश्लेषण र जितको दाबी गरेका छन्।
  • नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा १६ क्षेत्रमध्ये ८ सिट जितेको र अहिले १६ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ।
  • एमालेले सात सिट सुरक्षित राख्दै प्रदेशमा १२ सिट जित्ने दाबी गरेको छ भने नेकपाले १४ सिटमा प्रतिस्पर्धा गर्नेछ।

धनगढी- निर्वाचन नजिकिएसँगै सुदूरपश्चिममा दलहरूले प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। सबै दलहरू जित्ने दाबी सहित चुनावी अन्तिम तयारीमा जुटेका छन्। मतदानको दिन नजिकिँदै गर्दा सुदूरपश्चिममा रहेका १६ निर्वाचन क्षेत्रबारे पनि अनुमान लगाउने क्रम बढ्दो छ। दलहरूले आफ्नो आन्तरिक विश्लेषण गरेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ क्षेत्रमध्ये नौ सिटमा उम्मेदवार उठाएको नेपाली कांग्रेसले आठ सिटमा विजय हासिल गरेको थियो। माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको कांग्रेसले लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भयो। कांग्रेस उम्मेदवार कैलाली–४ र ५, कञ्चनपुर–२ र ३, अछाम–२, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकाल्न सफल भएका थिए। सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार रामजनम चौधरी थिए। उनी कैलाली–१ मा उम्मेदवार थिए। चौधरीलाई तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीले पराजित गरेकी थिइन्।

अहिले कांग्रेसले २१ फागुनको निर्वाचनका लागि १६ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ। आसन्न निर्वाचनमा प्रदेशमा सिट थपिने कांग्रेसको आन्तरिक विश्लेषण छ। यसपटक सबै क्षेत्रमा उम्मेदवार भएका कारण सिट थप हुने दाबी कांग्रेसको छ। कांग्रेसले कैलाली–१, ४ र ५, कञ्चनपुर–२ र ३, अछाम–१, डडेल्धुरा, बाजुरा, डोटी र बैतडीमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरेको छ। तर निवर्तमान सभापति देउवाको मौनता र अनुपस्थितिका कारण कांग्रेसलाई भने जस्तो सहज छैन।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा अघिल्लो निर्वाचनको हैसियत गुमाएको थियो। २०७४ सालको निर्वाचनमा एमालेले मात्रै ११ सिट जितेको थियो। तर २०७९ सालको निर्वाचनमा एमालेले १६ वटै क्षेत्रमा उम्मेदवार हुँदा पनि दुई सिटमा मात्रै जित निकाल्न सकेको थियो। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी विजयी भएका थिए।

यसपटकको निर्वाचनमा एमालेले प्रदेशमा १२ सिट जित्ने उपमहासचिव लेखराज भट्टको दाबी छ। तर एमालेको आन्तरिक विश्लेषणमा सात सिट सुरक्षितमा राखिएको छ। कैलाली–२ र ४, कञ्चनपुर–३, अछाम–२, बैतडी, दार्चुला र बझाङमा चुनाव जित्ने एमालेको आन्तरिक विश्लेषण छ। डडेल्धुराबाहेक अन्य क्षेत्रमा पनि एमाले उम्मेदवार मुख्य प्रतिस्पर्धामा रहेको दाबी गरिएको छ।

२०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेशमा सरकार तत्कालीन माओवादी केन्द्रको थियो। अन्य प्रदेशमा बेलाबेला मुख्यमन्त्री नै फेरिए पनि सुदूरपश्चिममा भने पाँच वर्ष नै मुख्यमन्त्री चलाएका थिए, माओवादी केन्द्रका त्रिलोचन भट्टले। तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी केन्द्र सुदूरपश्चिममा शून्य भयो। नेकपामा सम्मिलित एकीकृत समाजवादीले भने लडेका तीनवटै सिटमा जित निकालेको थियो। यस्तै नेकपामै मिलेको नागरिक उन्मुक्तिले सुदूरपश्चिममा तीन सिट जितेको थियो। आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राम्रो प्रदर्शन गर्ने विश्लेषण नेपाली कम्युनिस्ट पार्टीको छ। सुदूरपश्चिममा १६ मध्ये १४ सिटमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा रहेको नेकपाका नेताहरूको भनाइ छ। पाँच सिटलाई भने उसले सुरक्षित सूचीमा राखेको छ। कैलालीमा तीन, कञ्चनपुरमा एक र अछामको एक क्षेत्रलाई नेकपाले जित्ने सूचीमा राखेको हो।

सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनाधार अन्य प्रदेशभन्दा कमजोर छ। गत निर्वाचनले पनि त्यही देखाएको थियो। उसले प्रदेशमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेको थिएन। समानुपातिक मत पनि रास्वपाले नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रभन्दा निकै कम पाएको थियो।

यसपटकको निर्वाचनमा प्रदेशमा कम्तीमा पनि चार सिटमा जित निकाल्ने आन्तरिक विश्लेषण रास्वपाको छ। कञ्चनपुर र कैलालीको एक–एक क्षेत्र जितिने रास्वपाको आन्तरिक आकलन छ। कञ्चनपुर–२ र कैलाली–२ मा जित हुने आकलन रास्वपाको छ। यस्तै अछाम–२ र बैतडीलाई पनि रास्वपाले जित्ने सूचीमा राखेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?