- जयपाल माैर्यले ९० कठ्ठामा आलु खेतीबाट १९ लाख कमाएका थिए र यसपाली ११ कठ्ठा थपेका छन्।
- आलु खन्न मेसिनले मजदुरको काम घटाएर माैर्यलाई आलु उत्पादनमा समय र श्रम बचाउन सघाइरहेको छ।
- हिरमिनियामा १५० भन्दा बढी घरपरिवारले आलु खेती गर्दै आएका छन् र स्थानीय उत्पादन भारतसँग प्रतिस्पर्धा गर्छ।
नेपालगन्ज – बाँके हिरमिनियाका जयपाल माैर्य आलु खेतीमा रमाएका छन्। जिल्लाकाे आलु पकेट क्षेत्र मानिने हिरमिनियामा माैर्य धेरै आलु खेती गर्ने किसानमा पर्छन्।
गतवर्ष ९० कठ्ठामा आलु खेती गरेका माैर्यले यसपाली एक सय एक कठ्ठामा आलु लगाएका छन्। ९० कठ्ठामा आलु लगाउदा ७ सय २० क्वीन्टल फलेकाे थियाे। माैर्यले १९ लाखकाे आलु बेचे। बीउ, पानी, मल, मजदुरकाे खर्च कटाएर माैर्यले १३ लाख आम्दानी गरेका थिए।
यसपाली ११ कठ्ठा थपेर एक सय एक आलु लगाएका छन्। प्रतिकठ्ठा ८ देखि ९ क्वीन्टल फल्ने माैर्यकाे आकलन रहेकाे छ।
धेरै जग्गामा आलु खेती गर्ने किसानकाे पहिचान बनाएका माैर्यले आलु लगाउने र खन्ने मेसिन खरिद गरेका छन्। यतिबेला माैर्य मेसिनले निकाल्ने र मजदुर लगाएर आलु टिप्न व्यस्त छन्। आलु खन्ने मेसिन प्रयाेग गर्दा मजदुरकाे काम टिप्ने मात्रै भएकाे छ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ मा पर्ने हिरमिनियासँगै भङ्घाेट्ना, कालाबन्जार, चाैधरीपूर्वा, मुन्सीपूर्वाका एक सय ५० बढी घरधुरीले आलु खेती गर्ने गर्दछन्। यहाँ दुई कठ्ठादेखि एक सय एक कठ्ठामा आलु खेती गर्ने किसान छन्। माैर्यले आलुकाे बीउ उत्पादन गर्छन्। उत्पादित आलु काेल्डस्टाेरमा राखेर अन्यत्र जिल्लासमेत पठाउँछन्। केही जिल्लामै बेच्छन्।
हिरमिनियामा आलुसँगै अन्य तरकारी खेती पनि हुन्छ। साना किसानले उत्पादन गरेका आलु र तरकारी नेपालगन्ज ल्याएर बेच्ने गरिन्छ। खेतमै बाेरिङ गाडेर पानीकाे सुविधा पुर्याएका किसानले आलुलगायत तरकारी खेती गरेर आम्दानी गरिरहेका छन्। भारतीय सीमासँग जाेडिएकाे हिरमिनियाका किसानले भारतबाट आउने आलुसँग नै प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता रहेकाे छ।
यतिबेला हिरमिनियाका किसान आलु निकाल्नमा व्यस्त छन्। थाेरै जग्गामा आलु लगाएका किसानले पनि जाेतेर आलु निकालिरहेका छन्। उत्पादित आलु ५ किलाेकाे ८० रुपैयाँमा बेचिरहेका छन्।