चन्द्रपुर (रौतहट)- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए ।
उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उनले बताए।
तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ । गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको गौर कारागार प्रमुख प्रदीप पौडेलले जानकारी दिए।
उनीहरूलाई मतदान गर्न कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको उनले जानकारी दिए। जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । अठारवटा पालिका रहेका यहाँ यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता छन् ।