- भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिरमा भीमसेनको लिङ्ग झुण्ड्याएर चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ।
- पुरानो जनविश्वासअनुसार लिङ्ग पखालेर ल्याउने व्यक्तिले पुत्रलाभ हुने र व्यापारमा उन्नति हुने मान्यता छ।
- राजा जगतप्रकाश मल्लले बनाएको मन्दिरमा १७औं शताब्दीबाट लिङ्ग प्रदर्शनको प्रचलन रहेको विश्वास गरिन्छ।
भक्तपुर- भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भीमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ ।
यसरी लज्जा बोकेर पखालेर ल्याउने व्यक्तिको पुत्रलाभ हुने जनविश्वास छ । लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा परिक्रमा गराइएको थियो ।
घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीत गाउँदै नगर परिक्रमा गराएको थियो ।
फागुपूर्णिमाको दिन साँझपख यसै लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला नपरे पनि राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको यस मन्दिरमा सोही बेलादेखि यो प्रचलन रहेको बताउँदै आएको छ ।
फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो ।