- माधव थापाले झापामा प्रहरीलाई देखेर प्रहरी सेवामा लाग्न प्रेरित भएको बताएका छन्।
- थापाले आन्दोलनका क्रममा आफ्नो टाउको फुटेको तर नेताहरूसँग कहिल्यै नराम्रो सम्बन्ध नभएको बताएका छन्।
- उनले प्रहरी नेतृत्वले जेनजी आन्दोलनका बेला कुनै तयारी नगरेको र नैतिक भाव कमजोर रहेको बताए।
देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले सशस्त्र प्रहरीका पूर्वडिआइजी माधव थापालाई निम्त्याएका छौँ। २०६६ सालमा सशस्त्र प्रहरीबाट अवकाश पाएका थापा कुनै समय भीड नियन्त्रणका पर्याय नै बनेका थिए।
झापामा स्थानीय प्रहरीहरूले आफ्नो समूहलाई देखिनसहेपछि आफूले प्रहरीमा लाग्न प्रेरणा पाएको बताउँछन् थापा। २०३५ सालमा सहायक निरीक्षक पदबाट प्रहरी सेवामा लागेका थापाले ३० वर्षपछि २०६६ सालमा सशस्त्र प्रहरीको डिआइजीबाट अवकाश पाएका थिए।
उनले काठमाडौँ, भक्तपुर र ललितपुर हेर्ने तत्कालीन नगर प्रहरीमा २२ वर्ष बिताएका थिए। प्रहरी सहायक निरीक्षक पदबाट काम सुरु गरेका उनले नायव प्रहरी उपरीक्षक पदमा रहँदासम्म नगर प्रहरीमा काम गरेका थिए।
विद्यार्थी र नेताहरूसँग थुप्रैपटक झडपका क्रममा आफ्नो धेरैपटक टाउको फुटेको र आफूले पनि धेरैको टाउको फुटाएको तर कहिल्यै उनीहरूसँग नराम्रो सम्बन्ध नबनेको अनुभव पनि सुनाउँछन् थापा। कुनै समय भने वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको झुक्केर टाउको फुटाइदिएको र पछि उनीसँग यसबारे कुराकानी भएको स्मरण गर्छन् उनी।
प्रहरीहरू नेताको घर धाउन थालेपछि प्रहरी संस्थाको छवि र विश्वसनीयतामा ह्रास आएको बताउँछन्।
कतिपय माओवादी लडाइँमा आफू फुली नलगाइकन जाने गरेको स्मरण पनि गर्छन् उनी। आफूलाई धादिङमा एम्बुसमा पारिएको र आफूलाई मार्न माओवादीले कार्यकर्ता पठाएको उनले स्मरण गरे। प्रहरी सेवा सूचनाकै कारण विश्वसनीय हुने र आफ्नो समयमा सूचनामा पहुँच हुने पनि उनले बताए। प्रहरी सेवा नेतावादी हुँदा समग्र संगठन नै बिग्रिएको आरोप उनले लगाए। त्यसैगरी प्रहरीमा अहिले पर्याप्त तालिम पनि नहुने गरेको उनले बताए।
प्रहरीमा कमाण्ड कन्ट्रोल नहुँदा जेनजी आन्दोलनलगायतका अवस्थामा प्रहरीले सक्रिय भूमिका निर्वाह गर्न नसकेको दुख पनि व्यक्त गर्छन् उनी। जेनजी आन्दोलनका क्रममा स्कुले केटाकेटीका कारण विध्वंश नभएको तर त्यहाँ परिचालित समूहलाई प्रहरीले चिन्न नसकेको उनले आरोप लगाए। चैत १५ गते राजसंस्था समर्थकको प्रदर्शनमा प्रहरी चुकेको पनि उनले बताए। जेनजी आन्दोलनभन्दा २ महिनाअघि नै यसको तयारी गरिएको तर यसबारे प्रहरी प्रशासनमा शून्य सूचना भएको उनले बताए।
प्रहरी प्रशासनले आन्दोलन र सम्भावित घटनाबारे कुनै तयारी नै गर्न नसकेको आरोप पनि उनले लगाए।
जेनजी आन्दोलनका बेला प्रहरी नेतृत्वमा रहेका सबैले राजीनामा दिनुपर्ने बताउँछन् थापा। ‘मैले पाँचपटक त ३० वर्षे कार्यकालमा राजीनामा दिएको थिएँ,’ उनले भने।
आफूले २०४६ साल र २०६२-६३ आन्दोलनका क्रममा आफूलाई मल्लिक आयोग र रायमाझी आयोगले बयानका लागि बोलाएको तर आफूले दिएको स्पष्टीकरणका कारण कारबाहीबाट बचेको उनले बताए। प्रहरीमा अहिले आएर अनुसन्धान र नैतिक भाव एकदमै कमजोर भएको उनले बताए।
उनले केपी ओली, शेरबहादुर देउवा गृहमन्त्री हुँदासम्म राम्रै रहेको तर प्रधानमन्त्री भएपछि बिग्रिएको पनि बताए। ‘देउवाचाहिँ महाअल्छी, नौ बजेसम्म सुत्थे,’ उनले भने।
जेनजी आन्दोलनमा ग्यास बालेर २० मिनेटमा सिंहदरबारलगायत संरचनाहरू जलाइएको उनले बताए। ‘यो जलाउने काम सबै विदेशीले गरेका हुन्,’ उनले भने। २०४२ सालको बमकाण्ड पनि भारतीयहरूले गराएको उनले बताए।
पूर्वडिआइजी थापा कुकुर, बिरालो र चराचुरुङ्गीमा पनि महिनामा ठूलो रकम खर्च गर्छन्। उनले यसबारे पनि देशसञ्चार चौतारीमा खुलेर कुराकानी गरेका छन्।
विस्तृत कुराकानी: