- रौतहटको विश्रामपुर बस्तीले पछिल्ला वर्षमा पिच सडक र नगर तहको अस्पतालको कारण विकसित भएको छ।
- स्थानीय मतदाताहरूले पुराना दलहरूबाट केही नभएको निचोड निकाल्दै नयाँ दललाई समर्थन गर्न उत्सुकता देखाएका छन्।
- सरकारको प्रयासको बाबजुद पछिल्लो विकासलाई केहीले स्वीकार नगर्दा, परिवर्तनको आवश्यकता महसुस गरेका छन्।
चन्द्रपुर- आइतबार दिउँसो १ बजे रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित विश्रामपुर पुग्दा युवा र प्रौढहरूको समूह गाउँकोे बीचमा रहेको फल्चामा गफिइरहेका थिए।
रौतहट- ४ मा पर्ने यो विश्रामपुरले पछिल्लो केही वर्षयता मुहार फेरेको छ। घरका आँगन-आँगनसम्म पिच बाटो पुगेको छ। केही वर्षअघिसम्म हिउँदमा धुलो र वर्षामा भैंसी आहाल बस्ने खालका खाडल हुने सडक अहिले नपत्याउँदो भएका छन्।
स्थानीय तहले गाउँमै नगर तहको अस्पताल सञ्चालन गरेको छ। जटिल रोगको उपचार बाहेक सामान्य उपचारका लागि अन्त जानु पर्दैन। शैक्षिक स्थिति दिनदिनै फेरिँदो छ। अधिकांशले छोराछोरी बोर्डिङ स्कुल र १२ कक्षा पास गरेपछि काठमाडौँ वा अरु सुगम शहरमा राखेर पढाएकै छन्।
दुखजिलो गरेर छोराछोरीलाई पढाइ वा कामका लागि विदेश पठाएका छन्। बागमती नदीबाट ल्याएको नहरले सबै उर्वर जमिनमा बाह्रै महिना सिंचाइ हुन्छ। सिजनमा मलखादको सदाबहार समस्या बाहेक कृषिमा लाग्ने अरु समस्या भोग्न छाडेका छन्। यसरी गाउँवस्तीले मुहार फेरे पनि स्थानीयहरु भने खुुशी छैनन्। पुराना दलहरूबाट केही पनि नभएको गुनासो गर्छन्। फल्चामा बसिरहेका जयनन्द पट्टेल प्रश्न गर्छन्, ‘अहिलेसम्म केही पनि भएन, पुराना दलले के गरे?’
यो मनोविज्ञान विश्रामपुरको मात्रै होइन। मधेसका सबै जसो जिल्लाका गाउँ वस्तीका बासिन्दाको बुुझाइ र मनोविज्ञान उस्तै छ। पछिल्लो ३०/३५ वर्षमा केही पनि भएन।
आउँदो चुनाववमा रास्वपातिर ढल्किएका देशैभर अझ मधेसका मतदाताको एउटै साझा जिज्ञासा छ, पुरानाले ३०/३५ वर्ष के गरे?
आँखै अगाडि पछिल्लो समय भएको विकास र सहजलाई आम मानिसले स्वीकार गर्न सकिरहेका छैनन्। सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय आँकडा केलाउने हो भने पछिल्लो तीन दशकमा नेपालले धेरै कुरामा फड्को मारेको छ। बिजुुली, पानी, शिक्षा, स्वास्थ्य, सिंचाइमा नागरिकको उल्लेख्य पहुँच मात्रै वृद्धि भएको छैन, गरिबीको रेखामुनि रहेका ठूलो जनसंख्या आज खान लगाउन चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेका छन्।
वृन्दावन नगरपालिका २ धनगडीका रामदेव बैठ परिवर्तनका लागि नयाँ दलको आवश्यकता भएको दाबी गर्छन्। उनी भन्छन्, ‘परिवर्तनका लागि नयाँलाई मत दिनुपर्छ। ३० वर्षदेखि पुराना दलले आलोपालो गरेर खाइरहेका छन्।’
सँगै बसेका चन्द्रिकाप्रसाद रजक देशमा निराशा फैलनुमा कांग्रेस एमालेको अघिल्लो गठबन्धन दोषी भएको बताउँछन्। रजकले देश सञ्चारसँग भने, ‘कांग्रेस-एमालेको गठबन्धनले गर्दा यस्तो अवस्था आएको हो। हामीमा निराशा छ।’
रौतहट क्षेत्र नम्बर ३ मा पर्ने गुजराह नगरपालिका ९ मिमरा भवानीपुरका बासिन्दा किशोर चौधरी पुराना दलमा घमण्ड पलाएको आरोप लगाउँछन्। वैदेशिक रोजगारीका लागि ६ वर्ष मलेसिया बसेर फर्किएका उनी पनि अहिलेसम्म केही पनि नभएको बताउँछन्। चौधरी भन्छन्, ‘देशमा परिवर्तन आवश्यक छ। पुराना दलमा घमण्ड धेरै भयो। उनीहरुले के गरे?’
चन्द्रपुर १० स्थित विन्दुवा टोलमा उसैगरी फल्चामा हावा खाइरहेका भजुराय यादव अरुको भन्दा फरक मन्यता राख्छन्। उनी गाउँमा पछिल्ला वर्षमा विकास भएको बताउँछन्। आफ्नो क्षेत्रबाट निर्वाचित सांसदका कारण भैंसी बस्ने आहालजस्ता सडक अहिले चिल्लो भएको उनको दाबी छ। उनले भने, ‘यहाँ त भैंसी डुब्ने आहाल हुन्थ्यो। अहिले त धेरै सुधार भएको छ। बाँकी नालाको काम पनि भइरहेको छ। सुधार त भइरहेको छ।’
